राससका कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’

Share
0Shares

 

तनहुँ, ११ जेठ । राष्ट्रिय समाचार समिति ( रासस) का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई प्रेस यूनियन तनहुँले स्थापना गरेको ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ पहिलो पटक प्रदान गरिने भएको छ । पत्रकारिता क्षेत्रमा साढे दुई दशकदेखि क्रियाशील यूनियका पूर्व जिल्ला अध्यक्ष रहेका बस्नेतलाई पाँच हजार ५५५ नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरिने भएको हो । पत्रकार बस्नेतले कानुनमा स्नातक र पत्रकारितामा स्नातकोत्तर तहको शिक्षा हासिल गर्नुभएको छ । हाल बस्नेत सुप्रिम कलेज सामाखुशी र सेफर्ड कलेज नयाँ वावेश्वरमा पत्रकारिता विषय पढाउनुहुन्छ ।

युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीको अध्यक्षतामा आज बसेको भर्चुअल बैठकले बस्नेतलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । शिक्षक खनालका स्मृतिमा उहाँका छोरा लक्ष्मीभक्त खनालले युनियनलाई सो पुरस्कार स्थापनार्थ सहयोग गर्नुभएको थियो । लक्ष्मीभक्त नेपाल विद्यार्थी सङ्घका पूर्वसहमहामन्त्री हुनुहुन्थ्यो । सो पुरस्कार युनियन स्थापना दिवसका अवसरमा यही जेठ १३ गते प्रदान गरिने भए पनि परिस्थिति सहज भएपछि अर्पण गरिने अध्यक्ष नहर्कीले जानकारी दिनुभयो ।

युनियनका पूर्वजिल्ला अध्यक्ष बस्नेतले तनहुँबाटनै राष्ट्रपुकार साप्ताहिकबाट पत्रकारिताको क्यारियर शुरुआत गर्नुभएको थियो । बस्नेतले समाचारपत्र, हिमालय टाईम्स र आदर्श समाज दैनिकको जिल्ला संवाददताको रुपमा काम गर्नुभयो । दमौलीमै नव व्यासवाणी साप्ताहिकको सम्पादक र तनहुँ आवाज साप्ताहिकको उपसम्पादकका रुपमा काम गर्नुभयो । राससमा २०५३ मा पाँचौ तहमा केहीसमय काम गर्नुभएका पत्रकार बस्नेतले पछि स्ट्रिञ्जर, अधिकृत तहमा स्थायीसँगै राससको तत्कालीन क्षेत्रीय कार्यालय पोखराको प्रमुख तथा केन्द्रीय कार्यालयमा उपप्रमुख समाचारदाता, प्रमुख समाचारदाताकारुपमा समेत काम गरिसक्नुभएको छ । नेपाल पत्रकार महासङ्घ रासस शाखाका पूर्वअध्यक्ष बस्नेतले रासस सञ्चालक समितिका सदस्यको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएको छ ।

Share
0Shares
Advertisment