प्राधिकरणको खरिपाटी तालिम केन्द्रमा आइसोलेशन केन्द्र बनाउन प्रस्ताव

Share
0Shares

काठमाडौं, वैशाख २३ गते । नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा कोभिड–१९बाट सङ्क्रमितको उपचारका लागि आइसोलेशन केन्द्र निर्माणका लागि सरकारलाई आग्रह गरेको छ । सरकारले गत वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएको चीनको हुबेइ प्रान्तबाट नेपालीलाई स्वदेश फर्काएर प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रलाई क्वारेन्टिन बनाएर १४ दिनसम्म त्यहाँ राखेको थियो ।

तालिम केन्द्रको पूर्वाधारलाई मुलुकलाई आवश्यक परेको वेला प्रयोग गर्ने सकिने भएकाले आइसोलेशन सेन्टर निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमार्फत सरकारसमक्ष प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक शाक्यकाअनुसार, प्राधिकरणका कर्मचारी सङ्क्रमित भएमा उनीहरूलाई राख्नका लागि प्राथमिकता दिँदै कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले तोकेको निकायलाई तालिम केन्द्रको पूर्वाधार आइसोलेशनका रूपमा प्रयोग गर्न प्रस्ताव गरिएको हो ।

“तालिम केन्द्र परिसरभित्रका भवनमा रहेका ६६ वटा कोठामा १३३ वटा बेड राख्न सकिन्छ, गत वर्ष राखिएका बेड पनि त्यहाँ छन्, त्यसमा थप ५० बेड राखी आवश्यक डस्ना, तन्नाजस्ता सामग्रीको जोहो गरे पुग्छ”, उहाँले भन्नुभयो । तालिम केन्द्रमा सिसिटिभी पनि जडान गरिएको छ । बिरामीलाई अक्सिजन आवश्यक परेमा कोठामा सिलिण्डरसमेत राख्न सकिन्छ, आपत्कालीन विद्युत् आपूर्तिका लागि डिजेल जेनेरेटर चालू अवस्थामा छन् ।

तालिम केन्द्रमा रहेको भवन नं १ मा २६ कोठा छन् त्यहाँ २४ वटा वेड राख्न सकिन्छ । भवन नं २ मा २६ कोठा छन्, त्यहाँ ७८ वटा वेड राख्न सकिन्छ । स्टाफ क्वाटर भवनमा ११ कोठा छन् । त्यहाँ २८ वटा बेड राख्न सकिन्छ । यसैगरी, क्वाटर भवनका ३ कोठामा ३ वटा वेड राख्न सकिन्छ ।   source: https://gorkhapatraonline.com/

Share
0Shares
Advertisment