परम्परागत शैलीबाट माथि उठ्न जरुरी : प्रचण्ड

Share
0Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षका लागि सरकारले पेश गरेको नीति तथा कार्यक्रमको खुलेर समर्थन गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा साकार पार्ने उद्देश्यबाट नीति तथा कार्यक्रम आएको जिकिर गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम कार्यान्वयनमा उत्तिकै ध्यान दिन जरुरी रहेको बताउनुभयो । संघीयता कार्यान्वयनमा जटिलता, कर्मचारी समायोजनमा जटिलता, कार्यशैलीमा जटिलता देखिएको जिकिर गर्दै सरकारले विगत एक वर्षमा यस्ता धेरै जटिलताको सामना गरेको आफूले नजिकबाट देखेको बताउनुभयो । नीति तथा कार्यक्रममाथि छलफलका क्रममा प्रतिपक्षीले भनेको कुरालाई सकारात्मक रुपमा लिएर सत्ता पक्षले कार्यान्वयन पक्षमा इमान्दारीपूर्वक जान जरुरी रहेको बताउनुभयो । संसदमा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा संसदीय राजनीतिमा सत्ता पक्षले बचाउ गर्ने र प्रतिपक्षले विरोध गर्ने शैली रहेको उहाँको भनाई थियो । सत्ता पक्षले राम्रै कुरा गरे पनि, राम्रै नीति ल्याए पनि विपक्षीले विरोध गर्नुपर्ने बाध्यताजस्तो, प्रतिपक्षीले राम्रै सुझाव दिंदै उहाँले सत्ता पक्षले त्यसलाई अस्वीकार गर्नैपर्ने बाध्यताजस्तो परम्परागत शैलीबाट माथि उठ्न जरुरी रहेको धारणा राख्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई राम्रो निबन्धको संज्ञा दिनुभयो । नीति तथा कार्यक्रम नारै नाराले भरिएको कार्यक्रमजस्तो भएको आरोप लगाउँदै नेता सिंहले काठमाडौँ उपत्यकाभित्रको धुलो हट्न नसकेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालत पनि राम्रो नभएको बताउनुभयो ।

कांग्रेसकै सांसद बालकृष्ण खाँडले सरकारले संविधानको मूल्य र मान्यता विपरीत गतिविधि गरेको आरोप लगाउँदै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नै गलत संस्कार स्थापित गर्न खोजिएको बताउनुभयो ।

Share
0Shares
Advertisment