टिकटकको भिडियो स्क्रोल गरिरहेका वेला एउटा भिडियोमा पुगेर औँला टक्क अडियो।त्यो टिकटक भिडियो एउटा फुटबल म्याचको थियो।कुनै टुर्नामेन्टमा सामान्य खेलाडीहरू माझ एउटा हात नभएका एक खेलाडी बडो फूर्तिका साथ खेलिरहेका छन्।त्यो भिडियोमा उनले मैदानको मध्यभागबाट सीधै गोलपोष्टमा प्रहार गरेको आकर्षक सट किपरले मुस्किलले जोगाउँछन्।
त्यो भिडियो हेरेपछि उनको बारेमा जान्ने जिज्ञासा पलायो।उनको प्रोफाइल खोलेर हेरेँ, उनले फुटबल खेलिरहेका अरू केही भिडियोहरू पनि रहेछन्।उनको एउटा हात पाखुराबाटै काटिएको थियो तर उनी अन्य खेलाडीहरू भन्दा चुस्त र फूर्तिला देखिन्थे।ड्रिबलिङ गर्नेदेखि हेड हान्नमा पनि उनी माहिर रहेछन्।एउटा भिडियोमा उनी ‘म्यान अफ दि म्याच’ को पुरस्कार ग्रहण गरिरहेका थिए।
एउटा भिडियोमा उनी आरामका साथ साढे पाँच फुट उचाइको हाइजम्प मारिरहेका थिए भने अर्को एउटा भिडियोमा भलिबलको ‘स्पाइकिङ’ गरिरहेका थिए।उनले प्रहार गरेको भलिबलको त्यो सट एउटा प्रोफेसनल खेलाडीको भन्दा कम आकर्षक थिएन।अनि एउटा भिडियो यस्तो पनि थियो जहाँ उनी आफ्नो पाखुराभन्दा पनि माथिबाट काटिएको हातको सहयोगमा मोवाइलमा मज्जाले ‘फ्रि फायर’ खेलिरहेका थिए।उनको टिकटक हेर्दै जाँदा थाहा भयो, एउटा हात नभए पनि उनी हरेक खेल खेल्न माहिर रहेछन्।
त्यसपछि ती युवकको बारेमा खोजबिन गरेर उनीसँग सम्पर्क कायम गर्न म सफल भएँ।उनको नाम निर्मल दर्लामी मगर रहेछ र अहिले २६ वर्षका भएछन्।उनको घर मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा पर्दोरहेछ जुन हेटौँडाबाट २० किलोमिटर पूर्वमा पर्दछ।
पन्ध्र वर्षको उमेरमा उनी एउटा भयानक दुर्घटनाको शिकार हुनुपरेको रहेछ।घर नजिकै रहेको हाइटेन्सन लाइनको अर्थिङको चुँडिएको तारमा छुन पुग्दा उनलाई हाइ भोल्टेजको करेन्ट लागेर उनको दाहिने हात नै काट्नु पर्ने अवस्था आएको उनले बताए।पानी जमेको ठाउँमा परेका कारण अर्थिङको तारले पनि झट्का हानेको रहेछ, नभए साधारण अवस्थामा अर्थिङको तारले हत्तपत्त करेन्ट लाग्दैन।
त्यतिबेला उनी सात कक्षाको अन्तिम परीक्षा सकेर बसिरहेका थिए।पन्ध्र वर्षको लाउँलाउँ–खाउँखाउँ भन्ने उमेरमा उनले आफ्नो दाहिने हात गुमाउनु पर्दाको पीडालाई शब्दमा बयान गर्न नसकिने बताए।’सपनामा पनि नचिताएको कुरा भयो, यो घटना घटेको धेरै पछिसम्म पनि मलाई मेरो एउटा हात काटिएको छ भन्ने कुरा विश्वासै लाग्दैनथ्यो’ उनले बताए।
करेन्ट लागेर उनको हात काटिएको डेढ–दुई महिनाजतिमा घाउ अलि निको हुन थालेपछि उनी पुनः स्कुल जान थाले।मनभित्र हात गुमाउनुको पीडा भए पनि उनी सामान्य जीवनमा फर्कने कोशिसमा लागे।तर शुरूशुरूमा केही कुरा सामान्य भएन।ती कठिन दिनहरूमा उनलाई उनको परिवार, साथीभाइ र आफन्तहरूले सक्दो सहयोग गरेको, प्रोत्साहन दिएको उनले बताए।’सबैले साथ र सहयोग प्रदान गरेका थिए’, उनले भने, ‘तर मेरी आमाले जतिको स्याहार–सुसार, माया–ममता र हौसला कसले दियो होला र।’
अनेक कठिनाइहरूलाई पार गर्दै उनी जब आफ्नो यो अवस्थाबाट अभ्यस्त हुँदै थिए, ठीक त्यही बेलामा उनको जीवनमा अर्को वज्रपात आइलाग्यो, उनी १० कक्षामा पढ्दै गर्दा एक दिन अचानक उनकी आमाको हार्ट अट्याकका कारण असामयिक निधन भयो र उनले आमाको न्यानो मायाबाट सदाका लागि बञ्चित हुनुपर्यो।
त्यसरी त्यो दुर्घटनापछिको उनको पाँच–छ वर्षको समय गुमनामीमै बित्यो।पहिला उनले आफ्ना साथीभाइहरूसँग गाउँघरमा खेलिने फुटबल, भलिबल र क्रिकेटजस्ता सबै खेलहरू खेल्ने गरेका थिए तर दुर्घटनापछि उनीसँगै फुटबल खेल्ने गरेका साथीहरू कोही कहाँ पुगे, कोही कहाँ।’मलाई त अब फेरि कहिल्यै खेल्न सक्दिन जस्तो लाग्थ्यो’, उनले आफ्नो कथा सुनाए।
‘२०–२१ वर्ष पुगेपछि मात्र आफ्नो टोलतिर फुटबल खेल्ने गरेका १२–१३ वर्षका भाइहरूसँग यसो रमाइलोको लागि खेल्न थालेँ’, उनी भन्दै थिए, ‘त्यो बेलामा समय कटाउन र मनलाई भुलाउनका लागि खेल्न थालेको थिएँ, पछि फुटबलले नै मनको घाउमा मल्हम लगाएको अनुभव भयो, आत्मविश्वास बढ्दै गयो।’
त्यसपछिमात्र उनी ‘सिरियसली’ खेलकुदमा लागेको बताउँछन्, विशषगरी फुटबलमा।’खेल्दै गएपछि छुटेका साथीहरूसँग पनि भेट हुनथाल्यो भने मरिसकेको आत्मविश्वास पनि विस्तारै पलाएर आयो’, उनले बताए– ‘परिवार र साथीभाइहरूले पनि हौसला दिएर अघि बढ्न मदत गर्नुभयो।’
यसरी उनले विस्तारै–विस्तारै आफ्नो खेललाई पनि निखार्दै लगेको र पढाइलाई पनि निरन्तरता दिएको बताए।खेल्दै जाँदा बाहिरका केही खेलाडीहरूसँग मित्रता भएको र उनीहरूकै सहयोगमा बाहिरतिर गएर खेल्ने पनि खेल्ने मौका मिलेको निर्मलले बताए।बाहिर खेल्न जाँदा सबैले नोटिश गर्ने गरेका कारण उनलाई गाउँ र जिल्लाबाहिर समेत फुटबल टुर्नामेन्टहरू खेल्ने निम्तो आउन थालेको उनले बताए।उनले पहिलोपटक बारा जिल्लाको निजगढमा हरेक वर्ष आयोजना हुने ‘रनर कप’ फुटबल प्रतियोगितामा भाग लिएको स्मरण गरे।
अहिले उनलाई नियमित रूपमा फुटबल प्रतियोगिताहरूमा भाग लिने निम्तो आइरहन्छ।आजकल फुटबलमा उनको व्यस्तता बढेको छ।उनी फुटबल खेल्न विभिन्न जिल्ला पुगिरहेका हुन्छन्। फुटबल खेल्नकै लागि उनी चितवनदेखि उदयपुर र सिन्धुलीसम्म पुगेको बताए।
‘खेलेर केही आम्दानी पनि हुन्छ कि’ भन्ने प्रश्नको उत्तर दिँदै उनले भने, ‘खेल्न जाँदा लाग्ने गाडी भाडा, खाने–बस्ने कुरामा आफ्नो खर्च हुँदैन तर खेलेर कमाइ चाहिँ भएको छैन, पैसाका लागि भन्दा पनि पहिचानका लागि खेलिरहेको छु।’ साधारण खेती–किसानी गर्ने बाबु, नौ कक्षामा पढ्दै गरेका भाइ र भर्खरै विवाह गरेर ल्याएकी श्रीमतीका कारण उनीमाथि ठूलो जिम्मेवारी पनि छ जसलाई उनले आफ्नो बलबुताले भ्याएसम्म निर्वाह गर्दै आएका पनि छन्।
प्लस टुको अध्ययन पूरा गरेपछि उनले स्थानीय श्री जनश्रम आधारभूत विद्यालयमा अध्यापन गर्ने काम थालेको बताए।त्यहाँ उनले कक्षा पाँचदेखि आठसम्मका विद्यार्थीलाई म्याथम्याटिक्स विषय पढाउने गरेको बताए।साथसाथै उनी कमर्श र म्याथ मेजर विषय लिएर स्नातक तहको अध्ययन पनि गर्दैछन्।
भिडियो बनाएर टिकटकमा अपलोड गर्न थालेपछि धेरै मानिसहरूले उनलाई चिन्न थालेको र धेरैले हौसला दिएर म्यासेजहरू पठाउने गरेको उनी बताउँछन्।केही समयअगाडि उनको प्रतिभाबाट ज्यादै प्रभावित भएका काठमाडौंका एकजना सहृदयीले उनलाई एक वर्षसम्म निःशुल्क मार्शलआर्टस (तेक्वान्दो) सिकाइदिने प्रस्ताव समेत राखेका रहेछन् तर त्यसका लागि काठमाडौंमै बस्नुपर्ने भएका कारण उनले त्यो प्रस्ताव स्वीकार गर्न नसकेको बताए।
दुई वर्ष अघि सोनु मगरसँग विवाह बन्धनमा बाँधिएको उनले बताए।उनले प्रेम विवाह गरेका रहेछन्।राम्रोसँग पढेर सरकारी जागिर खाने उनको ठूलो रहर छ र त्यसका लागि उनले अहिलेदेखि तयारी गरिरहेको बताएका छन्।यसका साथसाथै आफूले सकुञ्जेल खेलकुदमा सक्रिय भएर लाग्ने र भविष्यमा स–साना भाइबहिनीहरूलाई विभिन्न खेलको टे«निङ दिने आफ्नो भित्री इच्छा रहेको उनले बताएका छन्।
जीवनमा ठूलो दुर्घटनाको शिकार भएर त्यसरी आफ्नो हातै गुमाउनु परे पनि अहिले आफ्नो जीवनबाट सन्तुष्ट रहेको उनी बताउँछन्।’जीवनमा तपाइँमाथि कुन बेला के वज्रपात पर्नसक्छ थाहा हुँदैन, त्यस्ता वेलामा तपाइँले धैर्य हुन सक्नुपर्छ’, उनले आफ्नो अनुभव सुनाए– ‘भगवानले तपाइँका लागि केही न केही राम्रो सोचेका हुन्छन्, सकाराकात्मक सोच राखेर अगाडि बढ्दै जानुपर्छ।मेरो जीवनकथा पनि मजस्ता अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रेरक हुनसक्छ।यदि त्यस्तो हुनसक्यो भने म आफूलाई भाग्यमानी सम्झनेछु।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
Share