चुङ्बा शेर्पा हालै मात्र अफ्रिकी मुलुक तान्जानिया पुगेर फर्किए । वाइल्डलाइफ फोटोग्राफीका लागि अफ्रिकी मुलुक पुगेका उनले आफ्नै गोजीबाट ११ हजार डलर (झण्डै १४ लाख रुपैयाँ) खर्चिए । यत्रो रकम सकिएकोमा उनलाई कुनै पछुतो छैन । किनकि, अफ्रिकी जङ्गलबाट उनले आफूलाई चित्त बुझ्ने केही तस्वीर खिचेर ल्याएका छन् ।
सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ, चुङ्बा शेर्पाले वाइल्डलाइफ फोटोग्राफी थालेको केवल पाँच वर्ष भयो । उनी कुनै औपचारिक अध्ययन गरेर वाइल्डलाइफ फोटोग्राफीमा लागेका होइनन् । तर पनि नेपाली वाइल्डलाइफ फोटोग्राफरको सूचीमा भने उनको नाम अग्रपङ्क्तिमा आउँछ । उनले तीन दशकभन्दा बढी समय पाेट्रेट र ल्याण्डस्केप फाेटाेग्राफी गरेका थिए । तर, पाँच वर्षकाे अवधिमै वाइल्डलाइफ फाेटाेग्राफीबाट उनले नाम कमाए ।

ओम यादव, विशाल गौतम, सागर गिरी, दशरथ श्रेष्ठ विजुक्छे, सुदीप केसी, उत्सवजंग थापा, पुरुषोत्तम पोखरेल, अगस्टसिंह लामा पनि नेपालका नाम चलेका वाइल्डलाइफ फोटोग्राफर हुन् । यद्यपि, फोटोकार स्तम्भकाे आजको अंकमा चाहिँ हामीले सोलुखुम्बुका ६२ वर्षे चुङ्बा शेर्पालाई चुनेका छौँ । देश, विदेशमा आफूले खिचेका केही तस्वीर, त्यसको सन्दर्भ र अनुभूतिबारे उनले हामीसित केही कुरा शेयर गरेका छन् । सबैभन्दा पहिला चुङ्बाले खिचेका केही तस्वीरकाे चर्चा गराैँ:
लजालु चितुवालाई पर्खँदा

चुङ्बा जे गर्न चाहन्छन्, त्यसका लागि उनी जतिसुकै प्रतीक्षा र परिश्रम गर्न पनि तयार हुन्छन् । उनको सिङ्गो जीवन यसको प्रमाण हो । फोटोग्राफीको सपनालाई ‘कोमा’मा राखेर उनले परिवारका लागि काम गरे । जसै सबै ठीकठाक भयो, उनले आफ्नो सपना ब्युँताए र क्यामेरा समाते ।
वाइल्डलाइफ फोटोग्राफीमा लाग्दैगर्दा उनलाई हिउँ चितुवाको फोटो खिच्ने उत्कट इच्छा थियो । तर, यो काम उति चानचुनेचाहिँ थिएन । यसका लागि धेरै परिश्रम, प्रतीक्षा र खर्च गर्नुपर्थ्यो । यतिले मात्रै पुग्दैन, भाग्य पनि चाहिन्थ्याे । चुङ्बा यसका लागि तयार भए । दुईपल्टको प्रयासमा उनले हिउँ चितुवाको फोटो खिचे । पाँच वर्षभित्र चुङ्बाले खिचेका चर्चितमध्ये एक तस्वीर याे पनि हाे । हिउँ चितुवालाई घोस्ट अफ हिमालय पनि भनिन्छ ।
यो फोटो खिच्न चुङ्बाले निकै मिहिनेत गरेका रहेछन् । सन् २०१९ को अप्रिलमा पहिलोपल्ट उनी हिउँ चितुवाको फोटो खिच्न भनेर ८ दिनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र मनाङ पुगे । बास हाेटलमा बसे पनि उनी बिहान ६ बजे नै हिउँ चितुवाको खोजीमा निस्कन्थेँ अनि साँझ ७ बजेतिर मात्र हाेटल फर्कन्थे । ‘चितुवाको पर्खाइमा दिनभरि ५ हजार ५ सय मिटरको उचाइमा पाल टाँगेर बसियो तर आउँदै आएन’, चुङ्बा सुनाउँछन् ।
आठ दिन डुल्दा पनि हिउँ चितुवाको पाइलाभन्दा अरु केही नभेटिएपछि त्याे बेला उनी रित्तै फर्किए । तर, पाँच महिनापछि सेप्टेम्बरमा उनले फेरि अन्नपूर्ण संरक्षण क्षेत्रका लागि झाेला कसे । तर, यसपल्ट उनी होटलमा नबस्ने भए । हिउँ चितुवा भेटिने क्षेत्रमा पाल टाँगेर बस्ने निधो गरे । यसका लागि ओढ्ने, ओछ्याउने, खानेकुरा, ग्यास स्टोप, भरियासहित बन्दाेबस्तीका सबै सामान बाँधे ।
४ हजार ६ सय मिटर उचाइमा पाल टाँगेर बसेको १२औँ दिन साँझ ५ः२० मा ‘घोस्ट अफ हिमालय’ले दर्शन दियो । पालबाट उनी हतारिँदै बाहिर निस्किए । चुङ्बाले लगाएका थिए अमेरिकाबाट झिकाएको कस्टम, जसको रङ हिउँ चितुवाकै जस्तो थियो । यस्तो कस्टम जनावरले नचिनोस् भनेर वाइल्डलाइफ फोटोग्राफरले लगाउने गर्छन् ।
उनले हिउँ चितुवाका केही फोटो खिचिभ्याए । उनको परिश्रम र प्रतीक्षा काम लाग्यो । ‘त्यो बेला मभित्र खुसीको सीमा नै थिएन’, चुङ्बा सम्झिन्छन् ।
.jpg)
हुन पनि हिउँ चितुवालाई क्यामेरामा कैद गर्न पाउनु चानचुने कुरा होइन । एक त यो दुर्लभ प्राणी हो, त्यसमाथि लजालु हुने भएकाले विरलै देखिन्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले हिउँ चितुवालाई अति दुर्लभको सूचीमा राखेकाे छ । नेपालसहित संसारका केवल १२ देशमा हिउँ चितुवा पाइन्छ । अनि यस्तो दुर्लभ जनावरको फोटो खिच्न पाउँदा कुनचाहिँ वाइल्डलाइफ फोटोग्राफर खुसी हुँदैन होला ? अहिलेसम्म आफूले खिचेकामध्ये उनलाई चित्त बुझेको फोटोमध्ये हिउँ चितुवाको फाेटाे एक हो ।
चितुवाजस्तै बिरालाे (सर्भल क्याट)
हेर्दा चितुवाजस्तै देखिने जङ्गली बिरालो (सर्भल क्याट) उत्तरी अफ्रिकामा पाइने दुर्लभ जन्तु हो । तान्जानियाको ताराङ्गिर राष्ट्रिय निकुञ्ज घुम्ने क्रममा चुङ्बाले सर्भल क्याटलाई आफ्नो क्यामेरामा कैद गरे । फोटोका लागि सहजीकरण गर्ने सर्तमा उनले आफ्ना गाइडलाई सय डलर टिप्स दिएका थिए । त्यसैले ती नेचर गाइडले मौका छोपेर उनलाई अफरोडतिर लगेर टिप्सकाे गुन तिरे । अफरोड भनेको निकुञ्जले पर्यटकलाई जान प्रतिबन्ध लगाएको क्षेत्र हो । अर्थात् सडकबाट हिँडेर उनी बाक्लै जनावर पाइने जंगलतिर जान पाए ।
‘अफरोडमा गएर फोटो खिच्न मनाही थियो तर अरूभन्दा उत्कृष्ट फोटो खिच्न यो रिस्क नलिई हुँदैनथ्याे’, चुङ्बा भन्छन्, ‘त्यसैले त सर्भल क्याटको तस्वीर खिच्न पाएँ ।’

खासमा उनी सर्भल क्याटकै फोटो खिच्छु भनेर त्यहाँ गएका थिएनन् । तर, उनले अफराेड यात्रामा एक्कासि यो दुर्लभ जीवको दर्शन पाए । खिच्न त उनले सिंह, जेब्रा, जिराफलगायत थुप्रै जनावरको तस्वीर खिचेका छन् । यीमध्ये आफूलाई सबैभन्दा बढी मन परेको तस्वीर सर्भल क्याटकै भएको चुङ्बा बताउँछन् । यसअघि उनलाई सर्भल क्याटका बारेमा थाहा रहेनछ । आफूले फोटो खिचेपछि उनले गुगलमा सर्भल क्याटबारे खोजी गरे । तर, आफूले खिचेको फोटो नै उत्कृष्ट पाएकाे चुङ्बाकाे भनाइ छ ।
गत १३ जूनमा तान्जानियाका लागि उड्नुअघि उनले त्यहाँको मौसमबारे सोधीखोजी गरेका थिए । धेरैले उनलाई अत्यधिक गर्मी हुने भएकाले त्यहीअनुसार कपडाकाे बन्दाेबस्त गर्न सुझाएका थिए । ‘तर त्यहाँ चिसो रहेछ । जंगलमा छिरेपछि झनै चिसो । घाम त लागेको थियो तर शरीर काँप्ने गरी जाडो रहेछ । धन्न मैले पातलाे भए पनि ज्याकेट लिएर गएको थिएँ’, उनले भने । उनले संसारकै दोस्रो ठूलो सेरेनगेटी संरक्षण क्षेत्र, जोनकी राष्ट्रिय निकुञ्जमा सिंह, चिता, जिराफ, जेब्रालगायतको तस्वीर खिचे ।
प्रधानमन्त्रीलाई वनमन्त्रीको उपहार

२९ जुलाईमा विश्व बाघ दिवसको अवसर पारेर वनमन्त्री प्रदीप यादवले काठकाे ठूलाे फ्रेममा सजाइएको एक तस्वीर प्रधानमन्त्री शेरबहादुर देउवालाई उपहारस्वरूप दिए । फाेटाेमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने एक नदी तर्दै गरेकाे पाटे बाघ देखिन्छ । यो फोटो तीन वर्षअघि चुङ्बा शेर्पाले नै खिचेका हुन् । बाघ दिवसको कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषले मुख्य ब्यानरमा यही तस्वीर राखेको थियो भने राष्ट्रिय निकुञ्ज विभागको मुख्य प्रवेशद्वारअगाडि ठूलो ब्यानरमा पनि याे फाेटाे अझै देख्न सकिन्छ ।
चुङ्बाका अनुसार, धेरै मिडियाले समेत उक्त तस्वीर छापेका छन् । फोटो उनले साँझकाे समयमा खिचेका थिए । तस्वीर खिच्ने क्रममा बाघसँग उनको इन्काउन्टरसमेत भएको थियो । ‘तर भागेर ज्यान बचाइयो’, उनले सुनाए, ‘याे कामै जाेखिमपूर्ण हाे । कहिले जंगली हात्तीसँग भेट हुन्छ, कहिले चितुवासँग, कहिले गैँडासँग ।’
उनीसँग यस्ता कैयाैँ तस्वीर छन् । र, अझ राम्राे तस्वीर खिच्ने उनकाे याेजना छ । दुर्लभ जनावरहरूकाे फाेटाे खिच्ने उद्देश्यले केही महिनापछि उनी हुम्लाकाे लिमी भ्याली जाँदैछन् । याे क्षेत्र नेपाल-तिब्बतकाे सीमामा पर्छ ।
सिनेमाकाे कथाजस्तै चुङ्बाकाे जिन्दगी

सुन्नलाई कुनै सिनेमाजस्तै लाग्छ चुङ्बाको ‘जीवनकथा’ । ‘जिरो’… अझ भनौँ, ‘माइनस जिरो’बाट उठेर उनले अजमाएको सफलता प्रेरणादायी छ । र, व्यावहारिक वा पारिवारिक कारणले पूरा हुन नसकेको सपनाका लागि काम गर्न उमेर बाधक हुन सक्दैन भन्ने सन्देश पनि चुङ्बाले दिएका छन् ।
सानैदेखि क्यामेरासित उनको प्रेम थियो । फोटोग्राफर बन्ने सपना थियो । तर, चुङ्बा शेर्पाका अगाडि बाधा व्यापक थिए । गरिब बाआमाको कोखबाट जन्मेका थिए । त्यसमाथि पाँच वर्षकै उमेरमा आमा तेमायाङ्जी शेर्पा बितिन् । आलु, मकैलगायत खेतीपाती नै उनीहरूको मुख्य आयस्रोत थियो । २०२५-३० सालमा सोलुखुम्बमा अचेलजस्तो चहलपहल कहाँ हुन्थ्यो र ? खेतीपातीमा निर्भर किसानको अवस्था दयनीय थियो ।
अन्नबालीले केही महिना मात्र खान पुग्ने भएकाले त्यहाँका धेरैजसो मानिस पर्यटकका भारी बोकेर घरको गर्जो टार्थे । चुङ्बा शेर्पा पनि यसका लागि बाध्य बने । किनकि, घरको आर्थिक अवस्था ठीक थिएन । उनी १८ वर्षको हुँदा बुबा निमतेन्जी शेर्पाले पनि अन्तिम सास लिए । यसअघि एक दाइ गुमाइसकेका चुङ्बाका तीन दिदीहरू थिए । अब घरको जिम्मेवारी चुङ्बाकै काँधमा आइपर्यो । गरिबीकै कारण उनले ८ कक्षाभन्दा अगाडि पढ्न पाएनन् । फोटोग्राफीको सपना त ‘कोमा’मै पुगिहाल्यो । तर, उनी हार्नेवाला थिएनन् ।
संघर्षको यात्रामा चुङ्बा रोकिएनन् । सगरमाथा रहेको सोलुखुम्बुमा उनले भरियाको काम गरे । अलिक पछि पर्यटन व्यवसायमा जोडिए । अझै पछि उड्डयन क्षेत्रमा काम गरे । अनि यती एयरलाइन्सको स्टेसन म्यानेजरसम्म बने ।
जागिरपछि भने उनकाे आर्थिक स्थितिमा केही सुधार आयो । केही वर्षमै उनले एक होटल किने, जुन अहिले लुक्लाकै शानदार रिसोर्टमध्येमा पर्छ । आफूले दुःख पाए पनि छोराछोरीलाई उनले राम्रैसित ‘सेटल’ गराए । उनका जेठा छोरा छेवाङ दोर्जे डाक्टर छन्, जो खाङ्ग्री इन्टरनेसनल हस्पिटलका प्रमोटर पनि हुन् । कान्छी छोरी बन्दा शेर्पा यती एयरलाइन्सकी क्याप्टेन हुन् । जेठी छोरी र कान्छा छोरा होटल व्यवसायमा जमेका छन् ।
चुङ्बाले पैसा पनि राम्रै कमाए । छोराछोरीलाई आ-आफ्नो बाटो लगाइदिए । कुनै बेला पेट पाल्न भरियाकाे कामसमेत गरेका चुङ्बा शेर्पा लुक्लाकाे शानदार खम्बु रिसाेर्टकाे साहु बने । काठमाडाैंकाे धुम्बाराहीमा घर किने । तैपनि उनी चैनसँग बस्न सकेनन् । किनकि, वाइल्डलाइफ फाेटाेग्राफी गर्ने उनकाे इच्छा पूरा भएकै थिएन । त्यसैले ५७ वर्षकाे उमेरमा चुङ्बा क्यामेरा भिरेर देश/विदेशका जंगलतिर निस्किए ।
‘वाइल्डलाइफ फोटोग्राफी आफैँमा एक जोखिमपूर्ण विधा हो । यसका लागि तपाईंलाई परिवारको समर्थन छ त ?’
उनले झट्टै उत्तर दिए, ‘गज्जबको साथ छ । त्यसैले त म खुला रूपमा आफूले चाहेको ठाउँमा जान्छु, फोटो खिच्छु र आउँछु ।
औपचारिक शिक्षाको नाममा चुङ्बाले ८ कक्षासम्म मात्र पढेका छन् । वाइल्डलाइफ फोटोग्राफीको कोर्स उनले केही वर्षअघि अनलाइनमार्फत गरेका हुन् । दिनरात नभनी आफूले वाइल्डलाइफ फोटोग्राफी सिकेको चुङ्बा बताउँछन् ।
‘जित्नका लागि मुटु चाहिन्छ, उमेर होइन’, चुङ्बा भन्छन्, ‘हातगाेडाले सक्दासम्म म फाेटाेग्राफी गर्नेछु । वाइल्डलाइफ फोटोग्राफीलाई सामान्य फोटोग्राफीभन्दा धेरै नै चुनाैतीपूर्ण छ । यसमा कला मात्र भएर पुग्दैन, साहस, धैर्यता र परिश्रम पनि चाहिन्छ ।
चुनाव जितेका भए…
चुङ्बा शेर्पा यति बेला वाइल्डलाइफ फोटोग्राफीमा नहुन पनि सक्थे, यदि २०७४ सालको चुनाव जितेका भए । फोटोग्राफीमा सौख भए पनि उनलाई स्थानीय तहमा चुनाव लड्न धेरैले सुझाव दिए । फोटोग्राफीमा सक्रिय हुने योजना बनाएका चुङ्बाले एकाएक मुड बदले र खुम्बु पासाल्हामु गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिए । तर, एमालेका मिङ्मा छिरी शेर्पासित हारे । तैपनि चुङ्बासँग अर्को मनलाग्दो विकल्प थियो नै ।
गाउँपालिका अध्यक्ष हुने चाहना पूरा नभए पनि वाइल्डलाइफ फोटोग्राफीमा दौडिन अब उनलाई कुनै छेकबार रहेन । त्यसयता उनी सक्रिय रूपमा फोटोग्राफीमा लागेका हुन् ।
पैसाका लागि खिच्दैनन्

वाइल्डलाइफ फोटोग्राफी चुङ्बाको सोख हो । त्यसैले आफूले खिचेका कुनै पनि तस्वीर नबेचेको उनको दाबी छ । हुन पनि वाइल्डलाइफ फोटोग्राफीकै लागि उनले आधुनिक क्यामेरा र लेन्स गरी करिब ३० लाख रुपैयाँ लगानी गरेका छन् । यति मात्र होइन, डेढ करोडको ल्याण्डरोवर गाडी आफूले वाइल्डलाइफ फोटोग्राफीमा पनि काम लाग्छ भनेरै किनेको चुङ्बा बताउँछन् । लुक्ला एयरपोर्टछेउमा १९ लाखमा किनेको होटललाई उनले खुम्बु रिसोर्ट नाम दिएका छन् ।
‘पाेट्रेट र ल्याण्डस्केप फोटोग्राफी छोडेर तपाईंले किन वाइल्डलाइफजस्तो जोखिमयुक्त विधा चुन्नुभयो ?’
केही बेर सोचेर चुङ्बा जवाफ फर्काउँछन्, ‘२४-२५ वर्षको उमेरमै मेरो हातमा क्यामेरा थियो । मैले झण्डै ४० वर्ष पाेट्रेट र ल्याण्डस्केप फोटोग्राफी गरेँ । पारिवारिक परिस्थितिवश म त्यसमा खासै राम्रोसँग जम्न सकिनँ । वाइल्डलाइफ फोटोग्राफी मेरो सपना पनि हो । उमेर पनि पाको भएकाले यही नै सही लाग्यो ।’
ग्याजेटका साेखिन
उनीसँग अहिले अत्याधुनिक क्यामेरा र लेन्सहरू छन् । हालै मात्र चुङ्बाले क्यानोनको आर थ्री (मिररलेस) क्यामेरा झिकाएका छन्, जुन डीएसएलआरमा संसारकै महँगोमध्ये पर्छ । क्यानोनकै फाइभ डी मार्क थ्री क्यामेरा पनि छ उनीसँग । उनको साथमा १३ हजार डलर पर्ने ६ सय एमएमको एफ फोर लेन्स छ । नयाँ क्यामेरा आउनासाथ उनले प्रि–अर्डर गर्ने गरेका छन् । ‘ग्याजेट्समा मेरो रुचि पहिल्यैदेखि हो’, उनको दाबी छ, ‘गाउँमा सबैभन्दा पहिलो एन्टिनावाला टीभी जोड्ने मै थिएँ, कम्प्युटर लगेर इन्टरनेट चलाउने मै थिएँ ।’
याेजना
उमेर हुँदा उनले जति कमाए, पाको हुँदै जाँदा फोटोग्राफीका लागि खर्चिरहेका छन् । जहिलेसम्म चल्छ, उनी यसैगरी अघि बढ्न चाहन्छन् ।
वाइल्डलाइफ फोटोग्राफीकै लागि अब उनी अमेरिका, युगाण्डा, श्रीलंका, केन्यालगायतका देश जाने विचारमा छन् । उनलाई तान्जानियामा यसपालिको बसाइ निकै छोटो लागेको रहेछ । त्यसैले फेरि खास योजना बनाएर तान्जानिया जाने उनी बताउँछन् ।तत्कालको योजना भनेको हुम्लाको लिमी भ्याली जाने हो, जहाँबाट दुर्लभ जनावरहरूको फोटो खिचेर ल्याउने उनको सोच छ ।
https://shilapatra.com/detail/92886?fbclid=IwAR2gg70MGo_Yo1_mVCzv30aCKKEmisVlFbvE3wuKz-yDCYpzCyA7e6BneA8
Share



