चौतारीको कार्यक्रममा सबैको एकमत : वन्यजन्तुको संरक्षण सहित विकास जरुरी

“वन्यजन्तु संरक्षण र विकास : आवश्यकता र चुनौती” विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न

Share
0Shares

चितवन, २२ माघ । वन्यजन्तुको संरक्षण सहित विकास जरुरी भएको राय भरतपुरमा प्रेस चौतारी चितवनले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले जनाएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा आज यहाँ आयोजना गरेको “वन्यजन्तु संरक्षण र विकास : आवश्यकता र चुनौती” विषयक अन्तक्र्रिया कार्यक्रममा वक्ताहरुले वन र वन्यजन्तुको संरक्षण गर्दै अघि बढ्नु पर्नेमा उनीहरुको जोड थियो । । विकास जरुरी रहेको तर संरक्षण अनिवार्य भएको बताउँदै उनीहरुले संरक्षण सहितको विकासमा जोड दिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रा.कृष्ण काफ्ले पूर्खाले जोगाएको जंगल भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने चुनौती आएको बताउनुभयो । मानव उत्पत्तीसँग प्रकृतिसँग द्वन्द्व शुरु भएको बताउँदै उहाँले भन्नुभयो “मान्छेले प्रकृतिलाई जितौला भन्ने नसोचे हुन्छ ।” वन्यजन्तुबाट फैलिएको एउटा भाईरस (कोरोना) ले अहिलेको अवस्था सिर्जना गरेको चर्चा गर्दै काफ्ले वन र वन्यजन्तुको संरक्षण गर्न नसक्ने हो भने विकराल स्थिति सिर्जना हुने बताउनुभयो । उहाँले अगाडि थप्नुभयो “७५ प्रतिशत सरुवा रोग जंगली जनावरबाट मानिसमा आउँछन् । प्राकृतिक विनास भयो भने नयाँ नयाँ मुसा, चरा, किरा लगायतका जीवको उत्पत्ति हुन्छ र त्यसले मानव जातिमा ठूलो संकट पैदा गर्दछ ।”

संरक्षणमा कन्जुस्याई गर्न नहुनेमा जोड दिंदै उहाँले अगाडि भन्नुभयो “चितवन हाम्रो होईन, बाघ र गैंडाको हो । हामी यिनीहरुसँग मिलेर बस्न आएका हौं ।” मानवमा संवेदनशीलता हराएको बताउँदै उहाँले अगाडि थप्नुभयो “वन र वन्यजन्तु संसारको साझा सम्पत्ति हो । यसको विनास भयो भने हामीले विश्वलाई जवाफ दिनुपर्छ ।” राज्यका केही राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता रहेको उल्लेख गर्दै संरक्षण र विकास सन्तुलित रुपमा सँगसँगै लैजानुपर्ने बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष प्रकाश ढुंगानाले विकास जरुरी रहेको बताउँदै भन्नुभयो “संरक्षण अनिवार्य हो ।” यहाँको वन र वन्यजन्तु हेर्नकै लागि पर्यटक आउने गरेको चर्चा गर्दै ढुंगानाले भन्नुभयो “त्यही देखाएर हामीले पर्यटकीय गतिविधि सञ्चालन गरेका छौं, मध्यवर्तीमा रोजगारी सिर्जना भएको छ । यहाँको उत्पादनले बजार पाएको छ ।” संरक्षण गर्न नसक्ने हो भने चितवनको आर्थिक सामाजिक लगायतका क्षेत्रमा ठूलो प्रभाव पर्ने ढुंगानाको भनाई छ ।

विकास र संरक्षणलाई सँगसँगै अगाडि बढाउनु पर्नेमा जोड दिंदै ढुंगानाले पूर्वाधार निर्माण गर्दा वन्यजन्तु मैत्री हुनु पर्ने बताउनुभयो । उहाँले अगाडि थप्नुभयो “निकुञ्ज र जनताबीचको द्वन्द्व कम गर्दै संरक्षणसहितको सन्तुलित विकास गर्नुपर्छ ।”

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख डा. बाबुराम लामिछानेले साना साना कुराले संरक्षणको क्षेत्रमा ठूलो प्रभाव पार्ने बताउनुभयो । सडक, रेलमार्ग, विद्युत ट्रान्समिसन लगायतले वन्यजन्तु संरक्षणमा प्रभाव पारेको चर्चा गर्दै लामिछानेले भन्नुभयो “पूर्व–पश्चिम राजमार्गमा २७१ किलोमिटर जंगल पर्दछ ।”

नेपालका आधाभन्दा बढी जनसंख्या तराईमा रहेको र वन र वन्यजन्तुको ठूलो संख्यामा पनि यही क्षेत्रमा रहेको चर्चा गर्दै लामिछानेले भन्नुभयो “यही क्षेत्रमा विकास धेरै भईरहेका छन् ।” हामीले बनाउने संरचनामा वन्यजन्तुको भविष्य निर्भर हुने भन्दै लामिछानेले भन्नुभयो “वन्यजन्तुको मृत्युको प्रमुख कारण सडक दुर्घटना हो ।” नेपालमा एक वर्षमा २ हजार ३७४ वन्यजन्तु मारिंदा ६१४ वटा सडक दुर्घटनामा परेर मरेको तथ्यांक उहाँले प्रस्तुत गर्नुभयो ।

भारतको सर्वाेच्च अदालतले जंगल क्षेत्रमा निर्माण हुने सडकमध्ये १० प्रतिशत अनिवार्य रुपमा अण्डर वा ओभर पास बनाउनु पर्ने आदेश जारी गरेको चर्चा गर्दै नेपालमा पनि सडक निर्माण गर्दा जंगल क्षेत्रमा अण्डर र ओभर पास निर्माण गर्न कन्जुस्याई गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपाल चितवनका संस्थापक अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि रामबाबु सुवेदी, नेकपा एमाले चितवनका अध्यक्ष एवं केन्द्रीय सदस्य पार्वती रावल, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेल, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारी, पश्चिम चितवन पत्रकार मञ्चका अध्यक्ष अपिल घिमिरे लगायतले बोल्नु भएको थियो ।

उपाध्यक्ष शान्ता अधिकारीले स्वागत गर्नुभएको कार्यक्रम सहसचिव ध्रुवराज खनालले संचालन गर्नुभएको थियो । कार्यक्रम चौतारीका अध्यक्ष सुवास पण्डितको सभापतित्वमा सम्पन्न भएको थियो ।

Share
0Shares
Advertisment