निरोगी र दीर्घरोगी दुबैका लागि प्राकृतिक चिकित्सा पद्धति वरदान

Share
79Shares

काठमाडौँ, १५ मङ्सिर । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले दीर्घरोगीका लागि प्राकृतिक चिकित्सा पद्धति (नेचुरोपेथी) अस्पताल बरदान भएको बताउनुभएको छ । काठमाडौंको बसुन्धारास्थित काठमाडौं नेचुरोपेथी अस्पतालको प्रथम बार्षिकोत्सव तथा रक्तदान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले निरोगी र रोगी दुबै व्यक्तिका लागि नेचुरोपेथी उपयोगी रहेको बताउनुभयो । सबै अस्पताल धाएर नेचुरोपेथी अस्पताल आउनुभन्दा सुरुमै नेचुरोपेथीबाट उपचार गराउन उपयुक्त हुने मन्त्री श्रेष्ठले बताउनुभयो ।

नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री इन्द्रबहादुर गुरुङले नेचुरोपेथी उपचार गराएकै कारण आफू ८३ बर्षको उमेरमा पनि स्वस्थ रहेको बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य देवेन्द्र पराजुली र सोभियत ढकालले प्राकृतिक पद्दति अहिले सबैका लागि आवश्यक रहेको बताउनुभयो । यसका लागि राज्यको पनि ध्यान जानुपर्ने उहाँहरुको भनाइ थियो ।
नेपाली चलचित्रका नायक रमेश उप्रेती तथा नेपाल प्रहरीका एसपी दानबहादुर कार्कीले प्राकृतिक चिकित्साप्रति विश्वास गर्ने भएकाले आफूहरु नियमित रुपमा नेचुरोपेथी सेवा लिने गरेको बताउनुभयो । कलाकारका लागि नेचुरोपेथी झनै आवश्यक रहेको उहाँले बताउनुभयो ।
टोखा नगरपालिका ५ का वडाअध्यक्ष जगन्नाथ ढकाल, जिल्ला विकास समिति लमजुङका पूर्वसभापति जीवनराज विष्ट, वरिष्ठ पत्रकार टंक पन्त लगायतले नेचुरोपेथी अस्पतालको सफलताको कामना गर्नुभएको थियो ।
कार्यक्रममा अस्पतालका अध्यक्ष गणेश पाण्डेले दीर्घकालिन रोगीहरुको संख्या बढेकाले प्राकृतिक चिकित्साको खाँचो दिनानुदिन बढ्दै गएको बताउनुभयो । काठमाडौँ नेचुरोपेथी अस्पतालले गुणस्तरीय सेवा दिइरहेको उहाँले बताउनुभयो ।
अस्पतालका मेडिकल निर्देशक डा यञ्जन गैह्रेले प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, योगथेरापी, अकुपञ्चर, अकुप्रेसर, भोजन परामर्शलगायत सेवा प्रदान गरिरहेको बताउनुभयो । विनाऔषधि र विनाशल्यक्रिया उपचार गरिने काठमाडौं नेचुरोपेथी अस्पतालमा प्यारालाइसिस, ब्रेन ह्यामरेज, नशा च्यापिएको, हड्डी खिइएको तथा कम्मर, गर्धन दुखाई, बाथ, उच्च रक्तचाप, ग्याष्ट्रिक, मोटोपन, दम जस्ता रोगको उपचार गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा गैह्रेले जानकारी दिनुभयो ।

Share
79Shares
Advertisment