प्रधानमन्त्री ओलीले लिनुभएको शपथ बदरको माग गर्दै सर्वोच्चमा चार रिट दर्ता

रिट निवेदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावलीलाई ‘त्यो पर्दैन’ भनेर वाचन गर्दा राष्ट्रपति संस्थाप्रति मानमर्दन भएको जनाइएको छ ।

Share
0Shares

काठमाडौँ, ३ जेठ \ प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा चार वटा रिट निवेदन दर्ता भएका छन् । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवालले छुट्टाछुट्टै चार वटा रिट निवेदन दर्ता गर्नुभएको हो ।

उक्त निवेदनमाथिको सुनुवाइ मङ्गलबार तोकिएको छ । रिट निवेदनमा प्रधानमन्त्री ओलीले लिनुभएको शपथमा केही शब्दहरु उच्चारण नै नभएको, जुन कार्य गैरसंवैधानिक भएको र आफूअनुकुल शब्द प्रयोग गरी शपथ ग्रहण गर्न नमिल्ने उल्लेख छ । निवेदनमा सङ्घीय संसद्का सदस्य नै नभएका तर मन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभएका सात जनाको नियुक्ति अन्तरिम आदेशद्वारा बदर गर्न समेत माग गरिएको छ । रिट निवेदनमा सङ्घीय संसद्को सदस्य नभए पनि प्रतिनिधिसभाको एउटै कार्यकालमा दोहो¥याएर मन्त्री बनाइएका सात जनाको नियुक्ति बदर हुनुपर्ने माग गरिएको छ ।

रिट निवेदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावलीलाई ‘त्यो पर्दैन’ भनेर वाचन गर्दा राष्ट्रपति संस्थाप्रति मानमर्दन भएको जनाइएको छ । रिट निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्री रामबहादुर थापा, उर्जा, जलस्रोत र सिँचाईमन्त्री टोपबहादुर रायमाझी, उद्योग वाणिज्य र आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु शाह, खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी र युवा तथा खेलकुदमन्त्री दावा तामाङलगायत विपक्षी रहेका छन् ।

Share
0Shares
Advertisment