उपप्रधानमन्त्री पोखरेलबाट ५१ शैयाको निःशुल्क कोभिड आइसोलेशन केन्द्र शुभारम्भ

Share
0Shares

 

काठमाडौं, ५ जेठ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ गर्नुभएको छ । मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा सुरु गरेको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार शुभारम्भ गर्नुभएको हो ।

मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको अक्सिजन सेवासहितको ५१ शैयाको यो आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले उपप्रधानमन्त्री पोखरेललाई जानकारी गराउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले चुनौतीपूर्ण अवस्थामा पनि आइसोलेसन केन्द्र संचालन गरेर सुन्दर दृष्टान्त प्रस्तुत गरेको भन्दै मारवाडी सेवा समितिको प्रशंसा गर्नुभयो । ‘कोभिड विरुद्धको लडाईं हामी सबैले मिलेर लड्ने लडाईं हो । यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन, सरकारले अभिभाकको भूमिका खेल्छ, तर यो लडाईंको मोर्चामा डहामी सबै एकठाउँमा उभिएर लड्नुपर्छ ।’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो । ३ सय शैयासम्म संचालन गर्न सकिने यस आइसोशलेन केन्द्रलाई पूर्ण रुपमा संचालन गर्न सिसिएमसी र स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्धको खोप खरिदका लागि पनि औपचारिक प्रक्रिया प्रारम्भ गरेको जानकारी दिनुभयो । सात वटै प्रदेशमा सात वटा र काठमाडौंमा एउटा गरी एक हजार क्षमताका आठ वटा होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुटाइसकेकाले छिट्टै नेपाली सेनाले निर्माण सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।

Share
0Shares
Advertisment