फलफूल खेतीमा रमाउँदै चितवनका विष्णु ज्ञवाली

Share
0Shares

चितवन, भदौं ७-

विष्णु ज्ञवाली चितवनको शैक्षिक क्षेत्रमा चिरपरिचित नाम नै हो । उनले भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय पढाउन थालेको २२ वर्ष लागेको छ । क्याम्पसमा पूर्वसहायक क्याम्पस प्रमुखसमेत रहेका उपप्राध्यापक अहिले क्याम्पसमा पढाउन भन्दा बढी फलफूल खेतीमा रमाइरहेका छन् ।

भरतपुर महानगरपालिका–४ लक्ष्मीपुरमा ज्ञवालीले बिगत तीन वर्षदेखि ‘गो जी फार्म’ दर्ता गरेर १५ गठ्ठा जग्गामा फलफूल खेती गरिरहेका छन् । उनले आफ्नो बगैँचामा एभोगाडो, ड्रागन फ्रुट र अम्बा लगाएका छन् । क्याम्पसबाट फर्किएपछि उनी फलफूल बगैँचामा नै रमाउने गर्छन् । उनले नारायणी अनलाइनलाई भने, ‘ बुबाआमाले गर्नुभएको परम्परागत कृषि कर्मलाई मैले केही आधुनिकीकरण गर्दै लगेको छु । रुचि र रहरले लागेको कृषि कर्म भएकोले धेरै रमाइरहेको छु । यसको बिस्तार गर्नलाई थप जग्गा पनि खोजिरहेको छु ।’

ज्ञवालीले यस वर्ष गलत सिजनमा फलेकोले अम्बालाई सही सदुपयोग गर्न पाएनन् । अहिले एभोगार्डाे र ड्रयागन फ्रुटको सिजन सुरु भएकोले उनले क्याम्पस आउँदा कारको डिकीमा राखेर आफैँले प्रत्यक्ष सम्पर्क गरेका व्यक्तिहरुलाई फलफूल पु¥याउने गर्छन् । उनले दुई थरी ड्रयागन फ्रुट लगाएका छन् । रातो ड्रयागन फ्रुट प्रति केजी ४५० रुपैयाँ, सेतो ड्रयागन फ्रुट ३५० रुपैयाँ र एभोगार्डाे प्रतिकेजी ३०० रुपैयाँमा बेचिरहेका छन् । उनले कहिलेकाहीँ सामाजिक सञ्जालमा बिक्रीको लागि सूचना राखेर प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुलाई फलफूल बेच्ने गर्छन् । फलफूलबाट तत्कालै मुनाफा नहुने भएकोले दीर्घकालमा यसबाट धेरै फाइदा लिन सक्ने सोच राखेर ज्ञवाली खेतीलाई बिस्तार गर्दै जाने सोचमा छन् । उनले भने, ‘ चितवनमा कृषि क्षेत्रमा धेरै सम्भावना छ । दीर्घकालमा राम्रो फाइदा हुने देखेको छु ।’

ज्ञवालीले कृषि पेसामा घरपरिवारबाट पनि राम्रो सहयोग र साथ पाएका छन् । फलफूल खेतीमा जुट्न उनलाई उनकी जीवनसंगिनी मधु ज्ञवालीको पनि साथ छ । छोराछोरीले पनि आवश्यक सहयोग गरेका छन् । उनले भने, ‘ कृषि पेसा अंगालेकोमा घरपरिवार र आफन्त कसैको अब्जेक्सन छैन । सबैको सहयोग पाइरहेको छु । कहिलेकाहीँ प्राविधिकको सहयोग चाहिन्छ । नत्र सबै काम आफैले गरिरहेको छु । क्याम्पसबाट रिटायर्ड जीवन फलफूल खेतीमा नै लगाउने सोच बनाएको छु ।’

खेतीलाई बिस्तार गरेपछि व्यवसायिकरुपमा मानिसहरुलाई रोजगारी दिएर आफूले व्यवस्थापन मात्र हेर्ने उनको सोच छ । अहिले सुरुवातको आम्दानीबाट खासै नाफा नभए पनि भविष्यमा राम्रो नाफा गर्न सकिन्छ भन्ने विषयमा ज्ञवाली विश्वस्त देखिन्छन् । औपचारिकरुपमा जीओजी फार्म दर्ता गरेर कृषि कर्म सुरु गरेका उनको बगैँचामा एभोगार्डाेका बोट १३ वटा, ड्रयागत फ्रुट ३४० वटा र अम्बा ९० वटा छन् ।

चितवनका विभिन्न ठाउँबाट अहिले उनको बगैँचा घुम्न साथीहरु र शुभेच्छुक आउने क्रम पनि बढ्न थालेको छ । चितवनका साहित्यकारहरु भूपिन खड्का र ईश्वर कँडेलले पनि ज्ञवालीको मेहनतलाई आफ्नै आँखाले देखेपछि सामाजिक सञ्जालमा स्टाटस नै लेखेर केही समय अगाडि प्रशंसा गरेका थिए । कवि भूपिनले फार्मको भिडियो पोष्ट गर्दै फलफूल फार्ममा पुगेर ड्रागन फ्रुट, एभोकार्डाे, बनाना म्याङ्गो, स्टार फ्रुट र अम्बाको बगैँचामा डुल्दा खुसी भएको बताएका थिए । ज्ञवालीलाई भूपिन र ईश्वरले व्यवसाय कस्तो छ भनेर प्रश्न गर्दा उनले भनेका थिए, ‘म चाहीँ बाहिरका सबै तनावहरू यही बगैँचामा काम गर्दा आउने आनन्दका कारण माटोमा पुरिदिन्छु ।’ कृषि पेसालाई हेयको रुपमा हेर्ने नेपाली समाजमा उपप्राध्यापक ज्ञवालीले मेहनत गरेर कृषि कर्मबाट पनि केही हुन्छ भन्ने सन्देश दिएका छन् ।

Source: https://narayanionline.com/2023/08/267441/?fbclid=IwAR0p0SwTuwnaKDWVPGWo6GFV0SbqVKNsRNAl8TRoVDQMyITGi43CXDbuQLI

 

Share
0Shares
Advertisment