भूकम्पले थलिएको जापानमा गुनको पैँचो तिर्दै नेपाली

Share
0Shares

भूकम्प’ शब्द आफैंमा डरलाग्दो छ । भूकम्प भन्ने बित्तिकै नेपालीमात्र होइन सबै देशका नागरिकलाई एउटै देशको नाम याद आउँछ । त्यो देशको नाम हो जापान । किनकी जापानलाई ‘भूकम्पको देश’ को उपनामले चिनिन्छ ।

जापान प्रविधि, विकास निर्माण र मानव सभ्यतामासमेत अगाडि छ । जापानलाई विश्वको ठूलो अर्थतन्त्रको रुपमा लिइन्छ । यहाँका नागरिकहरूले ठूला-ठूला प्राकृतिक विपत्तिको सामना गरेका छन् ।

जापानमा हरेक पाँच वर्षमा ७ रेक्टरमाथिका भूकम्प आउँछ । सानातिना भूकम्प त वर्षेनि र महिनैपिच्छे गइरहेका हुन्छन् । त्यसैले यहाँका मानिसहरू भूकम्प जाँदा पनि आतिदैनन् । भूकम्पकीय जोखिमसँग जुध्ने तयारीमा जापान संसारकै चुस्त मानिन्छ । अमेरिका र युरोपेली मुलुक सरहकै समृद्ध राष्ट्रको सूचीमा रहेको जापानले भुइँचालोको तयारीका मामिलामा आफूलाई अब्बल साबित गरिसकेको छ ।

मानव इतिहासमा सबैभन्दा घातक भूकम्पमध्येको एक मानिएको तोहोकु भूकम्प (सन् २०११ – ९‍‍‍‍.१ म्याग्निच्युड) हो । यो भूकम्प जापानलाई निकै महँगो साबित भयो । भूकम्पलगत्तै आएको सुनामीका कारण १५ हजारले ज्यान गुमाए । करिब एक लाख भवन ध्वस्त भए । फुकुसिमा आणविक भट्टीमा क्षति पुग्यो । कुल २ खर्ब, ३५ अर्ब डलरको नोक्सानी भयो । यसमा भूकम्पले भन्दा सुनामीले बढी असर पुर्‍याएको थियो ।

तोहोकु भूकम्प पछि जापानले पुनः २०१६ र २०२४ जनवरी १ मा  ईशिगावा प्रिफेक्चरको नोदो प्रायद्वीपमा ठूलो भूकम्पको सामना गर्नुपर्यो ।

जनवरी १ मा गएको भूकम्पमा परी २ सय ३६ जनाको  ज्यान गएको छ । केही सम्पर्कविहीन, एक हजार बढी घाइते र हजारौं विस्थापित भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । भौतिक क्षतिको लागत १७ अर्ब ६० करोड अमेरिकी डलर पुगेको जापानी सरकारले जनाएको छ ।

भूकम्पले भवनहरू, विद्यालय, सडकहरू विनाश गरेको छ । पीडितहरूको उद्धार र राहतमा सरकार लागे पनि सामान्य हुन सकेको छैन् । पीडितको व्यवस्थापन मुख्य काम बाँकी नै छ ।

त्यो बेलामा स्थानीय मौसमले समेत साथ दिएन । लगातार परेको हिमपात र चिसो हावाका कारण पीडितको उद्धार र राहत व्यवस्थापनमा समस्या पर्यो ।

खाना, खानेपानी, सञ्चार, विद्युत्, सडक सञ्जालको नियमितता अझै हुन सकेको छैन । दैनिक अत्यावस्यक सामग्रीहरूको असहजता भइरहेको छ ।

जापानमा भूकम्प गएसँगै विभिन्न देशहरूले सहयोग गर्ने क्रम जारी छ । यसअघिका भूकम्प जाँदा पनि नेपाली समुदाय, एनआरएनए जापान, जापानस्थित नेपाली दूतावासले सहयोग गरेका थिए । अहिले पनि भूकम्प पीडितहरूलाई एनआरएनए जापानले सहायता प्रदान गरेको छ ।

२०११ मा तोहोकु क्षेत्रमा गएको महाभूकम्पपछिको उद्धार तथा राहत वितरणमा नेपाली सामुदायले अग्रणी भूमिका निर्वाह गरेका थिए । मानवीय कार्यलाई निरन्तरता दिँदै एनआरएन जापानले यसपटक पनि भूकम्प प्रभावित होकुरिकु क्षेत्र र निगाता प्रान्तमा पुगेर खाना र अस्थायी शौचालय सहयोग गरेका छन् ।

जापानमै लामो समयदेखि बस्दै आइरहेका जिज्ञान कुमार थापाका अनुसार वाजिमा र सुजुसीका शिविरमध्ये दुई वटा शिविरमा रहेका ७२५ जना जापानी नागरिकलाई खाना खुवाउनुका साथै एनआरएन जापानले चार वटा अस्थायी शौचालय हस्तान्तरण गरेको थियो । यो समाचार जापानमा सञ्चारमाध्यममा निकै चर्चाको विषय बनेको छ ।

नयाँ वर्षले उल्लास र खुशी लिएर आउँछ । तर जापानिजहरूका लागि भने कालो रात बनेर आएको थियो ।  उनीहरूका लागि डरलाग्दो र घातक बन्यो ।
७.६ म्याग्निच्यूडको भूकम्पले जापानको होकुरीको केही भागलाई तहसनहस बनायो  ।

जापानले यसभन्दा अगाडि विभिन्न समयमा आएको भूकम्पलाई सामना गरिसकेको छ । हालसम्म ८ रेक्टर माथिका २० भन्दा बढी भूकम्प मापन गरिएको छ । भूकम्पका भिडियोहरू सामाजिक सञ्जालमा हेर्दा कहालीलाग्दो छ । अझ भोग्नेलाई कस्तो भएको होला हामी आफैँ अनुमान गर्न सक्दैनौं ।

जापान र नेपालबीचकौ पुरानो दौत्य सम्बन्ध छ । जापानिजहरू नेपाललाई धेरै सम्मान र माया गर्छन् ।  पछिल्लो समय अध्ययन गर्न जानेको संख्या उत्तिकै मात्रामा छ ।  नेपाली समुदायको जापानमा बाक्लो उपस्थिति छ । जापान रोजगारी तथा उच्च शिक्षा लिनका लागि हजारौं नेपालीको गन्तव्यस्थल बनेको छ । जापानभित्र घट्ने घटना वा आइपर्ने संकटले जापानिजलाई मात्रै होइन नेपाली समुदायलाई पनि असर गर्छ । जापानले पछिल्लो समयमा नेपालीहरूलाई विश्वास गरेर आफ्नो देशको कार्यव्यवस्था जिम्मा लगएको छ । नेपाली कामदारलाई बढी प्राथमिकता दिएको छ ।

लामो समयदेखि जापानमा बसिरहेका नेपालीहरूले जापानिजलाई आफ्नै साथी सम्झेर सहयोग गरेका छन् । नेपालीहरूले आफ्नो सम्बन्ध मजबुद बनाएका छन् । भूकम्प पीडितकोदुखमा साथ दिएर नेपालीको परिचयलाईसमेत थप उँचो र फराकिलो बनाए । यो जापान बस्ने अन्य मुलुकका नागरिकका लागि पनि उदाहरणीय काम हो । नेपाली समुदायले जापानी भूकम्प पीडितको उद्धारमा समेत सहयोग गरेको जापानमा रहेका नेपालीहरू बताउँछन् ।

भूकम्प जस्ता प्राकृतिक विपत्तिसँग जुधिरहेका जापानिजहरुलाई ठूलो सहयोग गर्न नसकेपनि नेपाली युवाहरुले भूकम्प प्रभावित क्षेत्रमा गएर पीडितहरूलाई खाना खुवाए । सकेको सहयोग गरे । यसले नेपाली र जापानिजबीच आत्मीय र सुमुधुर सम्बन्ध छ भन्ने कुरालाई प्रमाणित गर्छ । यो कुरा जापानमा रहेका अन्य मुलुकका नागरिकले पनि सिक्न जरुरी छ ।

नेपाल र जापानबीच मित्रताको इतिहास लामो छ । सन् १९५६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै जापान सरकारले नेपाललाई विभिन्न प्रकारका सहयोग गर्दै आएको छ ।

जापानले नेपालमा २०७२ मा गएको महाभूकम्पमा धेरै सहयोग गरेको थियो । जापान सरकारको औपचारिक विकास सहायता प्रदान गर्ने सहयोगी निकाय जाइका हो । जाइकाले नेपालमा आफ्नो सहयोग ५० वर्षअघि शुरु गरेको थियो । त्यसबेलादेखि नै जाइकाले नेपालको विकासमा बृहत्तर सहयोग गर्ने उद्देश्य राखी यातायात, ऊर्जा, खानेपानी तथा सरसफाइदेखि लिएर उड्डयन, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना, कानुन, सुशासन र कृषि क्षेत्रसम्मका विकास प्रयासहरूमा सहयोग गर्दै आएको छ ।

विसं. १९५८ (सन् १९०२) मा नेपालले खनिज, यान्त्रिकी, खरखजाना प्रविधि तथा कृषि क्षेत्रबारे अध्ययन गर्नका लागि आठ जना नेपाली युवाहरूलाई जापान पठाएको थियो ।

यो क्रम आजसम्म रोकिएको छैन । १९५८ साल बाट सुरु भएको यो सम्बन्ध आज १२० वर्ष बित्दा पनि उस्तै छ । अहिले नेपालीहरू अध्ययन र रोजगारीका लागि भन्दै जापान गइरहेका छन् । यसको संख्या दिनानुदिन बढिरहेको छ ।

जापानमा विपतको सामना गर्न सबैलाई तालिम दिएर राखिएको हुन्छ । अस्पताललाई तयारी अवस्थामा राखिन्छ । उद्धार टोलीलाई तालिम दिइरहेको हुन्छ । विद्यालयमा साना बालबालिालाई पनि भूकम्प आउँदा के गर्ने के नगर्ने भन्ने सिकाइएको हुन्छ । विपति पर्दा सरकार पक्ष वा विपक्ष सबै एक भएर उद्धार र राहतमा जुट्ने गर्छन् । यो यहाँको राम्रो राजनैतिक संस्कार हो ।

सधैं चमत्कारीपूर्ण आविष्कार गर्ने जापान २०११ र २०१६ को महाभूकम्पको दुःखबाट यसरी उठ्यो कि मानौँ, त्यो कुनै जादु भन्दा कम थिएन । भूकम्प पुनर्निमार्णको काम जापानले तीव्र गतिमा अघि बढायो । पूर्वाधार तथा सहरको निर्माण जस्ताको तस्तै मात्र होइन, पहिलेभन्दा राम्रो बन्यो । जसको प्रमाण अहिलेको तोहोकु क्षेत्र हो ।

Source: Ekagaj

Share
0Shares
Advertisment