फैलिँदै बाराही ग्रुप : गेस्ट हाउस हुँदै पाँचतारे होटलसम्मको यात्रा

Share
0Shares

मेघौली(चितवन)। सन् १९७९ मा प्याराडाइज गेस्ट हाउसबाट व्यावसायिक यात्रा सुरु गरेको बाराही ग्रुपले आक्रामक रुपमा आफूलाई विस्तार गर्दै लगेको छ। स्थापनाको चार दशक  टेकिसक्दा गेस्ट हाउसबाट बाराही ग्रुपको रुपमा विस्तार भएर अहिले पाँचतारे लक्जरी होटल निर्माण गरी सञ्चालन तयारीमा पुगेको हो।

१० वटा कोठाबाट व्यवसाय सुरु गरेका बाराही ग्रुपका अध्यक्ष हरिप्रसाद पौडेलले करिब ४ दशकको हस्पिटालिटी यात्राका आफ्ना विगत संघर्षबारे जानकारी गराए ।

बुबाको व्यापार गराइबाट पाठ सिकेर जीवनमा कमाएको पैसालाई जोगाउनुपर्ने अठोटसहित अगाडि बढेका पौडेलले अहिले ५ वटा होटल लिड गरिरहेका छन् भने ३ वटा ठूला होटल सञ्चालन तयारीमा छ।

सुरुआती लगानी यकिन नभएको जानकारी दिएका पौडेलले १९९३ मा प्याराडाइजमा लगानी विस्तार गरी बाराही पोखरा बनाउँदा भने २५ लाख रुपैयाँ ऋण लिएका थिए। २५ लाख ऋण लिएर प्याराडाइजलाई विसं २०५० मा एसीसहितको १२ कोठाको बनाएका थिए। त्यसबेला एसी कोठाको मूल्य प्रतिदिनको ७५ देखि १०० रुपैयाँसम्म लिने गरेको अध्यक्ष पौडेलको स्मरण गर्छन्।

पोखरामा त्यो बेला फिस्टेल लज सञ्चालनमा आइसकेको थियो। ‘मलाई पनि मेरो होटल फिस्टेल लजजस्तै बनाउन पाए हुन्थ्यो भन्ने चाहना आइरहन्थ्यो,’ अध्यक्ष पौडेलले भने, ‘कमाउँदै लगानी बढाउँदै जाँदा अहिले सपना पूरा भयो।’

आफूले होटल म्यानेजमेन्टसम्बन्धी कुनै अध्ययन नगरे पनि जेठो छोरा विप्लवलाई भने त्यससम्बन्धी अध्ययन गराए। सोही कारण उनलाई होटलमा आफ्नो साम्राज्य बनाउन सहज बनायो। ‘हुन त विप्लवले पनि मैले सुरु गरेको व्यवसायलाई नै जोड दिएपछि सहज भएको हो,’ अध्यक्ष पौडेलले भने, ‘अहिले जेठो र कान्छो वैभव दुबैले लिड गरिरहेका छन्।’

अहिले बाराही ग्रुपले पोखराबाट आफ्नो व्यवसाय विस्तार गर्दै मुख्य तीन सहर चितवन र काठमाडौंमा समेत आफ्नो प्रभुत्व जमाइसकेको छ। पोखरामै सराङकोटमा सराङकोट माउन्टेन लज र आवास पोखरा सञ्चालनमा ल्याएका छन्। यस्तै, चितवनको मेघौलीमा लक्जरी रिसोर्ट बाराही जंगल लज सञ्चालन गरिरहेका छन्। सोही ग्रुपले संघीय राजधानी काठमाडौंमा समेत बाराही काठमाडौं सुरु गरिसकेका छन्।

केही वर्षभित्रै सञ्चालनमा ल्याउने गरी बाराहीले पहिलो पाँचतारे लक्जरी होटल पोखराको पामेमा बाराही सेदी निर्माणाधीन रहेको छ। यस्तै, केही वर्षभित्रै भैरहवामा बोधी बाराही र मुस्ताङमा बाराही कागबेनी होटल सञ्चालन गर्ने घोषणा गरिसकेका छन्।.

बाराही सेदीमा ६ अर्ब र बोधी बाराहीमा ४० करोड रुपैयाँ लगानी हुने अध्यक्ष पौडेलले बताए। यद्यपि, प्रोजेक्ट पूरा हुँदासम्म यो रकम बढ्न सक्ने बताउँदै हालसम्म कति लगानीमा तयार हुन्छ भन्ने यकिन हुन नसक्ने उनको भनाइ छ।

गेस्ट हाउसबाट सुरु गरेको व्यवसायलाई दुई छोराको दरिलो साथका कारण अहिले लक्जरी रिसोर्ट सञ्चालन गरिरहेको र केही वर्षभित्रै पाँचतारे लक्जरी होटल सञ्चालन गर्ने अवस्थामा पुग्नुलाई आफ्नो अथक प्रयास र निरन्तताको कारण सफलता मिलेको उनी बताउँछन्।

आन्तरिक एवं बाह्य पर्यटकले खोज्ने हरेक प्रकारका होटलका सुविधा आफ्नो ग्रुपले दिने उद्देश्यका साथ काम अगाडि बढाइरहेको बताउँदै आफ्नो अभियान निरन्तरता रहने उनको भनाइ छ। उमेरले ७२ वर्ष पुगिसकेका अध्यक्ष पौडेल अहिले नै ֙अवकाश हुने मनस्थितिमा भने नरहेको बताउँछन्। ‘अहिले पनि पोखरामा रहेको होटलमा दैनिकजसो पुगिरहेको हुन्छु,’ अध्यक्ष पौडेलले भने, ‘छोराहरुको आइडिया र प्रस्तावलाई सहर्ष स्वीकार्दै अगाडि बढाउन प्रेरित गरिरहन्छु।’

Source: Capitalnepal

Share
0Shares
Advertisment