मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

Share
0Shares

 

ताप्लेजुङमा गत बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको गृह जिल्ला कास्कीमा राजकीय सम्मानको साथ अन्त्येष्टि गरिएको छ ।

गण्डकी प्रदेश सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संयुक्त आयोजनामा शुक्रबार पोखरामा मन्त्री अधिकारीको राजकीय सम्मानको साथमा शव यात्रासहित अन्त्येष्टि गरिएको हो । पोखराको रामघाटमा उनको अन्तिम दाहसंस्कार गरिएको हो । उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराइ, मन्त्री अधिकारीका छोराहरु विराज र स्वराज अधिकारीले दागबत्ति दिएका हुन्।

पोखरा प्रदर्शनी स्थलमा करिब ४ घण्टासम्म श्रद्धाञ्जलि सभापछि, नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा पुगेर शवयात्रा टुंगिएको थियो । शव यात्रामा राजनीतीक दलका नेता, कार्यकर्ता, आम सर्वसाधारण जनताहरुको उल्लेखनिय रुपमा सहभागीता रहेको थिए ।

मन्त्री अधिकारीको पार्थिव शरीरमा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिएका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएर मन्त्री अधिकारीलाई श्रद्धाञ्जलि दिएका थिए ।

Share
0Shares
Advertisment