प्राविधिकले राजिनामा दिँदा पुनर्निर्माण प्रभावित

Share
0Shares

अमरराज नहर्की
तनहुँ, ८ असोज । तनहुँमा भुकम्पले क्षति पुगेको निजी आवासको पूनर्निर्माण कार्य प्राविधिकको अभावले प्रभावित भएको छ । कोरोना भाईरसबाट सङ्क्रमित हुने डरले धमाधम राजिनामा दिन थालेकाले पुनर्निर्माणको कामले गति लिन सकेको छैन ।

५२ करारमा नियुक्त मध्ये १३ ले राजिनामा दिई ३३ जना मात्रै फिल्डमा खटिएकाले काम प्रभावित भएको जिल्ला आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को कार्यालय तनहुँका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिनुभयो । ‘‘घर मापदण्ड अनुसार बनेको तथा नबनेको हेर्ने, घर निर्माणको आधारमा सरकारले व्यवस्था गरेको अनुदानको किस्ताबन्दी रुपमा भुक्तानीको लागि सिफारिस गर्ने जस्ता कार्य प्रभावित भएका छन्’’, एकाईका प्रमुख गुप्ताले भन्नुभयो ।

अधिकांश प्राविधिक कोरोनाबाट धेरै प्रभावित क्षेत्र तराईका जिल्लाका रहेका छन् । उनीहरु काममा फर्कदा क्वारेन्टिनमा बस्नु पर्ने जस्ता झन्झट भएकोले राजीनामा दिनेहरु बढ्दै गएको कार्यालयका नायव सुब्बा रामराज न्यौपानेले जानकारी दिनुभयो । २०७२ साल वैशाख १२ गतेको भुकम्पबाट तनहुँमा पूर्ण क्षति भएका १४ हजार ३९५, आंशिक क्षति एक हजार ५६८ गरी १५ हजार ९६३ लाभग्राही रहेको एकाईले जनाएको छ । लाभग्राही मध्ये ९१ प्रतिशतले सम्झौता गरी पहिलो किस्ता लगेको, ६६ दशमलव २५ प्रतिशतले दोस्रो किस्ता लगेको र ६० प्रतिशतले तेस्रो किस्ता लगेको आयोजना प्रमुख गुप्ताले बताउनुभयो ।

Share
0Shares
Advertisment