‘अस्पताल’ खोलेका छन्, ‘उपचार’ पनि आफैँले गर्छन् तर ‘डाक्टर’ हैनन्

Share
0Shares

बोर्ड छ अस्पतालको। तर, कोठा सानो छ। बिजुलीमा जोड्नु पर्ने स–साना तीनवटा मेसिन। उज्यालोका लागि मन्दिरमा झुण्डिएको घण्टी जस्तो केहि बत्ती। भित्तामा टासिएको बाबा बिश्वकर्माको फोटोहरू। दराजको कुनामा सानो शिव लिङ्ग। पानी खाने केही बोत्तल। बस्ने एउटा बेञ्च।

सेताम्य कपालका रामचन्द्र ठाकुर दिनभर यही ‘अस्पताल’मै हुन्छन्। उनी नै हुन् ‘उपचार गर्ने’। तर, डाक्टर हैनन्। घाइते भएका थरी-थरीका ‘विरामी’ ल्याउँछन् उनका ग्राहकहरू। उनी टिलिक्क पारेर फर्काइदिन्छन्।

मित्रपार्क चोकमा छ यो ‘अस्पताल’। बोर्ड एउटा हैन तीन वटा छन्। जसमा लेखिएको छ ‘कैँची अस्पताल।’ उनको कामै भुत्ते भएका कैँचीमा धार भरेर पुन सक्रिय बनाइदिने हो, विरामी भएर अस्पताल पुगेकाहरूको बिग्रिएका पाटपुर्जा ठिक पारेझैँ।

उनले अहिलेसम्म त्यस्ता कति वटा विरामी कैँचीको उपचार गरे उनीसँग तथ्याङ्क छैन। तर, उनलाई यत्ति चाही थाहा छ, ‘जहिले देखि काम गर्छु भनेर सोचे’ हातले कैँची र हतियार नै समाए।

तर ‘कैँची अस्पताल’ नाम कसरी रह्यो उनी आफैँलाई थाहा छैन।

‘मैले त यो नाम पनि सोचेको थिइन। एउटा बोर्ड बनाउन जाउ न त भनेर गएको। त्यहाँको भाईले यस्तो बनाइदिएछ,’ उनले भने।

अस्पतालनजिकै उनको कोठा छ। बिहान सबेरै उठेर नित्य काम सक्काएपछि खाना बनाउँछन् अनी कैँची अस्पताल खोल्न पुगिहाल्छन्। कैँची अस्पतालको सरसफाइसँगै पूजा सकेपछि उनको उपचारको काम शुरु हुन्छ। ११ बजेतिर खाना खान कोठामा फर्कन्छन्। अनि उही काम।

उनको परिवारका सबै सदस्य गाउँमै छन्। उनी काठमाडौंमा एक्लै। कोठामा गएर गर्नुपर्ने काम उही खाना पकाउने, भाँडा धुने अनि सुत्ने। त्यसैले उनको अधिकांश समय कैँची अस्पतालमै बित्छ।
OOO
रौतहटको गौरमा जन्मिएका ठाकुरको बाल्यकाल खासै रमाइलो भएन। घरमा आमाबाले पनि हतियारमा धार लगाउँथे। अन्य अभिभावकले बच्चाले हतियार चलाउन हुँदैन भनेर हकार्दा उनी हतियार चलाउन मात्रै हैन धार हान्न समेत सिपालु भइसकेका थिए।

पहिलो पटक हतियार समाउँदा उनि कति वर्षका थिए हेक्का पनि रहेनछ। उनलाई बस यति थाहा छ, ‘पढ्न मन नगरेपछि’ काम गर्नैपर्यो।

खासमा घर नजिकैको स्कुलमा उनलाई भर्ना गरिदिएका रहेछन् अभिभावकले। ‘तर, केहि दिनपछि मलाई पढ्नै मन लागेन’ उनी सम्झिन खोज्दै भन्छन्, ‘अनि स्कुल जान छोडिदिए।’

उनले सानैमा सक्नेभन्दा बढी काम काम गरे। १५ वर्षको उमेरमै साथी-भाई मिलेर काठमाडौं आइपुगे। आफन्तहरूको डेरामा लामो समय टिक्न सकेनन्। अनी आफ्नो सामान सहित डुल्न थाले। फुटपाथलाई कर्मथलो बनाए।

गाउँबाट ल्याएको केही सामानै उनको पसल थियो। त्यही पसल बोकेर उनी ग्राहकको घर-घर पुग्न थाले। हनुमान ढोकामा पनि उनले लामो समय आफ्नो कैँची अस्पताल चलाए।

‘त्यतिखेर अहिलेको जस्तो कडा थिएन। सजिलैसँग जहाँ पनि काम गर्न पाइन्थ्यो। धन्न अहिले चाहिँ समयमै सटरमा पसल राखेछु’, उनी भन्छन्।

उनी हतियारमा धार लगाउन मात्रै खप्पिस छैनन्। फर्निचर र बोरिङ्गको काम गर्न पनि सिपालु छन् रे। ती सब उनले देखेरै सिकेको सीप।

काठमाडौंलाई उनले १५ वर्षको उमेरमा कर्मथलो रोजे। कपाल फुलिसक्दा पनि उनी यहिँ छन्। तर, अझै आफूलाई काठमाडौंले स्वीकारेको जस्तो लाग्दो रनेहछ उनलाई। अझै केही काठमाडौंवासीको शब्दले बिझ्छ उनलाई। मधेशी लवज अनि मधेशको स्वरूप हुन् उनलाई बेलाबेला चित्त दुखाउने।

‘अब त बानी नै भइसक्यो। नराम्रो लागेर पनि के गर्नु। कति जनासँग रिसाउनु’ अलि नमिठो अनुहार बनाउँदै उनले भने, ‘अहिले पनि हेप्छन्। हत्तपत्त कसैले विश्वास गर्दैनन्। नयाँ ग्राहकहरू अलि बढि झर्केर बोल्ने गर्छन्।’
अहिले उनको कैँची अस्पतालसँगैको पल्लो घरमा पनि त्यस्तै पसल खुल्यो। ग्राहक बाँडिए। आम्दानी घट्यो।

‘अहिले जताततै पसल छन्। पहिला मान्छेहरू कुरेर बसिरहन्थे। आजकलका मान्छेहरू कुर्दैनन्। पसलमा अर्को मान्छे देख्यो भने गइहाल्छन्’ उनले भने।

आफ्नो कामलाई जोखिमपूर्ण मान्छन् उनी। हतियारसँग खेल्नु जोखिमै त हो। धार लगाउँदा हात काटिनु सामान्य नै हो। ग्राहकलाई खुसी पार्न पसिना मात्रै हैन आफ्नै रगत पनि मिसाउनुपर्छ भन्छन् उनी।

गएको साल मात्र काम गर्दागर्दै एक्कासी मेसिनको चक्का फुट्दा उनको टाउकोमा गहिरो चोट लाग्यो। दराजको सिसाहरू पनि फुट्यो। सिलिङ्गमा प्वाल पर्यो।

सिलिङ्गलाई बाबा विश्वकर्माकै फोटोले टालेका रहेछन् अहिले। तर, उनको टाउकोमा लागेको खत टालिएको छैन। प्रष्टै देखिन्छ।

‘गार्हो त गार्है छ। चोट लागिरहन्छ। तर, के गर्नु काम त गर्ने पर्यो । यहि काम आउँछ। सजिलो पनि लाग्छ,’ उनले भने, ‘मान्छेको मृत्युको केही ठेगान हुँदैन भन्छन्। यसरी नै मर्न लेखेको छ भने त के नै गर्न सकिन्छ र!’

आफ्नो उमेर कति पुग्यो उनलाई ठ्याक्कै याद छैन। ६० वर्ष पुग्यो कि भन्छन्। उनलाई सधैँ हेक्का रहने भनेको आफ्नो सीपै हो जुन उनले आफूपछिको पुस्तालाई नि हस्तान्तरण गरिसकेका छन्।

गाउँमा कसैको हतियारमा धार लगाउनु परे उनका छोराहरूले लगाइदिन्छन्। त्यसैले उनी अझै गाउँ जाने मुडमा छैनन्। जबसम्म सकिन्छ तबसम्म काठमाडौंमै बस्छु भन्छन्। Source: ukera

Share
0Shares
Advertisment