राजा महेन्द्रको गुप्त नीति

Share
0Shares

राजा त्रिभुवन दुई महारानी कान्ति र ईश्वरीलाई लिएर अमेरिकामा उपचारका लागि जान खोज्दा अमेरिकी कानुनअनुसार मिल्दैन भनेर प्रवेशाज्ञा (भिसा) दिइएन। उपचार पनि हुने र अमेरिका पनि घुम्ने राजाको रहर पूरा भएन।

अमेरिकाका ५० वटै राज्यले दुईवटी वा सो भन्दा धेरै पत्नी भित्र्याउन प्रतिबन्ध लगाएको थियो। विदेशी राष्ट्राध्यक्ष वा सरकार प्रमुखका लागि छुट्टै कानुन हुने कुरै भएन। राजदरबारका सचिव र ऊबेलाका परराष्ट्रविद्ले पनि यस्ता कुरामा हेक्का राखेनन्।

ऊबेलाका महेन्द्रका सहयोगी र हितैषीहरू भन्छन्– ‘राजा महेन्द्र राष्ट्र र जनताको स्तर उठाउन अहोरात्र काम गर्थे तर उनको गुप्त रणनीति महारानी रत्नलाई पनि थाहा हुँदोरहेनछ।’ २०१७ साल पुस १ गतेको कदमबारे दरबारमा कसैलाई थाहा थिएन। थापाथलीमा नेपाली काँग्रेस निकट तरुण दलको कार्यक्रम भइरहेको बेला सैनिक अधिकृतहरू सुरेन्द्रबहादुर शाह र समरबहादुर कुँवरले तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई ‘हजुर, तुरुन्तै दरबार जानुपर्ने भयो’ भन्दै सेनाको गाडीमा लिएर गए। राजाले जरुरी कामले प्रधानमन्त्रीलाई बोलाए होला भनेर अरूले सहजरूपमा कार्यक्रम गरिरहे। कोइरालालाई सिंहदरबारमा लगेर थुनियो।

कांग्रेस बाहेकका राजनीतिक दलहरूले साँझमा दीपावली गरे। पुस २२ गते नेपालमा बहुदलीय पद्धतिबाट नेपाल र नेपालीको हित नहुने रहेछ भन्दै प्रतिबन्ध लगाइयो। ठूलो हल्लीखल्ली भयो। गुप्तरूपमा भारत, चीन, ब्रिटेन र अमेरिकी राजनीतिक नेताहरूलाई विश्वासमा लिएर कदम चालिएको हुन सक्छ भन्ने धेरैले अनुमान गरे। महेन्द्रले २०१६ चैत २८ गतेदेखि झण्डै साढे तीन महिना विश्व भ्रमण गरेको अभिलेख पाइन्छ। महारानी रत्न र कान्छा छोरा धीरेन्द्रलगायतका केही विश्वासिला मानिस भ्रमणमा गए।

राजाको स्वागत गर्न अमेरिकी राष्ट्रपति आइजनहावर नै विमानस्थलमा पुग्नु चानचुने कुरा थिएन। २०१५ सालको चैतमा अमेरिकी राष्ट्रपतिले राजा महेन्द्रलाई भ्रमणको निम्तो पठाएको थियोे। त्यसअघि नै उनले मस्कोका शासकहरूसँग गुप्त कूटनीतिक सम्वाद गरिसकेको सूचना पाएका कारण चीन–भारतबीच रणनीतिक महत्वको नेपाललाई प्रसन्न पार्नुपर्छ भनेर अमेरिकाले राजा महेन्द्रको भव्य स्वागत गरेको जानकारहरूको तर्क छ।

राजा महेन्द्रको कूटनीति वास्तविकरूपमा असंलग्न थियोे। शक्तिशाली मानिएका सोभियत संघ र अमेरिका तथा दक्षिण एसियाको कूटनीतिमा सन्तुलित रहने कला उनलाई थाहा थियोे। नेपालमा चीन, भारत, अमेरिका, जापान, ब्रिटेन, सोभियत संघ आदि राष्ट्रलाई आर्थिक लगानीका लागि उत्प्रेरित गरे उनले।

अमेरिका भ्रमणमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय पुगेर तत्कालीन महासचिव ड्याग ह्यामरसोल्डलाई भेटे उनले। कलाकार एल्भिस प्रिस्लेलाई ‘म तपाईँको प्रशंसक हुँ’ भन्दा प्रिस्ले खुसी भएको कुरा लेखे, अमेरिकी पत्रकारहरूले।

राष्ट्रपतिले ह्वाइट हाउसको राजकीय पाहुना घरमा राखेर पारिवारिक प्रेम देखाए। भूगोलको कुरा गर्ने हो भने नेपाल अमेरिका भन्दा धेरै सानो छ तर राष्ट्रनायक प्रसिद्ध, सक्षम, तटस्थ र योग्य छन् भने संसारमै इज्जत हुन्छ।

राजा महेन्द्र जति नरम थिए, उति कठोर पनि। इन्द्रराज्यलक्ष्मी परलोक भएपछि २००७ सालमै पिताले उनलाई भारतीय कन्या विवाह गर्न सल्लाह दिए पनि राष्ट्रको गोपनीयता भारत पुग्छ भनेर महेन्द्रले त्रिभुवनको सल्लाह मानेनन्। पहिलेदेखि ठाकठुक थियोे। त्रिभुवनले महेन्द्रलाई युवराज पदबाट च्युत गरेर माहिला छोरा हिमालय शाहलाई युवराज घोषणा गर्ने र महेन्द्रलाई गोर्खा दरवारमा नजरबन्द गर्ने चेतावनी दिएका थिए।

महेन्द्र हरिशमशेरकी छोरी रञ्जना राणा (रत्न) सँग प्रेममा थिए। उनी साली भएकाले दिदीबाट पैदा भएका सन्तानको हेरचाह हुन्छ भन्ने विश्वास थियोे महेन्द्रलाई। त्रिभुवनले नमाने पनि महेन्द्र पछि हटेनन्। विवाह गर्ने खर्च थिएन। ऋण सापटी गरेर धन जुटाए। सामान्य ढंगले विवाह गरे।

‘गोरखापत्र दैनिक’का पूर्वप्रधान सम्पादक तथा कवि कृष्णभक्त श्रेष्ठबाट मैले सुनेको कुरा, ‘महेन्द्र सरकारले मेरा बुबासँग चालीस हजार रुपियाँ सापटी मागिबक्सेको थियो। आर्थिक संकट थियो, उहाँलाई। त्यो बुझेर मेरो बुबाले पैसा दिनुभएको थियोे।’

२००९ साल मंसिर २५ मा महेन्द्र र रञ्जना राणाको विवाह हुने निश्चित भएपछि दुई महारानीसहित राजा त्रिभुवन कलकत्ता गए। छोराको विवाहमा उपस्थित हुन नसक्दा आमाको मन कति पोल्यो होला, अनुमान गर्न सकिन्छ। जनरल नरशमशेरले जीवन–वृतान्त (हेमन्त शमशेरद्वारा सम्पादित) मा लेखेका छन्, ‘बिहेमा सासू बुहारीको चुल्ठो जोड्ने बेला मेरी पत्नीलाई राजा महेन्द्रकी मुमाका रूपमा चुल्ठो जोडिएको थियोे।’

राजा त्रिभुवन राणा विरोधी र महेन्द्र (युवराज) नेपालमा भारतीय दबाब प्रवेश गर्न नदिने पक्का राष्ट्रवादी थिए। केही कुरामा बाबु छोरामा खटपट हुन्थ्यो भन्दै दरवारमा लामो सेवा गरेका सुरेन्द्रमान प्रधान भन्थे, ‘राष्ट्रिय हितमा उहाँहरूको धारणा फरक थिएन। त्रिभुवन, महेन्द्र र वीरेन्द्रको सेवामा झण्डै पैँतालीस वर्ष दरबारको वातावरण बुझेका प्रधानका अनुसार, महेन्द्र सरकारको गुप्त रणनीति अत्यन्तै गुप्त रहन्थ्यो। उहाँ ‘म्यान अफ एक्सन’ हो। वीरेन्द्र सरकार सबैलाई सोधिबक्सन्थ्यो। तसर्थ, केही सचिवले विदेशीलाई सूचना दिएर उहाँलाई घेरामा पारेको मलाई थाहा छ।’

त्रिभुवनले स्विट्जरल्यान्डमा उपचारका क्रममा प्राण त्यागेपछि महेन्द्रको शिरमा चुनौतीको पहाड देखियो। राष्ट्र आर्थिकरूपमा जर्जर थियोे। एकातिर आन्तरिक र अर्कोतिर बाह्य दबाबको पहाड थियो। त्रिभुवन र प्रम मातृकाप्रसाद कोइरालालाई थर्काएर भारतले नेपाल–चीन सिमानामा आफ्नोतर्फबाट सैनिक चेकपोस्ट राखेको थियो। त्यो २०२६ सालमा महेन्द्र र प्रधानमन्त्री कीर्तिनिधि बिष्टको प्रयत्नले हटाइएको थियोे।

२००७ सालपछि राजा त्रिभुवनका राजनीतिक र प्रशासनिक सल्लाहकार बनाएर भारतले पठाएको गोविन्दनारायण सिंह ‘उपराजा’ जस्तो ढलीमली गरिरहेका थिए। उनलाई महेन्द्रले बोलाएर ‘अब नेपालबारे हामी नै अन्तिम निर्णय गर्छाैँ, तपाईँ घर जानुहोस्’ भनेर बिदा दिए।

गोविन्दले भारतबाट ल्याएर नेपालमा तीन सय भन्दा धेरै कर्मचारी भर्ना गरेका थिए। बाछाबाछी माउका पछि लागेर लुरुलुरु हिँडेझैँ उनीहरू पनि धपाइए। सुन्दा पनि उदेकलाग्दो, नेपालको राष्ट्रिय सुरक्षासम्बन्धी बैठक दिल्लीमा गर्न थालिएको थियो। नेपाल भारतीय प्रान्त जस्तो हुन लागेको थाहा पाएपछि महेन्द्रले राष्ट्रिय चरित्र बचाउन अनेक कदम चाले। तर उनले के गर्दैछन् भनेर महारानीसमेतलाई थाहा नहुने कुरा पुराना कर्मचारी बताउँछन्। मस्को भ्रमणमा जाँदा राजधानी छेउको भोल्गा नदीमा जलबिहार गर्दै रात्रिभोज र त्यहाँका शक्तिशाली शासक खुस्चेभको वार्ताको प्रबन्ध मिलाइएको रहेछ।

वार्ता सुरु गर्दा महेन्द्रले महारानी रत्नलाई महिलाहरू अर्को ठाउँमा बसे हुन्छ भनेर सानो पानीजहाजको अर्को कोठामा पठाएको भ्रमणदलका सदस्यले सुनाएका थिए।

सन् १९५८ मार्चमा प्रधानमन्त्री भएका निकिता खुस्चेभको कृषि नीतिबाट महेन्द्र धेरै प्रभावित भए। थोरै जमिनमा धेरै उत्पादन गर्ने प्रविधिको प्रयोग गर्दै थियो, सोभियत संघले।

महेन्द्रले मस्को यात्रा गरेपछि वासिङ्टनबाट उनलाई निम्तो आएको थियोे। पुराना कूटनीतिज्ञ यदुनाथ खनालले भनेको सम्झिन्छु, ‘कूटनीतिमा कहिलेकाहीँ सासूलाई हप्काएर बुहारी तर्साउने गरिन्छ।’

Share
0Shares
Advertisment