महोत्तरीकी पञ्चीदेवीको जीवन संघर्ष : सूर्ति बेच्दै परिवार धान्दै

Share
0Shares

महोत्तरी । पहेँलो साडी, निलो विनप्रुफ ज्याकेट अनि सिउँदोमा सदाबहार सिन्दूर । झट्ट हेर्दा पञ्चीदेवीको परिचय यति हो । तर, उनको जीवन भोगाइलाई नजिकबाट नियाल्ने हो भने गहिरो जीवनदर्शन भेट्न सकिन्छ ।

महोत्तरीको औरही नगरपालिका घर भएकी पञ्चीदेवीको सानैदेखि दुःख र अभाव पर्याय नै बनेको छ । उनको जीवनले घामपानी खाएको पनि ६० हिउँद छुन लाग्यो । तर, उनी आफ्नो संघर्षमा अविराम छिन् । उस्तै लय र भाकामा जीवनको ध्वनी जगाइरहन्छिन् । मधेसको भूमि, महिलालाई घुम्टोबाहिर विरलै देख्न पाइन्छ । देहातमा गरिबीको गर्तबाट जन्मिएकी पञ्चीदेवीले बामे सर्न छाडेदेखि नै वयस्क हुनुपर्‍यो । घरधन्दाको काममा सघाउपघाउमात्र होइन, साहू महाजनको बुहार्तन सहनुपर्‍यो ।

बालखैमा विवाह भइहाल्यो । विवाहपश्चात् पनि उनलाई गरिबीले पछ्याउन छाडेन । दपेट्न छाडेन । त्यसलाई टारेर बिहानबेलुकाको चुह्लो जगाउन उनले पसिनाको धारा खर्चिइन् । तराई-मधेसका दीन-हीनमध्ये अधिकांशको आफ्नै जमिन छैन । भूमिमा उनीहरूको हक कायम हुन सकेको छैन । साहूको जग्गामा अधियाँ गर्नु उनीहरूको अविच्छिन्न बाध्यता हो ।

उनले पनि साहूको जग्गामा धेरै वर्ष पसिना बगाइन् । तर, दुःखको फसलबाहेक केही हात लागेन ।
‘साहूको काम जति गरे पनि पैसाको मुख देख्न पाइने होइन । उही दुई-चार माना अन्नमा चित्त बुझाउनुपर्ने हो,’ उनी निराश हुँदै सुनाउँछिन् ।

श्रमले नउकासेपछि उनले काठमाडौँको बाटो पनि नतताएकी होइनन् ।

लगालग ४ छोरी र दुई छोरा जन्मिए । ती पनि आफूजस्तै दुःखको गर्तबाट नउकासिने भयले उनले २०७० सालमा काठमाडौंको बाटो तताइन् । श्रीमान्‌सँगै आफूले पनि घर बनाउने, ज्याला मजदुरी गर्ने ठाउँमा श्रम खर्चिइन् ।

कठोर श्रमले दैनिकै सहज भएन । बरु स्वास्थ्यमा समस्या पो देखिन थाल्यो । श्रीमान्-श्रीमतीलाई एकै प्रकृतिको समस्याले गाँजेपछि काठमाडौंको गौशालामा चियाचमेना बेच्न थालिन् । श्रीमान्‌ले पनि उनको छेवैमा नाङ्ले पसल सुरू गरे ।

दुईचार पैसाको मुख देख्न गाह्रो भएन । बिहान उदयाचलदेखि साँझ अस्ताचलसम्म सडकमै खटिन थाले । जीवन उकासिन थाल्यो ।

तर, पञ्चीदेवीको समय सधैँ एकनास चलेन । श्रीमान्को औँलामा देखिएको सानो घाउ बढ्दै गएर नाङ्ले पसल गर्न पनि सक्न छाडे । नियमित ग्राहकमध्येका एकले श्रीमान्‌लाई सुझाए, ‘श्रीमतीलाई लगाए पनि त हुन्छ नि, सकीनसकी आफैँ गर्नु भन्दा त ।’

यो सुन्दा सुरुमा त उनी लाजले भुतुक्कै भइन् । सूर्ति टुक्र्याएर त्यसमाथि चुना हालेर दिनु लज्जाकै विषय थियो उनका लागि । आफ्नो समुदायका महिलाहरू हिच्किचाए पनि पहाडका महिलाहरूले लाज जितेको उनले देखेकी थिइन् । र, उनले पनि काम सुरु गरिन् ।

सूर्ति टुक्र्याएर बेच्न सजिलो थिएन । सूर्ति मसिन्याउँदा कयौँपटक उनका औँला काटिएका छन् । तर, जीवनको रथ गुडाउन यतिको संघर्ष सामान्य हो ठान्दै उनी आफ्नो काममा कृतसंकल्प रहिन् ।
सूर्ति बेच्न पारङ्गत बनेपछि उनी अहिले आफ्नै थातथलो फर्किएकी छन् ।

‘आफ्नो गाउँठाउँजस्तो अन्यत्र कहाँ हुन्छ र ? फेरि काठमाडौंको बसाई पनि कहाँ सस्तो छ र ? दिनहुँ बढी रहेको महँगीमा सडकको कमाइले पुग्दैन नि नानी !,’ उनी महोत्तरी नै फर्कनुको कारण पनि बताउन बिर्सिन्नन् ।

५० हिउँद काटेपछि जीवनले पहार ताप्न पाएकोमा मख्ख छिन् उनी । फागुनको सुरूवातमा भेट्दा उनी आफ्ना संघर्षका कथा चाख मान्दै सुनाइन् । यसबीचमा उनले चारवटै छोरीको विवाह पनि गरेकी छन् ।

‘चारवटै छोरी श्रीमान्‌का घर गइससकेका छन्’, उनी सन्तुष्ट सुनिन्छिन् ।

‘कस्तो घरमा दिनुभयो त छोरी ?,’ यो प्रश्न भुइँमा खस्न पनि पाएको थिएन ।

उनले भनिन्, ‘आफैँजस्तै गरिब तर श्रम गरेर खानेलाई दिएँ । आफैँसरहको भएपछि दहैजको लोभ गर्ने कुरा पनि आएन । मधेसमा त दहैजको ठूलो समस्या तपाईंले बुझ्नु भएकै छ नि,’ उनले अनुहार बिगार्दै भनिन् ।

उनी अहिले ६ सय ५० रूपैयाँको सूर्ति ल्याएर एक हजार रूपैयाँ बनाउँदी रहिछन् । दिनको एक हजार पाँच सय रूपैयाँसम्म कमाउँछिन् । हटियाको दिन भने दोब्बर हुन्छ ।

उनले आफ्नै कमाइबाट जेठो छोरो रघुनन्दन मण्डललाई कक्षा ८ र कान्छो जयनाथलाई ६ कक्षामा पढाइरहेकी छन् । सन्तानको पढाईमा ध्यान पुर्‍याउन सके भविष्य सुखमय हुने विश्वासमा छिन् उनी ।

फुटपाथमा त्यसरी सूर्ति बेचेर जीविकोपार्जन गर्ने महिला उनी एकमात्र हुन् । उनको व्यवसाय देखेर स्थानीय आश्चर्यमा पनि छन् ।

पञ्चीदेवीले आफ्नो कमाईबाट जेठो छोरो रघुनन्दनलाई कक्षा ८ मा र कान्छो छोरो जयनाथ मण्डललाई ६ मा पढाइरहेकी छन् । बिरामी श्रीमान्‌को औषधी उपचार र घर बहाल बुझाउनसमेत सहयोग मिलेको छ । यसरी बर्दिबासमा सूर्ति बेचेर जिविकोपार्जन गर्ने उनी एकमात्रै महिला हुन् ।

‘यसरी महिलाले सूर्ति बेचेको देखेको छैन । खसी, कुखुरा काटेर मासु बेचेको, ट्याक्टर चलाएको, हलो जोतेको देखेको भए पनि सूर्ति बेच्ने उनी एकमात्र महिला हुन्,’ बर्दिबासका शिक्षक तथा स्थानीय केदार कोइराला बताउँछन् ।

पञ्चीदेवी घुम्टो बाहिर निस्केर सूर्ति बेचबिखनमा रमाउनुलाई मिश्रित संस्कृतिको प्रभाव मान्नेहरू भने अरू पनि छन् ।

 

Share
0Shares
Advertisment