चितवन महोत्सव : एकै दिन ३० हजारद्वारा अवलोकन

Share
0Shares

चितवन। नारायणगढको नारायणी नदीकिनारमा सञ्चालन भइरहेको चितवन महोत्सव आज तेस्रो दिन ३० हजार मानिसले अवलोकन गरेका छन् । चितवन महोत्सव टिकट व्यवस्थापन समितिका संयोजक राजन पियाले जानकारी दिए ।
पुस २५ गतेदेखि सुरु भएको महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुने छ । आज तेस्रो दिनसम्म आइपुग्दा करिब ५० हजार जनाले महोत्सव अवलोकन गरेका पियाको भनाइ छ । महोत्सवमा अवलोकनकर्ताहरुको उपस्थिति बढ्दो क्रममा रहेको उल्लेख गर्दै आगामी दिनमा अवलोकनकर्ता अझै बढ्ने पियाले बताए ।
महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले महोत्सव अवधिभर महोत्सव स्थिलभित्र विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहने जानकारी दिए । उनले पुस ३० गते खेल पर्यटन सम्बन्धी गोष्ठी र सोही दिन बिहान साइकल ¥याली हुने बताए । माघ २ गते साहित्यिक गोष्ठी तथा माघ ३ गते कृषि सम्बन्धि गोष्ठी हुने ओलीको भनाइ छ । चितवन महोत्सव अन्तर्गत पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभलको आयोजना गरिएको छ ।
उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष एवं प्रदर्शक व्यवस्थापन समिति संयोजक सुमनकुमार श्रेष्ठले महोत्सवमा ४५० वटा स्टल रहेको भन्दै सबै स्टलहरुको बीमा गरिएको बताए । महोत्सव स्थलको चौबीसै घण्टा सिसिटिभी क्यामेराबाट निगरानी भइरहेको समेत श्रेष्ठको भनाइ छ । महोत्सवको आन्तरिक सुरक्षा व्यवस्था निजी क्षेत्रलाई जिम्मा दिइएको भन्दै श्रेष्ठले बाह्य सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरिएको बताए ।
महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा विद्यार्थीलाई ३० रुपैयाँको टिकट व्यवस्था गरिएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ छ । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।
तीस जनाद्वारा रक्तदान
चितवन महोत्सवस्थलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । जिल्लामा रगतको माग बढ्दै गएकाले आपूर्ति सहज बनाउन आयोजना गरिएको रक्तदान कार्यक्रममा छ महिलासहित ३० जनाले रक्तदान गरेका हुन् । महोत्सवको स्वास्थ्य समिति संयोजक धनप्रसाद पोखरेलले जानकारी दिए । उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्य एवं स्वास्थ्य समिति संयोजक धनप्रसाद पोखरेलले महोत्सवस्थलभित्र दैनिक स्वास्थ्य शिविर एवं स्वास्थ्य सम्बन्धी विभिन्न सामाजिक कार्य सञ्चालन भइरहेको जानकारी दिए ।
महोत्सव स्थलभित्र २८ र २९ गते निःशुल्क दन्त परीक्षण तथा रक्तचाप परीक्षण, ३० गते रक्तदान कार्यक्रम तथा माघ ३ गते आँखा शिविर सञ्चालन गरिने पोखरेलले बताए । चितवन महोत्सव अवलोकनका लागि जाने जोकोही अवलोकनकर्ताले निःशुल्क स्वास्थ्य परीक्षण गराएर लाभ लिनसक्ने पोखरेलको भनाइ छ । स्वास्थ्य शिविरमा उपलब्ध औषधिहरु बिरामीलाई निःशुल्करुपमा प्रदान गरिएको समेत पोखरेलले जानकारी दिए ।
सेपाकताक्रो प्रतियोगिता सुरु
खेल पर्यटनलाई टेवा पु¥याउने उद्देश्य सहित १४औँ संस्करणको चितवन महोत्सवस्थलमा बुधबारदेखि सेपाकताक्रो प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा चितवन र नवलपुरका १० वटा टिमले सहभागिता जनाएका जिल्ला सेपाकताक्रो संघ चितवनका अध्यक्ष हरिशचन्द्र थापाले जानकारी दिए । प्रतियोगितामा नवलपुरबाट महिलाको दुई तथा पुरुषको तीन र चितवनबाट पनि महिला दुई र पुरुष तीन गरी १० टिमको सहभागिता रहेको थापाले बताए ।
बुधबार भएको प्रतियोगिताबाट महिलातर्फ नवलपुरबाट एउटा र चितवनबाट एउटा टोली फाइनलमा गएको थापाले बताए । त्यस्तै पुरुषतर्फ पनि चितवन र नवलपुरको एक÷एक टोली फाइनलमा गएका थापाको भनाइ छ । सेपाकताक्रो प्रतियोगिताको फाइनल खेल बिहीबार हुने थापाले बताए ।
अस्मितालाई दर्शकको साथ
नारायणी नदीकिनारमा सञ्चालित १४औँ चितवन महोत्सवमा गायिका अस्मिता अधिकारीलाई चितवन दर्शकले साथ दिएका छन् । महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत बुधबार स्टेजमा उक्लिएकी अधिकारीलाई दर्शकहरुको साथ मिलेको हो । गायिका अधिकारीले स्टेजमा गीत गाउँदा सांस्कृतिक कार्यक्रम अवलोकन गर्न पुगेका दर्शकहरुले उनको स्वरमा स्वर मिलाउँदै साथ दिएका महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक नारायण प्रधानले जानकारी दिए ।
गायिका अधिकारीले सांस्कृतिक कार्यक्रममा  ‘तिम्रो मायाले बाँधेर राख….’, ‘साली तिम्रो जोबन कल्ले लाने हो..’, ‘को होला त्यो मसँग आँखा जुधाउने…’ लगायतका गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिएकी थिइन् । यसैगरी, महोत्सवको सांस्कृति कार्यक्रम अन्तर्गत नै कलाकारहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का तथा सन्दिप क्षेत्रीको समेत प्रस्तुती रहेको प्रधानले बताए । त्यस्तै लाइभ व्याण्ड प्रतियोगितासमेत भएको प्रधानको भनाइ छ ।
महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत घैला नृत्य, कौडा नृत्य, झ्याउरे नृत्य, सोरठी नृत्यलगायतका मौलिक गीतहरुमा नृत्यसमेत प्रस्तुत गरिएको प्रधाले बताए । महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत बिहीबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुने प्रधानको भनाइ छ । बिहीबारको सांस्कृतिक कार्यक्रममा कलाकार अमर बिरही गुरुङ, राधिका हमाल तथा हास्य कलाकारहरु सुरेन्द्र केसी (मुलाको साग), शिवशंकर रिजाल (जोगेन्दर पान वाला) लगायतका कलाकारहरुको प्रस्तुती रहने प्रधानले जानकारी दिए ।

Share
0Shares
Advertisment