‘समाजको क्यान्सर’ हटाउन डटिरहेकी अमृता

Share
0Shares

काठमाडौँ — अचेल उनका हातमा पहिलेझैं बल छैन, त्यसै त्यसै काँप्छन् । न शरीरमा त्यो स्फूर्ति छ । कतिसम्म भने लेखिका अमृता लम्सालका सुन्दर कपालसमेत ठुटै हुने गरी काटिएका छन् । एक वर्षदेखि स्तन क्यान्सरसँग चुपचाप लडिरहेकी अमृताको सामाजिक जीवनमा भने त्यसले कुनै असर पार्न सकेको छैन । यो असह्य वेदना र घातक बिमारीका बाबजुद अमृताले लेखपढ गर्ने आफ्नो साबिकको दिनचर्यालाई बरकरारै राखेकी छन् ।

लैंगिक हिंसा र सार्वजनिक भएका सामाजिक बेथितिविरुद्ध औंला ठड्याउने कामलाई किञ्चित कम हुन दिएकी छैनन् । गौशाला–२६ हरूको पक्षमा उभिँदा सामाजिक सञ्जालहरूमा उनले दिनहुँ गाली खाइरहन्छिन्, जो क्यान्सरको औषधिभन्दा पनि तीतो हुने गर्छ । र पनि, अमृताको हौसलालाई रोग र गाली दुवैले गलाउन सकेका छैनन् । ‘वास्तवमा भन्नुहुन्छ भने लेखपढ र अन्यायको सामाजिक पहरेदारी मेरा असली औषधि हुन्,’ अमृता भन्छिन्, ‘यी काममा लाग्दा म आफ्नो निजी दुःखाइबाट सजिलै बाहिर निस्किन्छु ।’

यो कष्टप्रद क्षणमा पनि अमृता महिनामा दुई लेख लेख्छिन् । पत्रपत्रिकाको नियमित अध्ययन त अम्मलजस्तै भइहाल्यो । क्यान्सरले जीवनका सबै किसिमका दौडधुपबाट उनलाई छुट्टी दिएको छ । त्यसको उपयोगमा अचेल उनी सामाजिक सञ्जालहरूमा मनग्यै आँखा दौडाउन सक्छिन् । परिणामतः एक भर्चुअल संसारमा उनको उपस्थिति बाक्लो भएको छ, जसले कहिल्यै नचिनेका स्त्रीद्वेषी विचार बोकेकाहरूलाई पनि गाली गर्न बाध्य पार्ने गरी बेलाबेलामा तिलमिलाइरहन्छ ।

गत वर्षको कात्तिक २४ गते स्तन क्यान्सरको सर्जरी गरेयता उनी शिक्षण अस्पतालका डाक्टरको नियमित परामर्शमा छन् । सर्जरीको डेढ महिनापछि सुरु भएको किमो थेरापी चैतसम्म टुंगिँदा उनको शरीर कमजोर भएको छ । कतिसम्म भने, मोबाइल ब्याङ्किङमा जरुरत पर्ने डिजिटल औंठाछापका लागि स्क्रिनमा एक क्षण औंला स्थिर राख्न पनि नसक्ने दुर्बल क्षणले उनलाई घेरिरहेका छन् । ‘म मृत्युलाई नजिकबाट हेरिरहेकी छु, एक दिन मर्न पर्छ भनेर हजार पटक भनेँ र सुनेँ हुँला तर मर्न लागियो भन्ने सम्झँदा मात्रै पनि मुटु काँप्ने रहेछ,’ हालैको एक मध्याह्न मित्रपार्कस्थित उनी बस्ने अपार्टमेन्टको पार्कमा ठिहीको सास्तीलाई पारिलो घाममा कटाउने प्रयत्न गर्दै अमृता बोलिन्, ‘आत्मबलले जितेर मात्रै हो, केही भएको छैन भनेर म हिँडिरहेकी ।’

क्यान्सरले थला पार्दै लगिरहेका बेला गत वर्ष उनको पुस्तक प्रकाशित भएको थियो– ‘मिडिया, महिला र म’ । ‘भोलिपल्ट सर्जरी थियो, परिणाम जे भए पनि पुस्तक नमरोस् भन्ने लाग्यो र म सम्पादक विमल आचार्यकोमा गएर पाण्डुलिपिको अन्तिम तयारी भन्दै उपलब्ध भएका सबै विवरण र जानकारी बुझाइदिएँ,’ लरबरिन थालेका जिब्रोबाट बडो मुस्किलले काँप्दै गरेका अमृताका लबज भ्निरहेका थिए, ‘त्यसपछि अप्रेसन भयो र उपचार अहिले पनि जारी नै छ ।’ शल्यक्रियापछि किमोथेरापी गर्ने पालो आयो । घाउ नसुकी किमो दिन हुन्न भन्ने उनलाई त्यसै बेला थाहा भयो । घाउ सुकेपछि किमो दिन खोज्दा प्लेटलेट्स चाहिने मात्रामा भन्दा निकै घट्यो । त्यसलाई फेरि उही अवस्थामा ल्याउन इन्जेक्सन दिए डाक्टरले, जसको घातक असरले शरीरलाई भुइँचालोले हल्लाएको घरजस्तै जीर्ण बनायो । ‘इन्जेक्सन लगाएपछि जीउ कतिसम्म दुख्थ्यो भने पाइतालाबाट गुलेली हानेर टाउकामा पुगेजस्तो हुन्थ्यो,’ दुखाइको सम्झनाले अमृताका आँखा बन्द भए, ‘चौबीसै घण्टा फित्रिक फित्रिक पार्ने गरी शरीर दुख्दा न म जाग्न सकेँ, न निदाउन नै ।’

यसरी घातक इन्जेक्सन ९ पटक लगाएर उनी आठ साइकल किमोथेरापीबाट गुज्रनुपर्‍यो । थिलथिलो भएको शरीरमा अब रेडियो थेरापी गर्ने सुझाव दिएका थिए उनको उपचारमा संलग्न एक अङ्कोलोजिस्टले । क्यान्सरकै अरू दुई डाक्टरले भने यो जरुरी नभएको राय दिएकाले अमृता बहुमतको कदर गर्न पुगिन् । ‘बिरामीले उपचार गर्दिनँ भन्न पाइन्छ ?’ भन्दै डाक्टर रिसाए । र पनि, रेडियो थेरापीलाई उनले अस्वीकार गर्दै आइरहेकी छन् । हातहरू किन चलिरहेका छैनन् भनेर हालै उनी स्नायुविद्कोमा पुगिन् । डाक्टरले उनको अवस्थाको निरीक्षण गरे र ‘हातहरूमा बल नै छैन रहेछ’ भने । त्यसले अमृतालाई थप पीडा भने दिएको छैन । ढिलोचाँडो व्यहोर्नुपर्ने एक अनिवार्य नियति ठानेर शरीरको जीर्ण अवस्थाबाट उनी कुपित नभई पूर्ववत् लेखपढ र सामाजिक पहरेदारीलाई निरन्तरता दिइरहेकी छन् ।

बिमार भएका बेला चिनजानका मात्रै नभएर अपरिचितबाट समेत सहानुभूति खोज्नु मनुष्यको स्वभाव हो । यस्तो बेलामा अमृता भने सामाजिक सञ्जालहरूमा लैंगिक हिंसाका विरुद्ध उभिँदा र सामाजिक विकृतिका बारेमा बोल्दा नित्य नियमित अप्रिय गालीहरू भेट्छिन् (यद्यपि, गाली गर्नेहरूलाई उनको स्वास्थ्य अवस्थाको जानकारी भने छैन) । के यसले उनलाई दुखाउँदैन ? ‘ती गालीले दुखेको भए मैले खबरदारी गर्न उहिल्यै छाडिसक्थेँ,’ अमृता भन्छिन्, ‘बरु, गाली खाने बानी परिसक्यो ।’

जीउभरि रगतमा मिसिएको विजातीय पदार्थलाई छान्ने ससाना गिर्खा हुन्छन्, जसलाई शरीर–शास्त्रले लिम्फ नोड भन्ने गर्छ । क्यान्सरका विरुद्ध शरीरले यही लिम्फ नोड सहायताले लड्छ । देब्रे स्तनको शल्यक्रियाका बखत दाहिनेतिरको काखीमुनि हुने लिम्फ नोड पनि निकालिएको छ, जसका कारण त्यसले छान्ने तरल पदार्थ उनको हातका नसाहरूमा पुगेकाले त्यो सुन्निएको छ । यो सब प्रतिकूलताका बाबजुद अमृता खाना आफैं पकाउँछिन्, दैनिक जीवनमा आइपर्ने सब कुरा आफैं गर्छिन् र स्वावलम्बी जीवनलाई अघि बढाउँछिन् । हिँडिरहेका बेला बाघले झम्टेर दाह्रा–नंग्रा गाड्यो र घाइते बनायो अनि प्राणचाहिँ गएन भने जुन हालत व्यहोर्नुपर्छ, त्यही हालत आफ्नो भएको भन्दै अमृताले गत वर्षको मंसिरमा सेतोपाटीमा एक लेख लेखेकी थिइन्, ‘क्यान्सरको आक्रमणमा परेकी म’ शीर्षकमा । थाहापत्तो केही नदिई स्तनमा देखिन आएको क्यान्सर हुन पनि बाघको एक्कासि आक्रमण जत्तिकै अप्रत्याशित थियो उनका लागि । ‘स्तन क्यान्सरको सम्भावना छ छैन जाँच्न म्यामोग्राम गर्न पर्ने रहेछ, त्यो मैले कहिल्यै गरिनँ,’ अमृता आफ्नो लापरबाही स्विकार्छिन्, ‘म चाहन्छु, अरू दिदीबहिनीले यस्तो लापरबाही नगरून् ।’

अमेरिकामा जस्तो कुनै राज्यमा ४० र कुनैमा ५० वर्ष पुगेपछि म्यामोग्राम परीक्षण गराउनैपर्ने नियम नेपालमा पनि भइदिए महिलालाई यसले ज्यादा पिरोल्न पाउँदैनथ्यो कि भन्ने उनलाई लाग्छ । धेरै मानिसहरूको बुझाइ के छ भने स्तनपान गराएन भने यो रोग लाग्छ । अमृताले दुवै सन्तानलाई स्तनपान गराएकै थिइन् । अझ अनौठो त, उनी अस्पताल गएका बेला २२ वर्षकी युवतीलाई ब्रेस्ट क्यान्सर भएको देखेकी थिइन्, जसको दुई वर्षको बच्चा दूध चुसिरहेको थियो । ‘स्तनपान नगराए क्यान्सर हुन्छ भन्ने नै होइन रहेछ,’ अमृता भन्छिन्, ‘नत्र मलाई नहुनुपर्ने, त्यो २२ वर्षकी बहिनीलाई त झनै नहुनुपर्ने ।’ अनेक कारणले यो हुन सक्ने हुनाले सुरुवातमै पहिचान गर्नु र शरीरमा जथाभावी फैलनुअघि नै त्यसलाई निकालेर फाल्नु नै राम्रो निदान हो भन्ने उनको अनुभवसिद्ध सुझाव छ ।

अक्सर, सिनेमाहरूमा पात्रलाई मार्न पर्‍यो भने क्यान्सर लागेको देखाइन्छ । यसले मानव मस्तिष्कमा अज्ञात भय सिर्जना गर्दो रहेछ भन्ने अमृतालाई लाग्छ । क्यान्सर लागेको थाहा पाएपछि सिनेमाका तिनै दृश्य उनको मस्तिष्कमा सलबलाए र मृत्युको भयले उनलाई साह्रै अत्यायो । तर, उनले यसबारे बिस्तारै खोजबिन गरिन् । क्यान्सर लागेर त्यसलाई जितेकाहरूका थुप्रै उदाहरण पनि भेटिन् । अनि, जँचाउँदै जाँदा थाहा पाइन्, नेपालमा यसको उपचारको राम्रो व्यवस्था पनि रहेछ । ‘तर एउटा झमेला के रहेछ भने,’ अमृता भन्छिन्, ‘बिरामीको संख्या उपचार सेवाको अनुपातभन्दा धेरै रहेछ, यसमा सरकारले व्यवस्थापन गर्न पर्ने देख्छु ।’

शिक्षण अस्पतालमा रेडियो थेरापी गर्ने मेसिन छैन, त्यो गर्न भक्तपुर कि हरिसिद्धि जानुपर्छ, जसले बिरामीलाई थप धपेडी दिन्छ । फेरि, क्यान्सरको उपचार गर्ने भनेजति डाक्टर नहुँदा बिरामीलाई घण्टौं कुर्दाको अर्को सास्ती पनि छ । जस्तो कि, आफूलाई सर्जरी गर्ने डाक्टर सुचिता हिराचनको कक्षअघिल्तिर जहिल्यै ठूलो संख्यामा बिरामी पालो पर्खेर बसिरहेको देखेकी छन् अमृताले । अस्पतालहरूमा क्यान्सरका रोगीको घुइँचो मनग्यै देखेकी उनलाई के लाग्दो रहेछ भने सामाजिक न्यायको बुझाइमा पनि क्यान्सरको त्यस्तै प्रकोप छ । ‘आम रूपमा समाज स्त्रीद्वेषी छ, महिलालाई पाइला–पाइलामा हेप्छ,’ अमृता भन्छिन्, ‘यो प्रवृत्ति पनि पीडादायी छ ।’

अमृृता भने जति गाली खाए पनि महिला अधिकारका पक्षमा लेख्ने काम गरिरहेकी छन् । बोल्दा त यस्तो छ, बोल्दै बोलेन भने के होला भन्ने भयले उनका औंलाहरू प्रश्न गर्न उठिरहन्छन् । सामाजिक सञ्जाल भएर मात्रै गाली आएको होइन, महिला अधिकारका कुरा उठाउँदा सुरुवाती दिनमै उनलाई अनेकन् गाली आएका थिए । जस्तो कि, २८ वर्षअघि २०५२ माघ १६ गते कान्तिपुरमा ‘यी अलमलिएका अलमस्ता अमृताहरू’ भन्ने लेख लेखेका थिए सहायकमन्त्री दीनबन्धु अर्यालले । ‘धोबीका कुरा सुनेर श्रीमती निकाल्ने रामलाई मर्यादापुरुष मान्ने समाजले महिलालाई सधैं परीक्षण मात्रै गर्छ, अधिकार दिँदैन’ भन्ने भाकाको लेख लेखेकी थिइन् अमृताले त्यतिबेला, जो पुनर्जागरणमा छापिएको थियो ।

नेता अर्याललाई त्यसले क्रुद्ध बनाएछ । बदलामा अमृतालाई धूँवादार गाली गर्दै अर्यालले ‘यस्तालाई जन्माउने बाबुआमा कस्ता होलान्, संस्कार कस्तो होला भनेर प्रश्न गरेका थिए । ‘शीर्षक हेर्दा त मलाई अमृता प्रितमका बारेमा लेख आएको रहेछ भन्ने लाग्यो,’ अमृता हाँसिन्, ‘भित्र लगेर पत्रिका पढ्छु त बाबाआमासमेतलाई जोडेर मलाई गाली गरिएको रहेछ, मूलधारको पत्रिकामै त्यति ठूलो ओहदाको मानिसले यस्तो गरेपछि निकै नरमाइलो लागेको थियो ।’ तर, उनी हतोत्साहित भइनन् । अर्को हप्ता अर्याललाई त्यसको जवाफी लेख छपाइन् । जवाफ र प्रतिजवाफको शृंखला अहिले पनि चलिरहेकै छ विभिन्न तौरतरिकामा । यसरी निरन्तर रूपले नारीवादी विचारलाई पक्रन अमृतालाई उनकै अनुभवले सिकाएको थियो ।

६१ वर्षअघि २०१९ मंसिरमा चुच्चेपाटीमा जन्मेकी अमृताका पिता मन्दिरप्रसाद लम्साल खानेपानीका कर्मचारी थिए भने आमा जयन्ती सरकारी शिक्षिका, जो पछि प्रधानाध्यापिका पनि हुन पुगिन् । लम्साल दम्पतीका पाँच छोरीमध्येकी जेठी अमृताको सम्झनामा उनका पिता जहाँजहाँ सरुवा भए, त्यहाँत्यहाँ परिवारै सारेका बाल्यकालीन दृश्यहरू अहिले पनि ताजै छ । यसरी, सरिरहनुपरेकाले अमृताले एक ठाउँमा अडिएर पढ्न पाइनन् । ‘त्यो बन्द समाज थियो, छोरीहरूलाई बाआमा आफूभन्दा टाढा राख्न सक्दैनथे, सरिरहँदा स्कुल जान मिल्दैनथ्यो,’ अमृता भन्छिन्, ‘त्यसो हुनाले मैले सुरुवाती पढाइ बाआमाबाट घरमै सिकेँ ।’

अनेक ठाउँमा सरुवा हुँदै उनका बाबु अन्ततः बालाजुमा रवाना भए । त्यहाँ आएपछि भने अमृताले लैनचौरको कन्या माविमा ८ र ९ कक्षा पढ्न पाइन् । त्यसपछि १० कक्षाचाहिँ घर चुच्चेपाटीमै आएर पशुपतिको मित्र माविमा पढिन् र त्यहँबाट प्रवेशिकाको जाँच दिइन् । एसएलसी पास गरेपछि पद्मकन्या कलेज भर्ना भएको तीन महिनामै उनको बिहे गरियो । बानेश्वरको बाँस्कोटा परिवारमा बुहारी भएर गएपछि अमृतालाई छोरी हुँदाको स्तन्त्रता र बुहारी हुँदाको बन्धनको प्रस्ट बोध भयो । भान्सामा चोलो लगाएर जान पनि नपाइने साह्रै कर्मकाण्डी परिवारको रिवाज र चुलोचौकामा बाँकी जीवन बिताउनुपर्ने अवस्थाले अत्यायो । ‘त्यस परिवारमा बुहारीहरुमा एसएलसी पास म मात्रै थिएँ । त्यसैले गर्व पनि लाग्थ्यो,’ अमृता भन्छिन्, ‘तर, पढाइको कुनै मूल्य थिएन, किनभने बुहारीले चुलोचौका नाघेर बाहिर पढ्न जान वा काम गर्न मनाही थियो ।’

यो सामाजिक नियम बाँस्कोटा परिवारले बनाएको होइन, पालनासम्म गरेको थियो । अमृताले जसोतसो आईए प्राइभेट पढेर पास गरिन् । घरको असहमति हुँदाहुँदै पनि बैंकको जागिर खाइन् । लगत्तै छोरी अनुपमाको जन्म भयो । त्यसपछि उनलाई एक आमाका दुःख अनि हैरानीहरू के–के रहेछन् भन्ने पनि थाहा भयो । मनुस्मृतिको स्त्रीद्वेषी दर्शन र भानुभक्तको बधुशिक्षालाई मुखाग्र गरेर महिलालाई दमन गर्दै आएको समाजले तयार पारेको साँघुरो परिवेश र त्यसले दिने ताडनालाई आममहिलाले झैं चुपचाप सहेर बसिनन्, अमृता । बरु, त्यसविरुद्ध हिम्मतका साथ खडा भइन् ।

विसं २०४८ मा प्रेस इन्स्टिच्युटले दिएको पत्रकारिता तालिममा सहभागी भएपछि त उनको बाटो नै बदलियो । त्यसयता महिला अधिकारका पक्षमा उनले निरन्तर लेखहरू लेख्न थालिन् । बिस्तारै उनको परिचय नारीवादी लेखिकाका रूपमा हुँदै गयो । दबेको, थिचोमिचोमा परेका र घरेलु हिंसा भोगेका महिलाका बारेमा उनको कलम स्वतः चल्ने भयो । त्यही अनुपातमा उनलाई गाली गर्नेहरू पनि बढ्दै गए । १३ वर्षको छोरा लिएर सन् २००१ मा उनी अमेरिका पुगिन् र चौध वर्ष त्यहीँ बिताइन् । ‘भन्नु मात्रै विकसित देश, त्यहाँ पनि महिलामाथि हुने थिचोमिचो उस्तै रहेछ,’ अमृता भन्छिन्, ‘पितृसत्ताको जरा संसारैभर फैलिएको रहेछ ।’

सन् २०१५ मा अमृता नेपाल फर्किन् र फेरि लेख्ने कामलाई जारी राखिन् । राणाकालको समाज र महिलाहरूले भोग्नुपरेको विदेभपूर्ण सास्तीको कुनै ऐतिहासिक संकलन छैन । अमृतालाई लाग्यो, त्यस समयबाट गुज्रेर आएकाहरूसँग संवाद किन नगर्ने ? त्यसपछि उनले राणाकालीन समयमा जन्मेहुर्केका महिलाहरूसँग अन्तरंग संवाद गरिन् र त्यसलाई २०७६ मा पुस्तकका रूपमा ल्याइन्– हजुरआमाका कथा शीर्षकमा, जो पढ्दा इतिहासले नसमेटेको नारी प्रताडनाका अनौठा किस्साले मनलाई एक तमाससँग हुँडल्छ । यसरी, हजुरआमाहरूको अलिखित कथा नातिनी पुस्तालाई सुनाउने र नातिनी पुस्ताले भोगेको लैंगिक विभेदका प्रत्येक घटनालाई नियाल्ने अमृता लैंगिक समानता कायम भएको समाज देख्न चाहन्छिन् ।

Source:Kantipur

Share
0Shares
Advertisment