आत्मदाहपछि मृत्युअघिको थकथकी- सरी, गल्ती भयो ! आमा हेर्दिनू

Share
0Shares

जीवनको महत्त्व कति छ ? मृत्युनजिक पुगेकाबाहेक अरुसँग यसको उत्तर सायदै भेटिएला । पोखरामा तीन दिनअघि भएको एउटा आत्मदाहको घटनापछि र अस्पतालको शय्यामा युवतीले गरेको पश्चात्तापले जीवनको महत्त्व कति हुन्छ भन्ने प्रस्ट पार्छ । यो घटना एउटा यस्तो उदाहरण हो जसले ‘सडन डिसिजन’ अर्थात् क्षणभरमै गरेका निर्णयले पछि कतिसम्म पछुतो अनुभव गराउँछ भन्ने पनि देखाउँछ ।

पोखरा महानगरपालिका– ८, जाल्पा रोड बस्ने २५ वर्षीया रोश्नी क्षेत्री (एलिजा) ले गत सोमबार ४ भदौमा शरीरमा पेट्रोल छर्किएर आत्महत्याको प्रयास गरेकी थिइन् । उनी सञ्चारकर्मी पनि हुन् । सोमबार बिहान ९ बजेको घटनापछि अस्पताल लगिएकी उनको मंगलबार दिउँसो उपचारकै क्रममा निधन भयो ।

पोखराको रेडियो अन्नपूर्ण, माछापुच्छ्रे एफएम र परिचय डटकममा काम गरेकी उनी अहिले भने सञ्चारगृहसँग आबद्ध थिइनन् । तर, पत्रकारसम्बद्ध संस्था र संगठनमा आबद्ध थिइन् । अहिले भने उनको आबद्धता कुनै सञ्चारमाध्यममा थिएन । पेटमा दुई महिनाको शिशु हुर्काइरहेकी रोश्नीले किन आत्मदाहको बाटो रोजिन् भन्ने स्पष्ट कारण खुलेको छैन । निकटका साथीभाइले बताएअनुसार घटनाअघि सासूआमासँग उनको सामान्य ठाकठुक परेको थियो । त्यही कारण रोश्नीले आत्महत्याको बाटो रोजेको अनुमान छ ।

घटना भइसकेपछि भने उनले आफूले गल्ती गरेको भन्दै अस्पतालमा आमाबुवा, श्रीमान्‌सँग माफी मागेकी थिइन् । यो अस्पतालको शय्यामा अन्तिम सास फेर्नुअघिको किस्सा हो । परिवारका सदस्य र छिमेकीले शरीरमा लागेको आगो निभाएर अस्पताल लैजान खोज्दा उनले इन्कार गरेकी थिइन् । आगो निभाएर उनलाई गण्डकी मेडिकल कलेज लगिएको थियो । त्यतिबेला उनी होसमै थिइन् । आएकालाई ठम्याउन सक्थिन्, बोल्थिन् ।

पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी घटना भएको थाहा पाएपछि गण्डकी मेडिकल कलेज पुगेकी थिइन् । काठमाडौं लैजान हेलिकोप्टर खोजिए पनि भारी वर्षाले गर्दा उडान सम्भव भएन । रोश्नीले अस्पतालकै शय्याबाट श्रीमान्, आमाबुबासँग माफी पनि मागिन् ।

आत्मदाहको प्रयास गरेकी रोश्नीलाई अध्यक्ष भण्डारीले सोधिन् – किन यस्तो गरेको ? समस्या त समाधान हुन्थ्यो नि ।

रोश्नीको जवाफ थियो – दिदी, सरी गल्ती भयो ।

जलनको पीडाले अस्पतालको शय्यामा रोश्नी चिच्याइरहेकी थिइन् । `दिदी मलाई फ्रेस हुन जान दिनु न ! म पानीले मुख धोएर आउँछु, बाथरुम जान्छु,´ रोश्नीले यस्तो भनेको भण्डारीले फेसबुकमा लेखेकी छन् ।

हेलिकोप्टर उडान सम्भव नभएपछि र स्थिति झनै जटिल बनेपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगियो । त्यहाँ पुग्दासम्म स्थिति नाजुक भइसकेको थियो । चिकित्सकका अनुसार उनको फोक्सो धुवाँले ६० प्रतिशत भरिएको थियो, जुन खतराको तह थियो ।

रोश्नीको पेट, छाती र घाँटीको भाग जलेको थियो भने शरीर फुलेको थियो । काठमाडौं बर्न अस्पताल लैजाने तयारी भइरहँदा घटनाको २७ घण्टापछि उनले मंगलबार दिउँसो साढे १२ बजे अन्तिम सास फेरिन् । रोश्नीको मंगलबार नै रामघाटमा अन्त्येष्टि भइसकेको छ ।

पश्चिमाञ्चल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा आफूले रोश्नीको अन्तिम समयमा कुरा गर्दा आमाबारे चिन्ता व्यक्त गरेको पत्रकार महासंघ कास्की अध्यक्ष भण्डारीले सामाजिक सञ्जालमा लेखेकी छन् । `मैले अस्पतालको बेडमा सोधेकी थिएँ- बैनीको केही इच्छा छ पत्रकारिता या अन्य क्षेत्रमा, जो दिदीले गरिदिए हुन्थ्यो भन्ने लागेको ?´

भण्डारीले बुधबार फेसबुकमा लेखेकी छन्, `उत्तरमा बैनीले भनेकी थिइन्– त्यस्तो केही छैन, बेला-बेला मेरी आमाको केयर गर्दिनू है दिदी ।´

रोश्नीको माइती पोखरा-२०, भलाम हो र आमाबुवा त्यहीँ बस्छन् ।

***

पोखरा बस्ने संयोग बानियाँसँग रोश्नीको १३ महिनाअघि प्रेमविवाह भएको थियो । तर, पढाइलाई निरन्तरता दिनुपर्ने भएपछि उनी काठमाडौंस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गर्दै थिइन् । पोखरामा यो विषयको स्नातकोत्तर पढाइ नहुने भएकाले उनी पढ्नलाई काठमाडौं बसेकी थिइन् । उनले पोखराका बहुमुखी क्याम्पसबाट स्नातक गरेकी हुन् ।

काठमाडौं बसे पनि उनको पोखरा आउजाउ भइरहन्थ्यो । यहाँ आउँदा आफूसँगै सञ्चारगृहमा काम गरेका साथीभाइ र अन्य पत्रकार भेट्ने, कार्यक्रममा सहभागी हुने गर्थिन् । घटनाभन्दा दुई दिनअघि पोखरा आएकी उनले आफूनिकट पत्रकार साथीभाइलाई पनि केही भनेकी थिइनन् । धेरैले घटना भएपछि मात्र उनी पोखरा आएको थाहा पाएका थिए ।

घटनाको दिन नागपञ्चमी थियो । श्रीमान्‌को परिवार मधेशबाट पोखरा सरेको हो । सासूआमा निकै आध्यात्मिक छिन् । रोश्नी अध्यात्म, पूजा-व्रतमा निकै कम रुचि राख्थिन् । यही विषयमा उनको सासूसँग राम्रो सम्बन्ध थिएन । उनीनिकटका एक जना पत्रकारले बताएअनुसार घटनाको अघिल्लो रात उनी साथीको घरमा गएकी थिइन् । ‘भोलिपल्ट बिहान साथीलाई लिएर घर जाँदा आमासँग भनाभन परेको, अनि घरबाट निस्केर फर्किएपछि त्यस्तो भएको सम्म थाहा भयो,’ ती पत्रकारले साथीले भने, ‘रोश्नीसँग घरमा गएकी साथीले मलाई केही थाहा छैन भन्छिन् ।’

रोश्नीले श्रीमान्‌कै नामथर जोडेर आफ्नो फेसबुकमा नाम नै ‘रोश्नी संयोग बानियाँ’ रोखेकी थिइन् । घटनाको दुई दिनअघि श्रीमान्‌सँगको तस्वीर इन्स्टाग्राममा रोखेकी थिइन् । सासूआमासँग विवाहपछि नै सम्बन्ध बिग्रिए पनि श्रीमान्‌सँग भने राम्रै रहेको उनका साथीभाइ बताउँछन् । ‘मुडी’ स्वभाव रहेको र सासूसँगको भनाभनपछि घटना भएकाले उनका निकटस्थले पनि आत्महत्याको अन्य कारण देखेका छैनन् ।

आत्महत्याको घटना भएकाले प्रहरीले यसमा यत्तिकै अनुसन्धान गर्दैन । घर पक्षले कुनै दबाब नदिएको, पढ्नलाई पनि काठमाडौं पठाएको र अस्पतालमा रोश्नीले ‘गल्ती गरेँ’ भनेर पश्चात्ताप गरेको देखेर माइती पक्षले आत्महत्या दुरुत्साहनको उजुरी नदिने भएको छ ।

Share
0Shares
Advertisment