दार्चुला घटनाको वास्तविकता बाहिर ल्याउन काँग्रेसको माग

नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ ।

Share
0Shares

 

काठमाडौँ, १६ साउन । दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुंदै खलंगा आउंदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा वेपत्ता भएको घटनासँग सम्बन्धित प्रश्नप्रति नेपाली काँग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । पार्टीका प्रवक्ता विश्वप्रका शर्माले शुक्रबार एक विज्ञप्ति जारी गरी भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण घटना भएको समाचार सार्वजनिक भए पश्चात जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको थप सम्पर्क पश्चात सोही विवरण केन्द्रमा प्राप्त भएको जनाइएको छ ।

नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ ।

“घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन÷दिलाउन नेपाली कांग्रेस पार्टीका तर्फबाट म सरकार समक्ष माग गर्दछु । आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास लिएको छु”, प्रवक्ता शर्माद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share
0Shares
Advertisment