चितवन : करिब ५९ वर्ष अघिको कुरा हो वि.सं २०२० मा स्थापना भएको यो विद्यालय अहिले नेपालको सर्वोत्कृष्ट विद्यालय बन्न सफल भएको छ। स्थापनाकालमा यसलाई नाइट स्कुल (रात्रिकालीन विद्यालय) भनेर चिनिने गरिन्थ्यो। साँझ ६ बजेदेखि राति दस बजेसम्म यस विद्यालयमा पढाई हुने गर्थ्यो। बिजुली बत्ती नभएकोले लालटिनको उज्यालोमा पढ्ने, पढाउने काम हुन्थ्यो।
त्यस बेलामा यो विद्यालयमा पढ्न आउने विद्यार्थीहरु दिनभर काम गर्ने र बेलुका लालटिनमा पढ्ने गर्थे। यस विद्यालयबाट पहिलोपटक २०२४ सालमा पाँच जना छात्रले एसएलसी परीक्षा दिएका थिए। एक जना प्रथम, दुई जना द्वितीय र दुई जना तृतीय श्रेणीमा उत्तीर्ण भएका थिए। प्रथम श्रेणीमा उत्तीर्ण भएका छात्र दीपक ढकाल जिल्ला प्रथम भएपछि त्यतिबेला विद्यालयमा खुशीयाली मनाइएको थियो। वि.सं २०२७ सालमा सातकोठे विद्यालय भवन निर्माण गरेर वि.सं २०३१ सालमा निमावि कक्षा थप गरी दिउँसोमा निमावि र रातमा मावि पढाई सञ्चालन हुँदै आएको थियो। वि.सं २०३७ सालपछि भने निमावि र माविका सबै कक्षा दिउँसो सञ्चालन हुन थाल्यो र त्यस पछि कक्षा ११ र १२ को पढाई बिहान र नर्सरीदेखि कक्षा दससम्मको पढाई दिउँसो सञ्चालन हुन थाल्यो।

२०४३ सालको शिक्षा दिवसको अवसरमा क्षेत्रीय पुरस्कारस्वरुप ५० हजार रुपैयाँ प्राप्त गर्न सफल यस विद्यालयले सरकारी मूल्यांकनमा आफूलाई अब्बल साबित गर्दै आएको छ। केही वर्षअघि सरकारी मूल्यांकनमा मध्यमाञ्चल प्रथम र राष्ट्रिय द्वितीय भई नारायणीले एक लाख रुपैयाँ पुरस्कार पाएको थियो। यसअघि २०६९ सालमा राष्ट्रिय पाँचौं भई पाँच लाख, २०७० सालमा राष्ट्रिय छैटौं र २०७१ सालमा राष्ट्रिय एक्काइसौँ भई एक, एक लाख रुपैयाँ पुरस्कार पाउन सफल भएको थियो।
नारायणी नमुना माविले नेत्रहीन विद्यार्थीहरुको लागि ब्रेललिपीमा पढाई सञ्चालन गर्दै आएको छ। निःशुल्क आवास र खानाको सुविधासहित ४० भन्दा धेरै नेत्रहीन विद्यार्थीलाई छुट्टै ब्लकमा राखेर पढाउने गरिएको छ। विद्यालयले २०५४ सालदेखि बौद्धिक अपांगता भएका विद्यार्थीलाई छात्रवृत्ति र खाजा सुविधासहित विशेष शिक्षा दिँदै आएको छ।
वि.सं २०६९ जेठ ६ गते स्वर्ण महोत्सव मनाएकै दिनदेखि यस विद्यालयलाई नारायणी नमुना मावि बनेको हो। वि सं २०७० सालमा सरकारले यस विद्यालयलाई नमुना मावि घोषणा गरेको थियो। यहां वि सं २०७० साल बाट अंग्रेजी तथा नेपाली माध्यम दुबै माध्यम बाट पठन पाठन हुँदै आएको छ। नमुनाको उपनाम पाए पछि विद्यालय झन् उच्च स्थानमा पुग्न सफल भयो छ। यही ७७ जिल्ला मध्ये ५० भन्दा बढी जिल्लाका बिद्यार्थीहरु आएर पठन पाठन गरेको पाइन्छ। कुनै समय निल खाएको विद्यालयलाई आज देशका उत्कृष्ट पाँच विद्यालयमध्ये पार्न सफल भएको छ। यस विद्यालयलाई उच्च स्थानमा पुर्याउन यहाँ को शिक्षा तथा विद्यार्थीको धेरै भूमिका रहेको छ। यस विद्यालयको प्रधानाध्यापक नेपाल सरकारबाट प्राप्त हुने प्रवल जनसेवा पदकबाट पनि सम्मानित हुनुभएको छ।
पहिलेको समयमा विद्यार्थी खोज्दै घर घरै जानु पर्थ्यो आहिले विद्यार्थी भर्नाको प्रवेश परीक्षा लिने गर्नु पर्छ। ६ जाना विद्यार्थीहरु बाट सुरु गरेको विद्यालय आहिले भने ३५०० भन्दा बढी विद्यार्थीहरु छन्। विद्यालयमा ८-१० मा मात्रै साढे ११ सय विद्यार्थी छन् भने ८ र १० मा ८/८ ओटा सेक्सन र ९ मा ९ ओटा सेक्सन रहेको छ।
यस विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन इएकाई पनि रहेको छ। गत २ वर्ष देखि यस विद्यालयमा डिआईटी ( डिप्लोमा इन इनफोरमेसन टेक्नोलोजी) पनि रहेको छ।
Source: https://www.dainiksawal.com/2022/06/1596/?fbclid=IwAR3Qzc6uMFSrVKHIIu28bTiiDeMQZoGynB_uJZ7yeQ3f8z5W_X4-6EwiGHs
Share



