क्यान्सरलाई जितेर सचेतना फैलाइरहेकी बन्दना

Share
0Shares

चितवन। करिब दुईदशक महिला शसक्तिकरण र लैंगिक समानताका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्था मार्फत महिला हक अधिकारको क्षेत्रमा काम गर्नुभएकी भरतपुर १० निवासी बन्दना खाँडलाई २०७२ सालको भदौमा पहिलो स्टेजको स्तन क्यान्सर पुष्टि भयो । करिब ७ महिनाको उपचारप्रश्चात उहाँले क्यान्सरलाई जित्नुभयो । हाल उहाँ आफूलाई क्यान्सर विजेताको रुपमा चिनाउनुहुन्छ । आफूले क्यान्सर जितेर नयाँ जीवन पाएपछि क्यान्सर रोकथाम र सचेतनाको क्षेत्रमा विगत ८ वर्षदेखि काम गर्दै आउनुभएकी क्यान्सर सचेतना अभियान्ता खाँडसँग  गरिएको कुराकानीको सम्पादित अंश :

२०७२ साल भदौमा मलाई पहिलो स्टेजका स्तन क्यान्सर पहिचान भयो । भरतपुरको आशा अस्पतालमा सर्जरीप्रश्चात करिब ७ महिना भरतपुरको विपी कोइराला मेमोरियल अस्पतालमा स्तन क्यान्सरको उपचार चल्यो । सोही वर्षको फागुनमा ६ वटा साइकलको केमोथेरापी पूरा भएपछि म पूर्णरुपमा क्यान्सरमुक्त भएर सक्रिय जीवन बिताइरहेको छु ।

क्यान्सर पुष्टि भएपछि मलाई कहिल्यैपनि मृत्युको सोच आएन् । म बच्छु म बाच्नुपर्छ, मलाई केहीँ पनि हुँदैन भन्ने आत्मविश्वास सदैव मेरो मनमा रह्यो । उपचारमा जाँदा क्यान्सर पनि अन्य सामान्य रोग जस्तै हो भन्ने सोच हुन्थ्यो मेरो । हाम्रो समाजमा क्यान्सर भन्नेबित्तिकै भयावह मृत्यु भन्ने, सुन्ने गरिन्छ । परिवार व्यक्तिले पनि त्यसरी लिएको हुन्छ तर उपचारको दौरानमा कहिल्यैपनि मलाई त्यस्तो सोच पटक्कै आएन् । क्यान्सर पहिचान हुने बेलामा म एउटा संस्थामा पोज्रेक्ट म्यानेजरको रुपमा कार्यरत थिएँ । क्यान्सर उपचारको क्रममा पनि म निरन्तर रुपमा आफ्नो काममा खटिरहेँ । अफिसको काम गर्दै गएँ, फिल्डमा खटिरहेँ ।

क्यान्सर जितेपछि क्यान्सर रोकथाम अभियानमा लाग्छु भन्ने उपचारकै क्रममा मलाई महसुस भएको थियो । भरतपुरको क्यान्सर अस्पतालमा उपचारकै दौरानमा क्यान्सरमुक्त भएपछि पाएको नयाँजीवनलाई महिलाको स्वास्थ्य र क्यान्सर रोकथामको लागि सचेतना गर्ने अभियानमा केही गर्नुपर्छ भन्ने महसुस हुन्थ्यो । करिब दुईदशकयता दुर्गम तथा सुगम ठाउँमा महिला शसक्तिकरण, लैंगिक समानता र पछाडि परेको वर्ग समुदायको क्षेत्रमा काम गरेको तिता मिठा अनुभव थियो । त्यहीँ अनुभवकै कारणले पनि होला क्यान्सर अस्पतालमा उपचारमा लाग्दा त्यतिखेर आफूजस्तै उपचारमा अन्य महिलाहरुसँग नजिक हुन्थेँ । उनीहरुका पीडाका कुरा सुन्थे । क्यान्सरको उपचारमा आएका विशेषगरी तराई क्षेत्रका महिलाहरुलाई भेटेर उहाँहरुका पीडा, रोदन अनुभवहरु बुझ्थेँ, सुन्थेँ । त्यसबेला मलाईँ यो क्षेत्रमा केही गर्नुपर्छ भन्ने लाग्दथ्यो ।

२०७२ भदौमा मलाई क्यान्सर देखियो । त्यसलाई स्विकारेँ, उपचारमा गएँ र केमोथेरापीको साइकल पूरा भएपश्चात २०७३ को भदौमा तीजको अवसर पारेर मेरो अभियानको पहिलो कार्यक्रम भरतपुरमा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा क्यान्सर अस्पतालकै हलबाट चितवन जिल्लाका सरोकारवालाई सञ्चारमाध्यम पत्रकार सबैको सहभागितामा सचेतनामूलक अन्तरक्रिया ग¥यौं । क्यान्सर जित्नेहरुले प्रेरणादायी कथा साझा पनि ग¥यौं । त्यसपछि क्यान्सर रोकथाम अभियानमा निरन्तर लागिरहेको छु ।

हामीले दुर्गम क्षेत्रमा विशेषगरी क्यान्सर परीक्षण शिविरहरु र क्यान्सर सचेतनाका लागि अभिमुखिकरण कार्यक्रमहरु निरन्तर गर्दै आइरहेका छौं । मलाई क्यान्सर पहिचान नहुँदासम्म स्वास्थ्यको क्षेत्रमा काम गर्ने मेरो कुनै सोच थिएन । जब मलाई क्यान्सर पहिचान भयो यससम्बन्धीका अध्ययन अनुसन्धान खोजेर पढ्ने र आफ्नो अनुभवसहितका लेखहरु लेख्न थालेँ । क्यान्सर रोकथाम र सचेतना अभियानमा लाग्दै गर्दा अझै जीवन अमूल्य रहेछ जस्तो लाग्यो । अहिले पनि धेरै ठाउँबाट दिदीबहिनीहरुले सामाजिक सञ्जालमा मेसेज फोनहरु गरेर क्यान्सरबारेका प्रश्नहरु, चेकजाँचबारे मेरो अनुभवबारे सोधिरहनुहुन्छ । यो कुराले जहिल्यै पनि मलाई थप काम गर्न हौसला दिइरहन्छ ।

उपचारको क्रममा अरु क्यान्सर प्रभावितलाई भएको पीडा पनि देखेँ । स्तन क्यान्सरसँगै पाठेघरको मुखको क्यान्सरलाई जितेर सक्रिय जीवन बिताइरहेका महिला दिदीबहिनी साथीहरु पत्ता लगाएर क्यान्सर सचेतनाको अभियानमा जोड्दै गइरहेको छु । हामीले क्यान्सर जितेको उत्साहको कथाहरुसँगै बिरामीको बेड बेडमा गएर मनोपरामर्शहरु दिन थाल्यौं । क्यान्सर हुँदैमा मृत्यु हुँदैन । उपचारप्रश्चात निको भएर सक्रिय जीवन बाँच्न सकिन्छ है हामी स्वयम यसको उदाहरण छौं भनेर परिवारलाई भेटेर हौसला पनि दिन थाल्यौं । सफलता उत्साह र पीडाको कथा सुनाउँदा कतिले मेरो सक्रिय जीवन देखेर पत्याउनुहुँदैनथ्यो । क्यान्सर उपचारको क्रममा हुने शारीरिक पीडा, अप्ठ्यारा खान मन नलाग्ने अरु क्रियाकलापमा मन नलाग्ने रगतको कमी हुने यी यस्ता समस्याहरु सबैलाई हुन्छ मलाई पनि भएको थियो । तर मैले ती सबै समस्यालाई सामान्य रुपमा लिंदै उपचारमा गएँ । क्यान्सर उपचारमा हुने अप्ठ्यारालाई अन्य दिनानुदिन हुने समस्या अप्ठ्यारासँग तुलना गर्दै आत्मसाथ गरेर अगाडि बढेका कथा अरु बिरामीलाई भन्न थालेँ । मनोसामाजिक सहयोगमा परिवारको साथ महत्वपूर्ण हुन्छ भनेर बुझाउन थालेँ । विवाहित महिलाहरुको लागि श्रीमानको साथ सहयोग, माया, आत्मियता अझै महत्वपूर्ण छ भनेर बताउन थालेँ, जुन मैले परिवारको साथ र माया पाएको अनुभव थियो ।

यसरी सकरात्मक रुपमा बताउँदै जाँदा अरु क्यान्सरबाट जुधिरहेका परिवारलाई मनोपरामर्शको हिसाबले धेरै सहज बनाएको पनि मैले पाएकी छु । क्रमशः उहाँहरु कतिपय आफ्नो क्यान्सरको उपचारपश्चात क्यान्सर रोकथामको अभियानमा जुट्दै जानुभएको छ । यसरी हामी अभियानमा निरन्तर छौं । धेरै क्रियाकलापहरु गाउँठाउँमा गरेका छौं । भरतपुरको वीपी कोइराला क्यान्सर अस्पतालको प्राविधिक सहयोग रहेको छ । आशा अस्पताल डा. शारादा कुँवर, डा गंगा सापकोटा लगायतको टीमले पनि यो अभियानमा सहयोग गरिरहनुभएको छ ।

यो अभियान सञ्चालन गर्दैगर्दा धेरै चुनौतीहरु पनि भोग्नुप¥यो । क्यान्सर रोकथाम र सचेतनाका लागि अभियानमा क्यान्सर विजेताहरु जुट्दै जाँदा बजेटको अभाव प्रमुख चुनौती पनि हो । एउटा स्वास्थ्य शिविरको लागि कम्तीमा निःशुल्क औषधीसहित ५० हजार जति खाँचो हुन्छ । हामी एउटा सेवाको भावले विभिन्न स्वास्थ्य संस्थासँग मिलेर काम गर्दा स्वयंसेवकको हिसाबले काम गर्दै गर्दा बजेट अभाव धेरै नै महसुस हुन्छ । स्वास्थ्य शिविरको खाँचो गाउँठाउँमा विशेषत देख्दादेख्दै पनि कतिपय अवस्थामा गर्न सकिंदैन । संघीय, स्थानीय सरकारले यसलाई महत्व दिएर बजेट छुट्याउन आवश्यक हुन्छ । अहिले स्तन र पाठेघरको क्यान्सरको समस्या विवाहित महिलामा मात्र नभएर भर्खरका किशोरीदेखि लिएर वृद्ध उमेर समूहका महिलामा पनि देखिएको छ । त्यसकारण पनि सचेतना र स्वास्थ्य शिविरका कार्यक्रमहरु अति नै जरुरी भएकाले यसलाई राज्यले पनि महत्वका साथ हेरोस् भन्ने हाम्रो अनुरोध हो ।

Source:Kantipurhealth

Share
0Shares
Advertisment