सीडीओले चाहँदा फेरिएको एउटा कारागारको कथा

Share
0Shares

इटहरी- इलामको चुलाचुली गाउँपालिकाका ७६ वर्षीय हरिप्रसाद पोखरेल बिहानै उठ्छन्, नुहाइधुवाइ गर्छन्, पूजापाठ गर्छन्, शंख बजाउँछन् र दिनभर कैदीहरूसँगै बिताउँछन्। पोखरेल चार वर्षयता इलाम कारागारमा कैदीका रूपमा छन्। उमेर ७६ भए पनि उनको नागरिकतामा भने ६६ वर्ष मात्रै छ। जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद तोकिएका पोखरेल कारागारमा बसेको ४ वर्ष ६ महिना भयो।

उनी कारागारभित्र महँगोमा सामग्री किन्न र पैसा अभावका कारण भनेजति खान नपाइनेजस्ता समस्यामा थिए। तर अहिले कारागारको अवस्था सुध्रिएका कारण आफैँ पैसा राख्छन्। आफूलाई खान मन लागेको कुरा सस्तोमै किनेर खान पाइएको पोखरेलले बताए।

‘पहिला एउटा व्यक्तिका (चौकीदार वा नाइके) कारण सबैले दुःख व्यहोर्नुपर्थ्यो,’ पोखरेल भन्छन्, ‘अहिले सागसब्जीदेखि अरू खाद्यान्नसहित साबुन पनि गाडीभाडामात्रै जोडेर किन्न पाइन्छ। बजारकै मूल्यमा किन्न पाएका छौँँ।’

पहिलेपहिले चौकीदार र नाइकेको निगरानीमा बस्नुपर्थ्यो। अहिले उनीहरू नै कैदीबन्दीको स्वास्थ्य अवस्थालगायतका विषयमा सोध्न आउन थालेको पोखरेल बताउँछन्। ‘सीडीओ साबले प्रबन्ध मिलाइदिएपछि नाफानोक्सान केही छैन। पहिला महँगोमा पाइने सामान अहिले कम पैसामै पाइन्छ,’ उनले भने, ‘अहिले त जेलरले स्वास्थ्य अवस्था र खानपानबारे चासो राख्न थालेका छन्।’

पाँचथर घर भएका धनसिंह फागो यसअघि पाँचथर कारागार र सुनसरीको झुम्का कारागार बसिसकेका छन्। उनका अनुसार झुम्का कारागारमा दिन बिताउन निकै कठिन थियो।

इलाम कारागारमा बस्दा घरमै बसेजस्तो अनुभूत भएको उनी सुनाउँछन्। ‘यहाँ आएपछिचाहिँ आफ्नै घरजस्तो लाग्यो। साबुनदेखि सबै सामान सहज रूपमा किन्न पाइएको छ,’ फागो भन्छन्, ‘झुम्का कारागारमा पैसा आएपछि बुझाइहाल्नुपर्ने अवस्था हुन्थ्यो। त्यहाँ बस्न निकै गाह्रो थियो।’

उनी पनि जबरजस्ती करणी अभियोगमा ८ वर्ष कैद भुक्तानका लागि कारागारमा बन्दी छन्। ‘साँच्चै सुधारगृह भन्न सुहाउने अवस्था छ, अरू ठाउँभन्दा निकै सहज छ,’ उनी भन्छन्, ‘कैदीको हितमा काम गरेकाले प्रशासनसँग हामी खुसी छौँ।’

इलामकै चुलाचुली-३ का हिमाल देवान ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्षको कैद भुक्तान गरिरहेका छन्। ‘सहकारी मोडलअनुसार मूल्य निर्धारण गर्दा खाना पनि गुणस्तरीय पाइएको छ,’ देवानले भने, ‘अहिले हामीलाई समस्या पर्दा सीधै चौकीदारलाई भन्न सक्छौँ, पहिला नाइकेमार्फत जानुपर्थ्यो।’

उनी कारागार बसेको अढाई वर्ष भयो। अहिले इलाम कारागारको अवस्था सुध्रँदो रहेको र बेलाबेलामा प्रमुख जिल्ला अधिकारी अनुगमनमा आउँदा थप सहज हुने गरेको उनले बताए।

इलाम कारागारमा अहिले कुल २६५ जना कैदी छन्। तीमध्ये कैदी २०७ र बन्दी ५८ जना छन्। पछिल्लो तीन महिनायता कारागारमा कैदी लक्षित सहकारी मोडल लागू भएको सजिलो भएको उनीहरू बताउँछन्। उनीहरूका अनुसार श्रवण पोखरेल प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएर आएपछि कारागारको अवस्थामा परिवर्तन भएको हो।

कारागार सुधारका लागि पोखरेलले सरोकारवालाहरूलाई डाकेर बैठक राखे। सहकारी मोडलअनुसार सञ्चालन गर्नुपर्ने उनको प्रस्तावमा सबै सहमत भए। अनि कारागार सोहीअनुसार सञ्चालन हुन थालेपछि आफूहरू लाभान्वित बनेको कैदीहरू बताउँछन्।

चौकीदार राज सुवेदी कारागारको मुख्य समस्या महँगी नियन्त्रणमा आएकाले कैदीहरूको अनुहारमा सन्तुष्टि झल्किएको बताउँछन्। ‘अहिले सहकारी सञ्चालक समितिले मूल्य निर्धारण गर्छ,’ सुवेदीले भने, ‘११ सदस्यीय समिति छ। समितिमा सबै कैदी छन्। उनीहरूले मूल्य निर्धारणदेखि अन्य कुरामा पनि हस्तक्षेप गर्छन्, जसका कारण महँगी नियन्त्रण भएको छ।’

पहिलापहिला कारागारमा चौकीदार र नाइकेको हालीमुहाली हुन्थ्यो। अब त्यस्तो अवस्था नदोहोरिनेमा कैदीबन्दी आशावादी छन्। यसले निरन्तरता भएमा कैदीका लागि निकै सहज हुने सुवेदी बताउँछन्। कारागार प्रमुख सुमित मगरका अनुसार देशभर रहेका कारागारमा महँगी व्याप्त रहेका कारण समस्या छ। उनी भन्छन्, ‘पहिला चौकीदार र नाइकेले कारागार चलाउँथे, अहिले कैदी स्वयंले चलाउन थालेका छन्।’ सबै कैदीको सहभागितामा सहकारी पसल सञ्चालन गरेपछि उनीहरू लाभान्वित भएको मगरले बताए।

‘पहिलेपहिले चौकीदार र नाइकेको मिलेमतो हुँदा कैदीहरू मारमा पर्थे। अहिले समितिमा जनता (कैदी) सदस्य छन्, नाइके र चौकीदार छैनन्,’ मगर भन्छन्, ‘पहिला कैदीलाई चाहिने सामान नाइकेले नै कारागार सञ्चालन गर्ने प्रचलन थियो। अहिले सहकारी पसलबाट सामान ल्याउन कैदी स्वयम् सहभागी हुन्छन्।’

उनका अनुसार कैदीलाई राज्यले दैनिक ८० रुपैयाँ दिन्छ। उनीहरूले त्यही पैसाबाट खाना, खाजा, साबुन स्याम्पुजस्ता आवश्यक सामग्री खरिद गर्छन्। राज्यले दिएको पैसाले कैदीबन्दीलाई जीवन निर्वाह गर्न गाह्रो परिरहेको प्रमुख मगरको भनाइ छ। इलाम कारागारले १५-१५ दिनमा पैसा वितरण गर्दै आएको छ।

‘अलिक पहिलेसम्म कैदीहरू त्रासका कारण बोल्न सक्दैनथे,’ कारागार प्रमुख मगर भन्छन्, ‘अहिले सीडीओ साबको पहलमा स्थानीय हिमाल सहकारीसँगको सहकार्यमा पसल सञ्चालन गर्दा कैदीहरू खुसी छन्।’

ढुवानी खर्चमात्रै राखेर सामान बिक्री हुने गरेको जानकारी उनले दिए। ‘बजार भाउभन्दा सस्तो भएका कारण गाउँका मान्छेले पनि आफूलाई चाहिने घरायसी सामान यहीँबाट किन्ने अवस्था छ,’ उनले भने। प्रमुख मगरका अनुसार इलाम कारागारमा धेरैजसो जबरजस्ती करणी मुद्दाका कैदी छन्। त्यसपछि कर्तव्य ज्यान, लागुऔषध, बैँकिङ कसुरजस्ता मुद्दामा कैदीबन्दीहरूले कैद भुक्तान गरिरहेका छन्।

कैदीमध्ये ४० प्रतिशतजति विभिन्न घरायसी सामान निर्माणमा संलग्न छन्। कसैले मुढा बुन्छन्, कसैले डटपेन बनाउँछन्, कोही कपडा सिलाउँछन् त कोही पेरुङ्गो बुन्न व्यस्त देखिन्छन्। प्रमुख जिल्ला अधिकारी पोखरेल कारागार सुधारका लागि केही घटनाले प्ररेणा दिएको बताउँछन्। उनका अनुसार गत चैत १६ गते कैदी मनिकुमार राई भागेछन्। उनी भागेपछि खोजी गरियो। १७ गते सम्पर्कमा आए। उनी भाग्नुको कारण महँगी रहेछ।

उनलाई नियन्त्रणमा लिएर भाग्नुको कारणबारे सोधपुछ गर्दा एक पिस माछाको एक सय ८० रुपैयाँ पर्ने र एउटा अन्डाको ६० रुपैयाँ पर्ने बताउँछन्। महँगीको मारमा परियो भनेर कैदीबन्दीको व्यापक गुनासो आउन थालेपछि कारागार सुधार अभियान थालेको पोखरेल बताउँछन्।

‘सहकारी मोडलअनुसार काम गर्न कारागार सुधारमा निकै ठूलो भूमिका खेल्यो,’ पोखरेलले भने, ‘कारागार सुधार गर्दा अहिले यहाँका जनता खुसी भए। जनताभन्दा ठूलो केही, कोही छैन।’ कारागार सुधार भईकन कैदीहरूले पेटभरि खाना खान पाएको सुन्न पाउँदा आफूलाई खुसी लाग्ने उनी सुनाउँछन्।

दृढसंकल्पका कारण कारागार सुधारमा लागिपर्दा उनले जिल्लाभरि प्रशंसा पाइरहेका छन्। ‘पहिलेपहिले नाइके र चौकीदार बनेकाले कैदीबन्दीमाथि शोषण गरेका कुरा आउँथे। अहिले कारागारमा कैदी स्वयम्ले चाहेको खान, लाउन र आनन्दले बस्न पाएका छन्,’ पोखरेलले भने, ‘सीडीओसाब मेरो जनताले पेटभरि खान पाएका छन्। तपाईँलाई धन्यवाद भनेर पालिका अध्यक्षको फोन आउँदा राम्रो काम गरेकोजस्तो अनुभूत भएको छ।’

आफू सरुवा भएर हिँडेपछि फेरि पुरानै अवस्थामा फर्किने हो कि भन्ने शंका पनि उनीसँग छ। यसले आगामी दिनमा निरन्तरता पाउने र कैदीबन्दीको जीवन थप व्यवस्थित हुनेमा उनी आशावादी छन्।  ‘कारागारमा बढ्दो महँगीको समस्या उठिरहँदा यहाँको वस्तुस्थिति बुझेपछि सहकारी मोडलअनुसार कैदीबन्दी सहकारी पसल सञ्चालनमा ल्याएका हौँ,’ पोखरेलले भने, ‘यसले गर्दा कैदीलाई सस्तोमा उपभोग्य सामग्री पाएका छन्। कारागारमा अपनत्वका साथ कैदीहरू कैद भुक्तान गरिरहेका छन्।’

कारागार कार्यालयमा आन्तरिक प्रशासनका रूपमा चौकीदार, नाइकेहरूले सञ्चालन गरेको पसल बजार मूल्यभन्दा तीन गुणा बढी हुने गरेको छ। पोखरेलले भने, ‘गुनासो सम्बोधन गर्ने औषधिका रूपमा कैदीबन्दीकै कोअपरेटिभ्स सप सञ्चालन गर्‍यो भने चौकीदार, नाइके, भाइनाइकेको शोषणबाट मुक्त हुने भएकाले नेपालमै पहिलोपटक यस्तो अवधारणा ल्याइएको हो।’

कारागारमा अब चौकीदारले व्यापार गरेर पैसा कमाउने दिन समाप्त भएको उनको दाबी छ। ‘पहिलो इनोभेटिभ मोडलअनुसार कैदीबन्दीको साझा पसल सञ्चालनमा ल्याएपछि चौकीदार र नाइकेको व्यापार सदाका लागि समाप्त भएको छ,’ प्रजिअ पोखरेल भन्छन्, ‘यो किसिमको अभ्यास प्रयोग गर्दा कैदीहरूले आफैँ मूल्य निर्धारण गरेर मूल्य निर्धारण समितिले व्यवस्थापन गर्दै आएको छ।’

गैरनाफामूलक किसिमबाट लागत र ढुवानी जोडेर सामग्री किनबेच हुने भएकाले कैदीहरू खुसी रहेको उनले सुनाए। उनले भने, ‘पहिलाको जस्तो पसल खोलेर तेब्बर मूल्यमा नाफा कमाउनेको दिन अन्त्य भयो।’

कतिपय कारागारमा अहिले पनि चौकीदार र नाइकेले शोषण गरेको र बाँकी कैदीले उनीहरूको शासनमा रहनुपर्ने बाध्यात्मक परिस्थिति छ। विभिन्न कारागारमा यसअघि चौकीदार बन्नका निम्ति विभिन्न चलखेलसमेत हुँदै आएको कुरा बाहिरिएको थियो। विभिन्न दलको आडमा चौकीदार र नाइके बनाइदिन दबाब आउने गरेको र ठूलो चलखेलमा सरुवासमेत हुँदै आएको जानकारहरू बताउँछन्। प्रमुख जिल्ला अधिकारी पोखरेल भने कारागारको अवस्था सुधार हुन थालेपछि यस्ता समस्या बिस्तारै समाधान हुनेमा आशावादी छन्।

Source: https://himalpress.com/2023/07/76912/

Share
0Shares
Advertisment