३५ वर्षदेखि घण्टाघरको घडी चलाइरहेका महेश

Share
0Shares

वि.स. २०४४ साल । कामाडाैंको प्रज्ञाप्रतिष्ठान भवनमा तेस्रो सार्क सम्मेलन आयोजना गर्ने तयारी धमाधम चल्दै थियो । ठूला सम्मेलन आयोजना हुन लाग्दा अन्य समयमा नभएका सफाइलगायतका कामहरू हुन्छन् । राष्ट्रको इज्जतका लागि पनि सरकारले रातारात काम गर्छ । त्यसबेला पनि कामाडाैंलाई त्यस्तै चटारो पर्‍यो ।

तर, अन्य सबै काम सम्पन्न भए पनि काठमाडौंको समयसूचक मानिने घण्टाघरको घडी भने बन्द थियो । वि.स. २०३९ सालमा घण्टाघरमा आगलागी भएदेखि बन्द भएको घडी पाँच वर्षसम्म राम्ररी चलेन । कहिले चल्ने, कहिले नचल्ने गर्दै घण्टाघरले पाँच वर्ष गुजारिसकेको थियो । जब सार्क सम्मेलन आयोजना हुने भयो, तब मात्र घण्टाघर राज्यको चासोमा पर्‍यो ।

राष्ट्रको इज्जतका लागि भए पनि घडी बनाउने भन्ने निर्णय भयो । तर, कसले बनाउने ? बेलायतको घडी ‘मेकानिज्म’ जान्ने को होला ? राज्यले ‘मेकानिक’को खोजी कार्य सुरु गर्‍यो । तर, मेकानिकको खोजी गर्न त्यति सहज पनि थिएन । सार्क सम्मेलन सुरु हुन १०-११ दिन मात्र बाँकी हुँदासम्म कोही मान्छे भेटिएन । मर्मत गर्ने मेकानिकको अत्तोपत्तो भएन ।

त्यसपछि घडी बनाउन समय अपुग हुने भएपछि केही दिनलाई मात्र भए पनि घडी चलाउने मान्छेको खोजी भयो । र, त्रिचन्द्र क्याम्पस हाता भित्र रहेको घण्टाघरको घडी बनाउन क्याम्पसकै भौतिकशास्त्रको प्रयोगशालामा काम गर्ने महेश सापकोटालाई सरकारले अनुरोध गर्‍यो । भौतिक विज्ञानको ल्याबमा काम गरिरहेकाले पनि उनी उपयुक्त पात्र थिए ।

तर, यता सापकोटाले भने त्यसबेलासम्म एकपटक मात्र घण्टाघरको घडी देखेका थिए । त्यसको अन्य प्राविधिक पाटोबारे उनी अनभिज्ञ नै थिए । यद्यपि, क्याम्पसको भौतिकशास्त्रको प्रयोगशालामा काम गर्ने सापकोटामा त्यस्ता उपकरणबारे भने केही हदसम्म जानकारी थियो । पहिला पनि उनी भौतिकशास्त्रअन्तर्गतका अनुसन्धानका लागि प्रयोग गरिने उपकरणहरू मर्मत गर्थे । विद्युत्‌सम्बन्धी काममा पनि सापकोटा पोख्त थिए ।

यसरी प्राविधिक कुरामा दख्खल राख्ने उनले सरकारको अनुरोध नकारेनन् । आजसम्म भित्रबाट नदेखेको घण्टाघर बनाउन पाएको चुनौतीलाई स्वीकारे । ‘जे पर्ला, आँट्ने हो’ भन्दै जोखिम मोलेरै काममा हात हालेको उनी सम्झन्छन् । अन्तत: सार्क सम्मेलनमा घडी चलाउन उनी तयार भए ।

घण्टाघर घडी मर्मतको जिम्मेवारी लिएपछि भने उनलाई कताकता डर लाग्यो । तर, उनले जसरी पनि जिम्मेवारी पूरा गर्ने अठोट लिए । र, सार्क सम्मेलन हुन एक हप्ता बाँकी हुँदा उनले मर्मत कार्य सुरु गरे ।

उनी घडी मर्मत गर्नकै लागि भनेर सार्क सम्मेलन समाप्त नहुञ्जेल घण्टाघरमा चौबीसै घण्टा बसे । १३ दिन १३ रात उनी घण्टाघरबाट बाहिरै निस्किएनन् । खासमा सापकोटाले घडीबारे जानेकै त्यही १३ दिनभित्र हो । उनी त्यही घडीलाई आफ्नो गुरु मान्छन् । भन्छन्, ‘दुई/चार दिन घडीका स-साना समस्याहरू नियालेँ । कहाँ के समस्या छ भन्ने पत्ता लगाएँ । सबै मर्मत गर्न धेरै समय नभएकाले सम्मेलनसम्म काम चल्ने भने बनाउन सकेँ । जेहोस्, एकपटक बनाएपछि दुई/चार दिन घडी चल्ने बन्यो ।’

सम्मेलन सकिएपछि भने घडीलाई दीर्घकालीन रूपमा राम्रोसँग चलाउने सोच उनले बनाए । त्यसपछि उनैले थप केही समय लगाएर घडीलाई चाहिने सामानहरू खोजी गरे । र, एकपटक मर्मत गरेपछि केही हप्ता, महिनासम्म चल्ने बनाए । सार्क सम्मेलनमा इज्जत राखेको भन्दै राज्यले उनलाई सधैँलाई घडी हेर्ने जिम्मेवारी सुम्पियो । त्यसबेला उनको तलब ६ सय ५० रुपैयाँ थियो ।

सापकोटाले घडीको प्राविधिक कुराबारे त सबै सिकिसकेका थिए । सम्मेलनको समयमा उनले एउटा रेडियो पाएका पनि थिए । रेडियो सुनेरै समय मिलाउँथे । तर, त्यो रेडियो धेरै समय उनीसँग रहन सकेन । सम्मेलन सकिएलगत्तै रेडियो फिर्ता लगियो । त्यसपछि उनलाई समय मिलाउनै समस्या भयो ।

सापकोटाका अनुसार त्रिचन्द्र कलेज परिसरभित्र त्यस समय सोलार घडी पनि थियो । घण्टाघर बन्दाको सुरुवाती वर्षमा त्यही घडी हेरेर समय मिलाइने गरिन्थ्यो । घामको किरणअनुसार समय दिने त्यो घडीले विश्वभरका सबै देशको समय एकैसाथ देखाउँथ्यो । उनले पनि रेडियो लगेपछि त्यहीँबाट हेरेर घण्टाघरको समय मिलाउनेबारे सोचे । घडीमा घुमिरहेका एक-एक कम्पास नियाले । तर, उनले ‘सनडायल’ नामक त्यो सोलार घडी हेर्न जानेनन् ।

‘सन डायल’ (साेलार घडी) ​​​

घडी हेर्न जान्ने मान्छे पनि कोही थिएनन् । सम्भव भएसम्म कलेजका सबै प्राध्यापकलाई घडी हेर्ने विधिबारे सोधे पनि । त्यसबारे कोही जानकार नभएपछि उनको जुक्ति काम लागेन । र, रेडियो वा अरु हाते घडीकै विकल्पमा जानुपर्नेबारे सोचे ।

सापकोटाले हेर्न नजानेको त्यो सोलार घडी त्रिचन्द्र परिसरमा अझै पनि छ । जुन जीर्ण अवस्थामा पुगिसकेको छ । त्यसभित्र हुने कम्पास पनि हराएको छ । सापकोटाका अनुसार त्यही कम्पासले समय बुझाउने गर्थ्यो । त्यसैले त्रिचन्द्रको चौरमा राखिएको त्यो सोलार घडीले समय दिन छोडेको छ ।

‘यो (सोलार घडी) हेर्न पनि जानिएन । रेडियो पनि लगे । त्यसपछि त घडीको समय गलत भएको भनेर क्याम्पसबाट धेरै गुनासो आयो । गाली पनि खाएँ’, सापकोटाले ०४५ सालताकाको कुरा सम्झिए, ‘तलबाट समय हेरेर माथि (घडी भएको ठाँउ)मा उक्लिएर मिलाउँदा केही समय अघिपछि हुन्थ्यो । त्यसपछि मैले आफूसँग घडी नभएको कुरा सुनाइरहेँ । अनि क्याम्पसले घडी किनिदियो ।’

त्यसबेला घण्टाघरको घडीमा १२ बजेपछि टुँडिखेलमा सेनाले तोप पड्काउने प्रचलन पनि रहेको सापकोटाले सुनाए । काठमाडौंलाई कतिबेला उठाउने उनकै हातमा हुन्थ्यो । घण्टाघरकै घडीमा सबैको भर थियो । यसरी उनको हातमा घडी बाँधिएपछि मात्र काठमाडौंले सही समय पाउन थाल्यो ।

घडी हेर्न थालेपछि पूरै काठमाडौंलाई समय दिने सापकोटाले आफ्नै घरलाई भने समय दिन सकेनन् । चन्द्रागिरी बलम्बुमा बस्ने उनी राति घडी चल्न रोकिएला भन्ने डरले न्युरोडमै डेरा लिएर बस्न थाले । दिनमा पाँच/सातपटक त घडी केही भयो कि भनेर हेर्न मात्र घण्टाघरसम्म धाउने गरेको उनले सुनाए ।

सापकोटा अझै पनि अधिकांश समय घण्टाघरवरिपरि नै भेटिन्छन् । उनका अनुसार अब घडीको केही पनि पार्टपुर्जा बजारमा किन्न पाइँदैन । केही बिग्रेर चाहिहालेमा उनलाई चुनौती हुन्छ, ‘के सामान उपयुक्त होला ? अनि खोज्ने कहाँ ?’ ठ्याक्क यही नै मिल्छ भन्ने टुङ्गो नहुने हुनाले मिल्दोजुल्दो सामानले उनी काम चलाउँछन् ।

यहीसँग सन्दर्भ रहेको करिब एक डेढ महिनाअघिको किस्सा पनि सापकोटाले सुनाए । ‘एक दिन घडी एकाएक बिग्रियो । बनाउनलाई सानो तारको आवश्यक पर्‍यो । दुई दिन खोज्दा पनि मिल्ने साइजको तार कहीँ भेटिएन । दुई दिनसम्मै घडी बन्द रह्यो । तेस्रो दिन भने कवाडी पसलमा राखिएको पुरानो साइकलमा मिल्ने तार भेटेँ । किन्न पाइन्छ भनेर कवाडीवालालाई सोधेको, पचास रुपैयाँ दिनुस् भन्यो । र, त्यही ल्याएर काम चलाएँ । यस्तो त थुप्रै पटक भइसकेको छ,’ उनले सम्झिए ।

सापकोटाले बताएअनुसार घण्टाघरको घडी मर्मत गर्न त्यस्तो धेरै खर्च लागेको छैन । वर्षमा हजारदेखि १५ सयसम्म मात्र खर्च हुने गरेको उनी बताउँछन् । सबैभन्दा धेरै रकम भनेको एकपटक भूकम्प जाँदा खर्च भएको थियो । भूकम्पले क्षत्‌विक्षत् बनाएको घण्टाघरको घडीमा पनि धेरै तोडफोड भएको थियो । त्यसबेलाचाहिँ करिब १२ हजारको हाराहारीमा खर्च भएको उनी बताउँछन् ।

घडी पुरानो भएकाले पनि अब यसलाई चलाउन समस्या हुन थालेको छ । हप्तामा दुईपटकसम्म दम दिनुपर्छ । अब यसको विकल्प भने मर्मत-मर्मत मात्र हो, नयाँ किन्न पाइँदैन । अहिले भएका पार्टपुर्जा पनि थोत्रा भइसकेका छन् । ‘वेल्डिङ’को भरमा काम चलाउनुपरेको छ ।

तर दु:खको कुरा, अबको तीन वर्षपछि घण्टाघर मर्मत गर्ने मान्छे पनि कोही हुने छैन । ६० वर्षे उनले अबको तीन वर्षमा अवकाश पाउँदैछन् । त्यसपछि यसलाई चलाउने कोही हुने छैनन् । ‘अब त यो संग्रहालय बनाएर राखे मात्र हो । मर्मत गर्ने नयाँ मान्छे पनि तयारी अवस्थामा राखिएको छैन । आफ्नो नाम जोडियो । आफ्नो लगानी, मिहिनेत छ । त्यसैले पनि घण्डाघरको अस्तित्व नै सक्ने हुन् कि भन्ने सम्झिएर डर लाग्छ,’ आफ्नो अवकाश हुने दिन नजिकिएकोमा उनी भावुक सुनिए ।

Source: https://shilapatra.com/detail/88613?fbclid=IwAR1lp4n4nZiGDObAxqtYOUsEQzxdl9Ta_U8sKc-TfvQ_CSJVkTNu5SEpjvA

Share
0Shares
Advertisment