लकडाउनले छुटायो विदेशको जागिर

Share
0Shares

वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा थिए कालिका नगरपालिका–२, पदमपुरका ढाकाराम आचार्य। केही दिनको छुट्टी लिएर घर आएका थिए।

छुट्टी सकेर फर्किने योजना थियो। बीचमै देशमा कोरोना संक्रमण फैलियो। लकडाउन सुरू भयो। सबै अन्तर्राष्ट्रिय उडान बन्द भए।

छुट्टी सकियो। पासपोर्टमा लागेको भिसाको अवधि पनि सकियो। लकडाउन भने सकिएन।

करिब आठ वर्षदेखि युएई (युनाइटेड अरब इमिरेट्स) को दुबईमा गरिरहेको रोजगारी त्याग्न बाध्य भए ढाकाराम।

उनका दाइ कृष्ण पनि रोजगारीकै लागि भारतमा थिए। उनी पनि छुट्टी लिएर घर आएका थिए। उनको हालत पनि भाइकै जस्तो भयो।

दक्षिण भारतमा १८ वर्षदेखि गरिरहेको काम छोड्नुपर्ने अवस्थामा पुगे उनी।

दाजुभाइ दुबैको कमाइको बाटो रोकियो। वैदेशिक रोजगारी माया मार्नै पर्ने निष्कर्षमा पुगे दाजुभाइ।

‘विदेशको बाटो नभएपछि हामी दाजुभाइबीच अब के गर्ने भन्ने विषयमा सल्लाह भयो। परिवारका सबै जना बसेर छलफल गर्‍यौं,’ ढाकारामले भने, ‘बाँच्नका लागि पनि केही काम त गर्नैपर्‍यो। पारिवारिक पेसा कृषि र पशुपालनमा अघि बढ्ने सल्लाह भयो।’

उनीहरूका बाबु गणेशप्रसादले दुइटा भैंसी पालेका लिए। दिनमा आठ लिटर दूध आउँथ्यो। व्यावसायिक भैंसीपालन गर्न दाजुभाइ कस्सिए। पशुपालनसँग सम्बन्धित विभिन्न निकायमा पुगे। व्यावसायिक भैंसीपालनको सम्भाव्यताबारे जानकारी लिए।

सबैतिर बुझेपछि आफूसँग भएको पैसामा थपथाप गरेर गोठमा भैंसी थप्ने र दूध उत्पादन बढाउने निधो गरे।

दाजुभाइले सुधारिएको गोठ बनाए। ‘गणेश कृषि फर्म’ नाम राखेर व्यवसाय अघि बढाए।

यसरी उनीहरूको भैंसीपालन व्यावसायिक रूपमा अघि बढ्यो। अहिले भैंसीको स्याहारसुसार आचार्य परिवारको दिनचर्याको अभिन्न अंग भएको छ।

‘दुई भाइसँग विदेशमा कमाएको केही पैसा थियो। कृषि विकास बैंकबाट ऋण पनि लियौं,’ ढाकारामले भने, ‘चार, आठ गर्दै भैंसी थप्दै गयौं। अहिले तीन वर्षमा पाडापाडीसमेत गरेर ५० वटा छन्।’

गणेश कृषि फर्ममा हाल २७ वटा दुहुना भैंसी छन्। दैनिक १८० लिटर दूध उत्पादन हुन्छ। भरतपुरको एउटा डेरी उद्योगले गोठमै पुगेर प्रतिलिटर सय रूपैयाँका दरले सबै दूध उठाउँछ।

ढाकारामका अनुसार दूध बिक्रीबाट हाल सरदर मासिक पाँच लाख रूपैयाँ जम्मा हुन्छ। औषधि, दाना, घाँस, परालको इत्यादिको खर्च कटाउँदा मासिक सरदर दुई लाख रूपैयाँ फाइदा हुने गरेको छ। गोबर मल बिक्रीबाट पनि आम्दानी हुन्छ।

‘विदेशमा निकै दुःख गर्नुपर्थ्यो। चर्को घाम र गर्मीमा १२ घन्टा पसिना बगाएर आएको पैसा जोगाएर पठाउनुपर्थ्यो,’ ढाकारामले भने, ‘अहिले परिवारसँगै बसेर व्यवसाय गर्न पाइएको छ। उताको भन्दा राम्रो आम्दानी छ।’

उनले आफ्नो व्यवसायले समाजमा पनि सकारात्मक प्रभाव परेको बताए।

भने, ‘बिस्तारै अरूले पनि हाम्रो सिको गर्छन् भन्ने लागेको छ। देख्नेजति सबैले राम्रो गरेछौ भनेका छन्।’

ढाकारामले विदेश फर्किन नपाएर भैंसीपालन सुरू गरेपछि मेहनत नगरी भाग्य चम्किँदैन भन्ने कुरा थाहा पाएको पनि बताए।

‘हाम्रो लक्ष्य ठूलै छ। कहाँ पुगिन्छ हेरौं,’ उनले भने, ‘हामी जस्ता केही काम गरौं भन्ने सोच भएकालाई राज्यले कसरी प्रोत्साहन गर्छ, यसमा पनि धेरै कुरा भरपर्छ।’

गणेश कृषि फर्मले कालिका नगरपालिकाबाट बिउ राँगो, सुधारिएको गोठ र घाँसको बिउमा केही अनुदान सहयोग पाएको छ। अन्य निकायबाट अनुदान सहयोग नपाएको कृष्णले बताए।

उनले भने, ‘नयाँ सरकार आएको छ। किसानका लागि केही गर्छ कि भन्ने आशा छ। किसानको मेहनतअनुसार दूधको मूल्य छैन। मूल्य बढाइदिए प्रोत्साहन मिल्थ्यो।’

व्यावसायिक भैंसीपालनका लागि आचार्य दाजुभाइले अहिलेसम्म कम्तीमा एक करोड रूपैयाँ लगानी गरेका छन्। चाँडै सय वटा भैंसी पुर्‍याउने लक्ष्य छ।

ढाकारामका दाइ कृष्णले भने, ‘अहिले दूध मात्रै बिक्री गरेका छौं। अब दूधका परिकारहरू बनाएर बेच्ने सोच छ।’

विगतमा बाध्यतामा परेर वैदेशिक रोजगारीमा गए पनि कोभिड–१९ (कोरोना भाइरस) ले स्वदेशमै काम गर्न सक्ने बनाइदिएको ढाकारामले बताए।

‘सामान्य किसान परिवारमा जन्मिएका हौं। हाम्रो पढाइ राम्रो हुन सकेन। बुबाआमा किसानी गर्नु हुन्थ्यो। हामी पनि ज्यालादारीमा खेतको काम गर्थ्यौं,’ उनले भने, ‘दिनभर काम गर्दा ५–६ सय रूपैयाँ कमाइ हुन्थ्यो। त्यसले घरखर्च पनि चलेन।’

यस्तो अवस्थामा विदेशिएका आचार्य दाजुभाइ अहिले परिवारसँगै बसेर घरखर्च धानिरहेका छन्। दुवै जना अहिलेको काम र कमाइबाट सन्तुष्ट देखिन्छन्।

‘हामी हाम्रो काममा सन्तुष्ट र खुसी छौं,’ ढाकारामले भने।

Source: Setopati

Share
0Shares
Advertisment