बिकेन एलपी ग्यास

Share
0Shares

 एलपी ग्यास उद्योगहरुमा ग्यास नबिकेर बुलेटसमेत खाली गर्न उद्योगीले पाएका छैनन् । देशभरमा ५८ वटा ग्यास उद्योग छन् ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका केन्द्रीय अध्यक्ष गोकुल भण्डारीका अनुसार ती उद्योगले मगाएका दुई सय ५० बुलेट खाली गर्न सकिएको छैन । लकडाउनको समयमा ग्यासको अभाव हुन नदिन भन्दै १२ दिनसम्म आधा सिलिन्डर मात्रै भरेर बिक्री गरिएको थियो । एक सिलिन्डरमा १४ दशमलब दुई किलो ग्यास हुने भए पनि सात दशमलब एक किलो ग्यासमात्र बिक्री गरिएको थियो ।

भण्डारीको भनाइमा झण्डै १० लाख सिलिन्डर आधा मात्रै भरेर ग्राहककामा पठाइएको छ । खपतसमेत आधा घटेकाले ग्यास बिक्री हुन नसकेका हो । उहाँका अनुसार यसैले गर्दा ग्राहककामा सिलिन्डर खाली नहँुदा ग्यास बिक्री हुन नसकेको हो ।

बाबा, श्री र लुम्बीनी गरी तीन उद्योग सञ्चालन गर्दै आउनुभएका बिमल कालाखेतीका अनुसार भण्डारण खाली नभएपछि बुलेट खाली गर्न सकिएको छैन । चालकलाई उद्योगले खाना र बस्न व्यवस्था गरेर राखेका छन् । ९६ घण्टाभन्दा बढी समय बुलेट राख्नुपरेमा दैनिक अतिरिक्त शुल्कसमेत तिर्नुपर्ने उहाँले बताउनुभयो । नेपालमा सामान्य अवस्थामा दैनिक एक लाखवटा सिलिन्डर बिक्री हुने गर्दछ । लकडाउनको हल्लासँगै धेरैले सिलिन्डर भरेर राखेको र सभा सम्मेलन एवं होटल बन्द हुँदा खपत आधा घटेको कालाखेतीको भनाइ छ ।

नेपालका ग्यास उद्योगमा रु १५ करोडदेखि दुई सय करोडसम्म लगानी भएको व्यवसायीहरु बताउँछन् । सबैभन्दा ठूलो नेपाल ग्यासका सञ्चालकसमेत रहनुभएका भण्डारी आउँदा दिनमा ग्यास कतिको सहज हुन्छ अहिले नै भन्न नसकिने भएकाले उपभोक्ताकामा खाली सिलिन्डर भए भरेर राख्न अनुरोध गरिएको बताउनुहुन्छ ।(रासस)

Share
0Shares
Advertisment