इलेक्ट्रिक साइकलबाट विश्वभ्रमण गर्दै एक नेपाली

Share
0Shares

नयाँ वर्ष २०७९ को दिन पारेर एक साहसी नेपाली इलेक्ट्रिक साइकलबाट विश्व भ्रमणमा निस्कँदै छन्।काठमाडौं सिफलका ५२ वर्षीय शुभप्रसाद शर्मा जलवायु परिवर्तनको नारा बोकेर वैशाख १ गते शुक्रवार काठमाडौंबाट आफ्नो यात्राको थालनी गर्दै हुनुहुन्छ।’शुभयात्रा विश्व साइकल यात्रा अभियान’ नाम दिइएको यो अभियानका क्रममा साइकलयात्री शर्माले आगामी पाँच वर्षभित्र संसारका १ सय ५० राष्ट्रको यात्रा गर्ने लक्ष्य राख्नु भएको छ।

यात्राका क्रममा शुभप्रसाद शर्माले जलवायु परिवर्तन र पृथ्वीको बढ्दो तापक्रमका बारेमा संसारभर चेतनामूलक सन्देश प्रवाह गर्ने बताउनु भएको छ।यात्राका क्रममा वहाँले १ सय ५० देशमा पाँच सयवटा रूख रोप्ने कार्यक्रम बनाउनु भएको छ।जहाँ पुगे पनि त्यहाँ एक–दुईवटा रूख रोप्ने र त्यहीँका स्थानीयलाई नै त्यो रूख हुर्काउने–बढाउने जिम्मा दिँदै अगाडि बढ्ने आफ्नो योजना रहेको वहाँले बताउनु भयो।

काठमाडौंबाट शुरू हुने यात्रा नेपालको पूर्वी सिमाना काकडभिट्टाबाट भारतको पश्चिम बंगाल हुँदै अगाडि बढ्ने यात्री शर्माले बताउनु भयो।पश्चिम बंगालबाट बंगलादेश प्रवेश गर्ने योजना बनाउनु भएका शर्मा त्यसपछि दक्षिण–पूर्वी एशियाका म्यानमार, लाओस, कम्बोडिया, थाइल्याण्ड, मलेशिया लगायतका देश हुँदै ओशियाना क्षेत्रको अष्ट्रेलिया पुग्ने बताउनु हुन्छ।ओशियानामा वहाँले न्युजिल्याण्ड र पपुवान्युगिनीको पनि भ्रमण गर्ने बताउनु भएको छ।

त्यहाँबाट दक्षिण अमेरिका प्रवेश गर्दै त्यहाँका विभिन्न राष्ट्रको भ्रमण सकेर वहाँ उत्तर अमेरिका प्रवेश गर्ने कार्यक्रम छ।उत्तर अमेरिकाबाट अफ्रिकी महादेशतर्फ लाग्ने र पुनः दक्षिण–पूर्वी एशिया हुँदै पाँच वर्षभित्र भारत आइपुग्ने योजना अनुसार शुक्रवार वहाँले यात्रा थाल्दै हुनुहुन्छ।

५२ वर्षका शुभप्रसाद शर्मा विक्रमीय २०५० को दशकमा एउटा कुशल फुटबल खेलाडी रहनुभइसकेको छ।वहाँले ५० को दशकको पूर्वाद्र्धमा नक्साल युवा क्लवबाट बी डिभिजन र बत्तीसपुतली युवा क्लवबाट डि डिभिजन लिग खेल्नुभएको थियो । अहिले पनि वहाँ कैलाली भेट्रान टोलीबाट फुटबलमा सक्रिय हुनुहुन्छ।२०५४ सालको स्थानीय तहको निर्वाचनमा वहाँ काठमाडौं वडा नं ७ को वडासदस्यमा समेत निर्वाचित हुनुभएको बताउनुहुन्छ।

विश्वभ्रमणको योजना कसरी बन्यो त भन्ने प्रश्नको जवाफमा सन् २००७ मै आफूसहित ६ जना साथीहरूको टोली मिलेर मोटरसाइकलबाट विश्व भ्रमण गर्ने योजना बनाएको तर केहीको निजी स्वार्थका कारण त्यो पूरा हुन नसकेको शुभप्रसाद शर्मा स्मरण गर्नुहुन्छ।त्यसपछि यस बीचमा विश्वभ्रमणको योजना बनेको तर पूरा गर्न नसकिएको वहाँले बताउनु भयो।

तर यसपटक भने वहाँले जसरी भए पनि यात्रा शुरू गर्छु भन्ने दृढ निश्चय मनमा राखेका कारण यो यात्राको शुरूवात भएको शर्मा मान्नुहुन्छ।वहाँका छोरा अध्ययनको सिलसिलामा फिलिपिन्समा रहनुभएका कारण वहाँले पनि पटक–पटक गरेर धेरै समय त्यहाँ बिताउनु भएको रहेछ।त्यहाँ बस्दा नै वहाँलाई साइकलसँग प्रेम भएको हो।

त्यहाँका बाटा–घाटा देखि नियम–कानून र त्यहाँका मानिसहरू पनि साइकल मैत्री रहेका कारण शर्माले फिलिपिन्समा रहँदा अधिकांश समय साइकलमा भ्रमण गर्नुभएको बताउनुभयो।पहिला मोटरसाइकलबाट विश्व भ्रमण योजना बनाउनुभएका वहाँ फिलिपिन्सबाट फर्किएपछि भने साइकलबाटै विश्व भ्रमण गर्नुपर्छ भन्ने सोचतर्फ लाग्नुभएको बताउनुहुन्छ।

साइकलबाट विश्वको भ्रमण गर्ने पहिलो नेपाली यात्री पुस्कर शाह आफ्नो प्रेरणाको स्रोत रहेको शर्माले बताउनु भएको छ।शाहको त्यो भ्रमणलाई भने वहाँ एउटा ‘दुस्साहास’ नै मान्नुहुन्छ।’त्यो समयमा पुस्कर शाहसँग केही पनि थिएन, वास्तवमा भन्नुपर्दा वहाँ त अँध्यारोमा तीर हानेझैँ गरी यात्रामा अगाडि बढ्दै जानुभएको हो।त्यो बेला न मोवाइल थियो, न इन्टरनेट नै।न जीपीएस सिस्टम थियो न अन्य आधुनिक प्रविधि नै’, शर्माले भन्नुभयो, ‘वहाँकै प्रेरणाले यो यात्रा शुरू गर्न प्रेरित गरेको हो।’

शुभप्रसाद शर्माले आफ्नो यात्राको योजना बनाएर त्यो कुरा सार्वजनिक गरेपछि वहाँलाई विभिन्न निकाय, संघ–संस्था र व्यक्तिगत रूपमा समेत सहयोग र हौसला प्राप्त भएको छ।वहाँले यात्राका क्रममा प्रयोग गर्ने साइकलको मूल्य नेपाली बजारमा २ लाख ९० हजार रहेको छ।बुढानिलकण्ठ नगरपालिकाले त्यो साइकलको प्रायोजन गरिदिएर ठूलो सहयोग गरेको शर्माले बताउनु भयो।

त्यस्तै गोकर्णेश्वर नगरपालिकाले गोप्रो भिडियो क्यामेराको व्यवस्था मिलाइदिएको हो भने साइकलका लागि आवश्यक जीपीएस सिस्टम नेपाल सरकारको वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले उपलव्ध गराएको शर्माले बताउनुभयो।त्यस्तै काठमाडौं महानगरपालिकाले २ लाख रूपैयाँ नगद नै सहयोग गरेको वहाँले जानकारी दिनुभयो।

यात्राको दिन नजिकिँदै गर्दा साथीभाइ, इष्टमित्र र अन्य सहृदयीहरूमार्फत मात्र ६–७ लाख रूपैयाँ सहयोग प्राप्त भइसकेको वहाँले बताउनु भयो।त्यस्तै अष्ट्रेलियामा रहेका भतिजाले खोलिदिएको ‘गोफन्ड एकाउन्ट’ मा समेत ५०० डलर जति जम्मा भइसकेकाले यो भ्रमण पूरा गर्न आर्थिक रूपमा कुनै कठिनाई नहुने शर्माको विश्वास छ।

साइकलयात्री शर्माले यात्राका क्रममा आफू जहाँ पुगे पनि त्यहाँका मानिसलाई रूख रोप्न, पेट्रोल र कोइलाको प्रयोग कम गर्न र विद्युतीय सवारी साधनको प्रयोग गर्दै जलवायु परिवर्तनलाई नियन्त्रण गर्नुपर्छ भन्ने सन्देश प्रवाहित गर्ने बताउनु भयो।त्यसका साथै संसारका कुना–कुनामा नेपालको राष्ट्रिय ध्वजा लहराउँदै नेपालको बारेमा विश्वलाई परिचित गराउने लक्ष्य रहेको पनि वहाँले बताउनु भयो।

यात्री शर्माले यात्राका क्रममा आफू जुन देश पुगे पनि त्यहाँको राजधानीसम्म पुग्ने प्रयास गर्ने बताउनुभयो।साइकलमा अन्टार्टिका महादेश पुगेर गिनिश बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने इच्छा रहेको पनि शर्माले बताउनु भयो।शुरूमा ८–१० वटा राष्ट्रको भ्रमण सकेपछि वहाँले आफ्नो नयाँ योजनाहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै जाने पनि बताउनु भयो।

भ्रमणको तयारीका क्रममा वहाँले हालै चितवन, लुम्बिनी, गोरखा, सिन्धुपाल्चोकको तातोपानी गरी ३००० किलोमिटरभन्दा बढी साइकलयात्रा गर्नुभएको जानकारी दिनुभयो।

वहाँको यो अभियान नेपाल खेलकूद महासंघको ब्यानरमा आयोजना हुनलागेको शर्माले बताउनुभयो।वैशाख १ गते शुक्रवारका दिन बिहान ८ बजे काठमाडौं वडा नं. ७ को कार्यालय चावहिलमा वृक्षारोपण कार्यक्रम गर्दै वहाँके यात्रा शुरु हुने र ११ बजे शेर्पा मलमा एउटा पत्रकार सम्मेलनको आयोजना गर्दै त्यहीँबाट यात्रा शुरू गर्ने कार्यक्रम रहेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Share
0Shares
Advertisment