अनपेक्षित यात्रा थियो त्यो । रिपोर्टिङका केही विषय तय गरिएको भए पनि माथिल्लो तामाकोशीको कृत्रिम तालमा जलयात्राको कुनै योजना या अपेक्षा गरेको थिइनँ । बरु लामाबगरबाट तिब्बतको सिमाना लप्ची पुग्ने पहिलो गन्तव्य लुमनाङसम्म जाने योजना केही दिनअघि बुनिएको थियो । जसलाई मेरै जोडबलमा स्थगित गरिएपछि पत्रकारहरू रमेश खतिवडा, जीवन लामा, केदार शिवाकोटी र श्याम खतिवडाले निको मानेका थिएनन् ।
यो २०७८ फागुनको सुरुवाती दिनको कुरा हो । हामी दोलखाको उत्तरी भेगमा पछिल्लो समय देखिएका केही विवादित प्रसंग र समस्याको स्थलगत अध्ययन गर्न लामाबगर हुँदै त्यो क्षेत्र जाँदैथियौं ।

माघ महिनाको अत्यधिक हिमपातले बाटो सहज नभएको जानकारी पाएपछि मैले लामाबगरबाट माथि जाने योजना स्थगित गरेको थिएँ । म नजाने भएपछि साथीहरूले पनि यात्रालाई लामाबगरबाटै बिट मारेका हुन् ।
००० ०००
लामाबगरको केही घण्टाको बसाइ र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ड्याममा बनेको कृत्रिम तालमा गरिएको बोटिङको आनन्दले सबैलाई मोहित बनायो ।
झण्डै ५०० मिटरको कृत्रिम तालमा बोटिङ गरिरहँदा मेरो मनका तरङ्गित भावहरूले अनेकन् काल्पनिक आकार ग्रहण गरिरहेका थिए- साँझ पख सुनसान लामाबगरमा चिसो सिरेटोको पर्वाहै नगरी महादेव-पार्वतीले आत्मीय प्रेमको भरपुर आनन्द लिन्छन् होला । निलो पानीमा तैरिंदै माथिल्लो तामाकोशी नदीको उद्गमतिर हेलिंदा ठट्टा भावमा पार्वतीको पिठ्युँमा शिर अडाएर उन्मत्त मुस्कानले लामाबगर उपत्यका गुन्जायमान बनाउँदाको माहोल कति स्वणिर्म हुन्छ होला । उनीहरूलाई के थाहा प्रविधिको यो युगमा सीसी क्यामेराले आयोजनाको केन्द्रीय कार्यालय काठमाडौंमा र प्रधानमन्त्री कार्यालयमा समेत कृत्रिम ताल आसपासको गतिविधि निगरानी भइरहेको छ ।
उपद्रे महादेवले शालीन पार्वतीलाई अंकमाल गरेर चुम्बन गरेको दृश्य सीसी क्यामेराबाट हेरिरहेका आयोजनाका कर्मचारीले कत्तिको ठम्याए होलान् । यो कुरा पार्वती माताले चाल पाएकी भए लाजले भुतुक्कै हुन्थिन् होला । विष, भाङ, धतुरोमा सधैं लट्ठिने महादेवलाई त केको सरम ! एकान्त गरिरहेको ठाउँमा पुगेका अग्निलाई त वीर्य दिएर पठाउँछन् यिनी ।
महादेवको वासस्थान देउलाङ (स्वस्थानी व्रत कथामा उल्लेख भए अनुसार महादेवले खरको भित्ता च्यातेर सतीदेवीलाई कैलाशको दर्शन गराएको ठाउँ) बाट धेरै टाढा छैन लामाबगर । साँझ-बिहान घुम्ने ठाउँ लामाबगर नै हो महादेव-पार्वतीको । साँझ छिप्पिंदै गएर रात परेपछिको बिजुलीको झिलिमिली र बिहानीपख सूर्यको प्रकाशले तालमा कोरिएका सप्तरङ्गी धर्साका आकृतिहरूले साँच्चै महादेव-पार्वतीलाई दैनिक यतातिरै तानिरहेको हुन्छ ।
विष्णुको सहयोगमा सतीदेवीलाई छल गरेर कैलाशमा ल्याउँदै गर्दा महादेव यही बाटो भएर आएका थिए रे ! घना जङ्गल हुँदै यता आउँदा सतीदेवीलाई पानीको प्यास लागेकोले महादेवले ढुङ्गा कोपेर पानी निकालेको प्रमाण अहिले पनि भेटिन्छ लामाबगरमा । सतीदेवीसँगको छोटो साथ महादेवको जीवनको सबैभन्दा मधुर थियो रे ! सतीदेवीसँग पनि धेरै पटक आए हुन् महादेव लामाबगरको यो सुन्दरतामा रमाउन । कैलाशको चर्चा गर्दै हिंड्ने नारद यस कुराको साक्षी हुनसक्छन् ।
००० ०००
दोलखाको विगु गाउँपालिका वडा नम्बर १ मा पर्ने लामाबगरको यात्रा मैले धेरै पटक गरेको छु । २२/२५ वर्ष अघि हिंडेर लामाबगर पुग्दा अहिले आयोजनाको ड्याम साइटको कंक्रिटको संरचना भएतिर उत्तिसको घारी थियो । लप्चीतिरबाट बगेर आएको तामाकोशी नदी बायाँतिरको ढुङ्गे भीरमा ढेसिएर लामाबगरहुँदै गोंगर-सिंगटीतिर तेर्सिएको थियो ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागि पानी थुनेर ड्याम बनाएकोले लामाबगरमा कृत्रिम ताल भयो । २०० वर्ष अघिसम्म सिंगो लामाबगर उपत्यका प्राकृतिक रूपमै ठूलो ताल थियो रे ! स्थानीय तेम्बाछिरी शेर्पा (मिजार) ले उतिबेलै भनेका हुन् मलाई । लामाबगर भनिने यो ठाउँलाई उतिबेला लामोबगर भनिन्थ्यो रे !
लामाबगरमा अहिले रहेको बस्ती उतिबेला लामाबगर ताल (अहिले उपत्यका) भन्दा निकै माथि सामालिङ र बलमुचेनमा थियो ।
ताल फुटेर बगर बनेपछि माथिको बस्ती विस्तार-विस्तार लामाबगरतिर झरेको रहेछ ।
लामाबगर अहिले सानो-सानो सहर जस्तै भएको छ । सेना छ, सशस्त्र प्रहरी छ, जनपथ प्रहरी छ, सीमा प्रशासन कार्यालय र छोटी भन्सार कार्यालय छ अनि तामाकोशी आयोजनाका केही कर्मचारी र स्थानीयको केही होटल-पसल पनि छन् । अहिले लामाबगरको किंवदन्ती सुनाउने कोही भेटिंदैनन् ।
मैले उतीबेलै सुनेको हो, ताल फुटेर निकै लामो बगर बनेकोले यो ठाउँको नाम लामोबगर भयो । अनि लामोबगर अपभ्रंश भई लामाबगर भयो । अर्कोथरीले चाहिं यो ठाउँमा लामाहरू बस्ने भएकोले लामाबगर भनिएको हो पनि भन्छन् ।
नामकरणको दुवै किंवदन्ती पत्यारिला छन् । लामाबगर उपत्यका निकै लामो छ र बगरका अवशेषहरू पनि छन् । त्यसैले लामोबगरबाट लामाबगर बनेको कुरा असत्य हुन सक्दैन ।
अनि लामा बस्ने भएकोले लामाबगर भनियो भन्ने कुरामा पनि सत्यता छ । लामाबगर भन्दा केही माथि ठाङ्गोक गुम्बा छ । जहाँ अहिले पनि लामाहरू ध्यान गरेर बस्छन् । तिब्बतको सीमा लप्चीमा रहेको प्रसिद्ध लप्ची गुम्बा बनाउने क्रममा सामग्री बढी भएपछि अर्को ठाउँमा गुम्बा बनाउन शङ्ख फ्याँकेर हेर्दा ठाङ्गोकमा शङ्ख खसेछ । अनि लप्ची गुम्बा बनाउँदा उबि्रएको सामग्रीबाटै ठाङ्गोक गुम्बा बनाइयो । त्यसैले ठाङ्गोक गुम्बालाई लप्ची गुम्बाकै महत्वपूर्ण अंश मानिन्छ । यो गुम्बामा लामाहरू बस्ने भएपछि लामाबगर नाम भयो ।
००० ०००
२०४०/४२ सालतिर मेरो कान्छा मामा (श्यामकृष्ण श्रेष्ठ) ले लामाबगरको बारेमा धेरै रोचक प्रसंगहरू सुनाउने गर्नुहुन्थ्यो । तीन दिन कस्सिएर हिंड्यो भने बल्ल लामाबगर पुगिन्थ्यो रे चरिकोटबाट । प्राकृतिक रूपमा अत्यन्त सुन्दर सानो उपत्यका रहेको लामाबगरको धेरै किस्साहरू मैले मामाबाट सुनेको छु । चौंरीको घ्यूको विशेषता, सल्ला र धूपीको सुगन्ध, भोटेकुकुरको बहादुरी, तिब्बतीहरूको करामत । यी सबै कहानी एकादेशको कथा जस्तै लाग्थ्यो मलाई । फेरि श्याम मामाको भन्ने शैलीकै कारण पनि म यस्ता कहानीहरूबाट निकै प्रभावित थिएँ ।
मामाघरमा बसेर बढेको, पढेको भएकोले मैले धेरै वर्ष श्याम मामाले बाचन गरेको स्वस्थानी व्रत कथा श्रवण गर्ने अवसर पाएको छु । महादेवले सतीदेवीलाई विवाह गरेर कैलाश ल्याउँदै गर्दाको प्रसंग, सतीदेवीले यज्ञकुण्डमा फाल हानेर देहत्याग गरेपछि उनको मृत शरीर बोकेर महादेवले पृथ्वीको फेरो लगाएको प्रसंग अनि पार्वतीसँग किराँतको रुप धारण गरेर वन विहार गरेको प्रसंगमा दोलखाको धेरै ठाउँ उल्लेख भएको व्याख्या मामाको मुखबाट सुन्दा मलाई त्यतिबेला के भनेका होलान्, देवताले पनि हामी बस्ने, हिंड्ने ठाउँमा पाइला टेके होलान् र जस्तो लाग्थ्यो । तर अहिले आफू दोलखाको विभिन्न ठाउँमा पुगेको बेला ती किंवदन्ती र दन्त्यकथालाई पुष्टि गर्ने आधारहरू भेट्दा गर्वले छाती चौडा हुने गरेको छ- देवताको पाइला परेको पवित्र भूमि दोलखामा आफ्नो जन्म भएको सत्य अनुभूत हुँदा ।
महादेवले अहिले लामाबगरको कृत्रिम तालमा सयर गरुन् या नगरुन् । आधुनिक विकासमा तरङ्गित मेरो कल्पना सत्य होस् या नहोस् । सत्य युगमा प्राकृतिक तालमा सयर गर्न सतीदेवीसँग देउलाङको कुटीबाट लामाबगर झरेको किंवदन्ती त सत्य हो नि Û पार्वतीसँगको वन विहारको क्रममा सतीदेवीको आलिङ्गन सम्झँदै लामाबगरतिर भौंतारिएको किंवदन्ती पनि त सत्य हो नि Û
लामाबगर सत्ययुगमा पनि मुख्य थियो- देवताका पनि देवता महादेवको क्रीडास्थल बनेर । लामाबगर अहिले पनि मुख्य छ नेपालको सबैभन्दा ठूलो ४५६ मेगावाटको जलविद्युत् आयोजना रहेको स्थान बनेर ।
००० ०००
लामाबगरबाट करिब १३ किलोमिटर सडक निर्माण गर्न सकियो भने विकासको नयाँ संभावना समेत सुरु हुन्छ । करिब २७३ किलोमिटरमा नेपाल हुँदै चीन र भारत जोडिने मार्गमा लामाबगरबाट १३ किलोमिटर सडक निर्माण गर्न सकियो भने तिब्बतको ङयाङलुङ नाकाहुँदै फलाक पुगिन्छ । यो सडकले बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध लप्ची गुम्बासम्म पुग्ने बाटो पनि छोट्याउँछ । भगवान बुद्धको अस्तु राखिएको लप्ची गुम्बा नेपालीको लागि भन्दा पनि विदेशी बौद्धमार्गीहरूको लागि महत्वपूर्ण छ । जहाँ हरेक १२ वर्षमा ठूलो मेला लाग्ने गर्छ । जहाँ ढुङ्गाका चेप-चेपमा विदेशी बौद्धमार्गीहरू ध्यान गरिरहेको भेटिन्छ ।
सत्ययुगका महादेव कलियुगमा कसरी आउँछन् भन्नेहरू पनि होलान् । कालको पनि काल हुन् महादेव । उनी हरेक युगमा जीवित छन्, जीवन्त छन् । सत्ययुगमा विमानबाट पृथ्वीको भ्रमण गर्ने महादेवले कलियुगमा प्रविधिको विकासले निर्माण गरेको कृत्रिम तालमा बोटिङ गर्दै सवारी साधनमा बसेर सुरुङ मार्गबाट लप्ची पुगी कलियुगका भगवान बुद्धसँग भेट गरेको क्षण हामी पत्रकारहरूको लागि साँच्चै समाचारको एउटा अद्भुत स्कूप नै बन्नेछ ।
अनि मेरो कारणले लुमनाङतिर रिपोर्टिङको लागि पुग्न नसकेका पत्रकारहरू सत्य र कलियुगको शक्तिशाली विषयबाट यात्राको पूर्णता अनुभूति गर्नेछन् ।
(https://www.onlinekhabar.com/2022/02/1081585) बाट साभार
Share



