सेयर बजारका लगानीकर्ताको मनोबल उच्च हुन सकेन

Share
0Shares
काठमाडौं : दुई दिन सकारात्मक बनेको सेयर बजार तेस्रो दिन बिहीबार फेरि घटेको छ । यस दिन नेप्से सूचक ३१.५२ विन्दुले घटेर २०१३.९३ अंकमा आएर अडिएको छ । १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत सबै समूह घटेका छन् ।
 १९९० लाई टेवा दिएर फर्किएको बजार गति लिने अपेक्षा विपरीत  पुनः घटेको हो । यसबाट पुनः अनिश्चितता उत्पन्न भएको छ । अब बजारले कुन विन्दुमा पुगेर बाउन्स ब्याक हुन्छ भन्ने चासो पनि बढेको छ ।
लाभांशको सिजन नजिकिंदै गर्दा बजारको प्रदर्शन कमजोर देखिएको छ । घटेको बजारमा एक–दुई दिन क्रेता देखिए पनि तुरुन्तै ट्रेडरहरु हावी हुने प्रवृत्ति देखिएको छ । यसबाट विशेषगरी नयाँ र साना लगानीकर्ता अन्योलमा परेका छन् ।
 बजार माथि जान्छ भन्ने विश्वास नहुँदा ट्रेडरहरु पनि थोरै नाफामै वा कतिपय अवस्थामा घाटामा पनि सेयर बेचेर निक्लिने प्रवृत्ति देखिएको फ्रन्ट लाइनमा बसेर काम गर्ने ब्रोकरहरुको भनाई रहेको छ ।
दुई मुख्य कुरा पुँजी बजारमैत्री मौद्रिक नीति नआउनु अनि बैंकहरुले ब्याजदर घटाउन भन्दा पनि बढाउनतर्फ जोड दिनु नै अहिले सेयर बजार घट्नुको प्रमुख कारण मानिएको छ । यसैकारण लाभांशको सिजनमा पनि लगानीकर्ताको मनोबल कमजोर भएको हो ।
बजारका अनुभवी, जानकार तथा विश्लेषकहरुका अनुमानसमेत फेल खाइरहेको छ । १९९० लाई सपोर्ट बनाएर बजार फर्किएकाले अब यसले राम्रै गति लिने कतिपयले बताएका थिए । हुन त प्राविधिकरुपमा हेर्दा बजारले टेवा पाएको क्षेत्रलाई पुनः पटकपटक परीक्षण गर्ने गर्दछ ।
 प्राविधिक विश्लेषकहरुका अनुसार १९९० आसपासको क्षेत्र वा सो भन्दा माथिबाटै बजार फर्किन्छ कि फकिंदैन त्यो पनि निकै महत्वपूर्ण हुनेछ । त्यसलाई चनाखो भएर हेर्नुपर्ने यसरी विश्लेषण गर्नेहरुको भनाई छ ।
मौद्रिक नीतिपछि बजार निरन्तरजसो घट्न पुग्यो । भदौ लागेपछि धेरैजसो बैंकले ब्याजदर बढाउँदा त्यसको थप नकारात्मक असर बजारमा देखियो । यद्यपि, बैंकिङ प्रणालीमा अहिले पर्याप्तमात्रामा तरलता छ । बैंकहरुले सेयर धितो कर्जा प्रवाह गर्न सुरु गरिसकेका छन् । एनआइसी एसिया लगायतका ठूला बैंकहरुले सेयर धितो कर्जाको विज्ञापन गर्न थालिसकेका छन् ।
 ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा जोखिमभार १०० प्रतिशतमात्र कायम गरिएको छ । यसले पनि विस्तारै कर्जा लिएर लगानी गर्नेहरु उत्साहित हुने अनुमान गर्न सकिन्छ ।
अर्थतन्त्रका बाह्य सूचकहरु भने सबल बन्दै गएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । विशेषगरी, बाह्य क्षेत्र मजबुत बनेको छ । शोधनान्तर, रेमिटेन्स, विदेशी विनिमय सञ्चितिको अवस्था राम्रो छ । यो भने सेयर बजारका लागि सकारात्मक पक्ष हो ।
यता, निरन्तर घटेको बजारमा सेयर भाउ निकै सस्तो भइसकेको छ । लाभांशको सिजनमा सस्तोमा सेयर किन्न पाइने भए पनि बजारले भने अहिलेसम्म सकारात्मक संकेत देखाउन सकेको छैन ।
सूचीकृत कम्पनीहरुले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । रिपोर्ट औसतमा अएको छ । बिमा र बैंकहरुले नाफा वृद्धि गरेका छन् भने माइक्रोफाइनान्स र हाइड्रोपावर समूहका अधिकांश कम्पनीहरु भने नोक्सानमा गएका छन् । यसर्थ, समग्रमा रिपोर्ट औसतमा आएको देखिन्छ ।
अब सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्न थाल्नेछन् । अहिले सेयरधनी हुनेहरुले छोटो समयमै लाभांशका साथमा बजार बढेमा पुँजीगत लाभ पनि हात पार्न सक्नेछन् । सेयर बजार तलमाथि भइरहने भएकाले लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीहरुमा सकेसम्म अलि लामो समयसम्म होल्ड गर्न सक्ने हिसाबले लगानी गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् । लगानीकर्तमा सकारात्मक मनोभावना हुन आवश्यक छ ।
यस दिन २७५ कम्पनीको ४६ लाख ५७ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ८७ लाख रुपैयाँभन्दा कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः घोराही सिमेन्ट्स र शिवम् सिमेन्ट्स परेका छन् ।
Share
0Shares
Advertisment