सर्वदलीय बैठकमा सरकारको आलोचना ः गणतान्त्रिक शक्तिलाई एक हुन र प्रतिगमनका नाममा हुने संविधानविरोधि र हिंसात्मक गतिविधि सह्य नहुने प्रम ओलीको भनाइ

प्रधानमन्त्री ओलीले केही समय यता प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने स्पष्ट गर्दै कोरोना रोकथाम र नियन्त्रणमा सरकारले गर्दै आएका कामबारे पनि प्रकाश पार्नुभएको थियो ।

Share
0Shares

काठमाडौँ, २३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा आव्हान गर्नुभएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलहरुले देशमा भ्रष्टाचार बढेको, कोभीडको रोकथाम हनु नसकेको र संविधानविरोधीहरु सलबलाउन थाल्दा पनि सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन ।

संसदमा प्रतिनिधित्व गर्नुहुने प्रमुख राजनीतिक दलका प्रमुख नेता एव प्रतिनिधिहरु सहभागी सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति अहिलेको अवस्थामा एक हुन र रहन आग्रह गर्नुभयो । उहाँले केही समय यता प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने स्पष्ट गर्दै कोरोना रोकथाम र नियन्त्रणमा सरकारले गर्दै आएका कामबारे पनि प्रकाश पार्नुभएको थियो । बैठकमा सत्तारुढ नेपाल कम्म्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियो ।

सो अवसरमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले सडकमा भएको प्रदर्शन सरकारले नैतिक शक्ति गुमाउँदाको उपज भएको बताउँदै संसद अधिवेशन चाँडै समाप्त गरेर अध्यादेशले देश चलाउन खोजेको आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीसामु एक दर्जन प्रश्न तेस्याउँदै उहाँले सडकमा देखिएको असन्तुष्टिको कारण राजाकोजस्तै राष्ट्रपतिको तामझाव भएको बताउनुभयो । पौडेलले प्रधानमन्त्री ओलीले संविधानको मर्म नबुझेको तथा आफ्ना मन्त्रीहरुको भ्रष्टाचार काण्डको बचाउ गरेकोमा पनि आलोचना गर्नुभयो । सरकार संविधानको मर्मअनुसार नचल्दा सडकमा असन्तुष्टि देखिएको बताउँदै कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले देशमा वेथिति,भ्रष्टाचार बढेको, तनहुँमा वरिष्ठ नेता पौडेलमाथि अप्रजातान्त्रिक हर्कत भएको र सरकारले प्रभावकारी ढंगले कोरोना रोकथाममा ध्यान दिन नसकेको आरोप लगाउनुभयो । सो अवसरमा राजनीतिक दलका नेताहरुले सरकारप्रति असन्तुष्टि बढेपनि व्यवस्थाविरुद्ध भएका गतिविधिमा साथ नरहने धारणा राख्नुभएको थियो ।

 

Share
0Shares
Advertisment