सन् २००९ मा जापानी नागरिक भनिएका सतोसि नाकामोतोले सुरु गरेको ब्लक चेन प्रविधिमा अधारित र विकेन्द्रीकृत डिजिटल मुद्राले आज विश्व अर्थतन्त्रमा १ दशमल ११ ट्रिलियन डलर बराबरको हिस्सा ओगटेको अनुमान गरिएको छ ।
कतिपय देशका केन्द्रीय बैंकहरुले यस्तो डिजिटल मुद्रालाई अवैध घोषणा गरिसकेका छन् भने कतिपय देशहरुले कारोबार गर्न प्रतिबन्ध नलगाए पनि कानूनी मान्यता दिएका छैनन् ।

भारतलगायत धेरै देशहरुले क्रिप्टो मुद्राको प्रयोग र कारोबारलाई पूर्णतया प्रतिबन्ध लगाउने आन्तरिक तयारी गरिरहेका छन् । तर पनि यीनै देशहरुमा समेत यस्ता मुद्राहरुको अवैध कारोबार दिन दुईगुना रात चारगुनाको दरले बढिरहेको छ ।
कतिले यस्तो (जुवा) गेम्बलिङबाट मनग्ये आम्दानीसमेत गरेका छन् । नेपालमा कानूनी रुपमा क्रिप्टो मुद्रालाई मान्यता दिइएको छैन तर अवैध रुपमा अरबौंको कारोबार भैरहेको छ । नेपाल जस्तो विकासोन्मुख देश– जसका विदेशी मुद्रा आर्जन गर्ने सीमित स्रोत र साधनहरु हुन्छन्, त्यस्ता देशहरुले सीमाविहीन विदेशी मुद्राको खर्च तथा कारोबारमा विशेष निगरानी र अनुगमन गर्नु जरुरी छ ।
के हो क्रिप्टो करेन्सी ?
परम्परागत मुद्रा भौतिक रुपमा मुद्रण गरिएको हुन्छ । जसलाई आमरुपमा देख्न, छुन वा महसुस गर्न सकिन्छ । अहिले विश्वमा सबैभन्दा प्रचलित मुद्रा पनि यही हो । यही भौतिक मुद्राको हवालामा डिजिटल पेमेन्ट सिस्टम चलाइएको हुन्छ । यो डिजिटल भुक्तानी प्रणाली हो ।
डिजिटल भुक्तानी प्रणाली र डिजिटल मुद्रामा झुक्किनु भने हुँदैन । यिनको उत्पादन, प्रयोग र नियमन बिल्कुल फरक–फरक हुन्छ । क्रिप्टो करेन्सी भनेको त्यस्तो मुद्रा हो जुन छुन, देख्न वा महसुस गर्न सकिँदैन । यो कम्प्युटर कोडिङको रुपमा उत्पादन गरिएको हुन्छ । र विकेन्द्रिकृत ब्लक चेन प्रविधिमा प्रबिष्ट गरिएको हुन्छ ।
एक अर्थमा भन्नुपर्दा यो भर्चुअल वा काल्पनिक हुन्छ । यसलाई कम्प्युटरमा यसरी कोडिङ गरिएको मानिएको छ कि, कसैले मेटाउन वा फेरबदल गर्न सक्दैनन् भन्ने विश्वास दिलाइएको हुन्छ । यो मुद्राको मुुद्रणलाई मानिङ भनिन्छ जुन झट्ट सुन्दा खानी उत्खनन् गरेजस्तो लाग्छ तर वास्तवमा यो कम्प्युटरमा गरिएको प्रोग्रामिङ मात्र हो ।
तसर्थ के बुझ्नु पर्यो भने तपाइँले भौतिक मुद्रा खर्च गरेर कुनै अलग्गै पहिचानसहितको नम्बर वा आईडी प्राप्त गर्नुहुन्छ, जसको मूल्य बजारले निर्धारण गरेको हुन्छ ।
उदाहरणको लागि यदि आजको मितिमा कसैले बिटक्वाइन नामको एक युनिट क्रिप्टो करेन्सी किन्न चाहन्छ भने उसले नेपाली रुपैयाँ ५० लाख १३ हजार ४४१ भौतिक रुपमा (साच्चिँकै) खर्च गरेपछि उसलाई एक २६ देखि ३५ अंकको अल्फान्युमेरिक अलग्गै पहिचान नंम्बर प्राप्त हुन्छ, जसलाई बिट क्वाईन एड्रेस भन्ने गरिन्छ र यो कम्प्युटरमा मात्र स्टोर गर्न सकिन्छ ।
बस् यही नम्बर हो, पचास लाखभन्दा बढीमा खरिद गरिएको क्रिप्टो करेन्सी । आज ५० लाख भएको क्रिप्टोको मुख्य भोलि ४० लाख पनि हुन सक्छ वा ६० लाख पनि हुन सक्छ । यसको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गरेको हुन्छ । जसमा तपाईको कुनै भूमिका हुदैन । यहाँसम्म कि यसको मूल्य किन बढ्छ वा किन घट्छ कसैलाई थाहा पनि हुँदैन ।
के शेयर, मुद्रा बजार र क्रिप्टो करेन्सी उस्तै हो ?
शेयर बजार डिजिटल्ली किनबेच हुने भए पनि यसको भौतिक अस्तित्व कायम हुन्छ । यदि कुनै व्यक्तिले कुनै कम्पनीको शेयर किन्छ भने त्यसको अंकित मूल्य (बजार मूल्य होइन) बराबरको हिस्सा सो कम्पनीमा रहन्छ ।
सो कम्पनीको नाफा नोक्सान र स्थायित्वले शेयरको मूल्य निर्धारण गरेको हुन्छ । शेयर बजार भौतिक संसारमा आधारित हुन्छ भने क्रिप्टो करेन्सीमा त्यस्तो कुनै कम्पनी वा स्वामित्व हुँदैन । सम्पत्ति भनेको त्यहीं युनिक नम्बर मात्र हुन्छ ।
अर्कोतिर संसारका धेरै देशका मुद्राहरु, जस्तैः अमेरिकी डलर, ब्रिटिस पाउण्ड, युरोलगायतका मुद्राहरु पनि बजारमा कारोबार गरिन्छ । यसको मूल्य निर्धारण ती देशहरुको विविध आर्थिक सूचकांकको आधारमा गरिन्छ । यिनको कारोबार डिजिटल्ली भए पनि भौतिकरुपमा रुपान्तरण गर्न सकिन्छ । नाफा वा घाटा किन र कसरी हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ ।
विश्व बजारमा क्रिप्टो करेन्सीको वर्तमान अवस्था
अहिले विश्वका करिब ८७ देशमा ८ हजार प्रकारका क्रिप्टो करेन्सीहरुको कारोबार हुने गरेको पाइएको छ । यसमा हाइपर फण्डको हिस्सा अझ अलग्गै छ । अधिकांश देशहरुमा यस्तो कारोबारलाई कानूनी संरक्षण भने छैन । यदि क्रिप्टो होल्डिङ वा कुनै छलकपटका कारण त्यहाँका नागरिकले कुनै नोक्सानी बेहोर्नु परेमा कानूनतः उपचार प्राप्त गर्न सक्दैनन् ।
यो आलेख तयार पार्दासम्म आंशिक रुपमा एल साल्भाडोरबाहेक कुनै पनि मुलुकले क्रिप्टोकोे कारोबारलाई कानूनी मान्यता दिएको छैन । भियतनाम, टर्की, रसिया, नर्थ म्यासेडोनिया, इराक, इन्डोनेसिया, बोलिभिया, अल्जेरिया, कोसोभो, भारत, नेपाल, चीन र इजिप्ट जस्ता कैयौं देशहरुले क्रिप्टोको कारोबार अवैध मानेका छन् । तर यी सबै देशहरुमा अवैध कारोबार भने दिन दुईगुना रात चारगुनाका दरले भइरहेको छ ।
सन् २००९ को जनवरीबाट सुरु भएको पहिलो क्रिप्टो बिटक्वाईन आज करिब ४२ हजार ९९० अमेरिकी डलरमा कारोबार भएको छ । यो मूल्य १४ अप्रिल २०२१ मा ६४ हजार ८०० अमेरिकी डलर थियो । त्यस्तै जुलाई २०१५ मा सुरु भएको इथेरियम आज ३२०४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सन् २०२० मा सुरु गरिएको येर्न फाईनान्सको आजको मूल्य ३४ हजार १०७ अमेरिकी डलर छ । यसलाई सबैभन्दा छिटो मूल्य बढेको क्रिप्टो मानिन्छ । अमेरिका, जर्जिया, काजकिस्तान, क्यानडा, चीन, जापान, भेनेजुयला जस्ता देशहरुमा सबैभन्दा बढी क्रिप्टो माईनिङ भइरहेको छ ।
क्रिप्टो कारोबारमा सबैभन्दा अगाडि भने भारत छ । इन्डिया टुडेले गरेको एक सर्वेक्षणले भारतमा करिब १० करोड मानिससँग कुनै न कुनै प्रकारको क्रिप्टो भएको देखिएको थियो । गत सेप्टेम्बरमा चीनले क्रिप्टो माइनिङ बन्द गरेपछि अमेरिकाले सो स्थान लिएको छ । भनिन्छ, ३५ हजार चिनियाँहरु यसै प्रयोजनको लागि अमेरिका बसाइँ सरेका छन् ।
नेपालमा कसरी कारोबार भैरहेको छ त ?
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको व्यापार वा अवैध कारोबारलाई प्रभावकारीरुपमै नियमन र नियन्त्रण गरेको छ । नेपालमा विदेश भ्रमण गर्ने प्रयोजनको लागि पासपोर्ट सुविधाअन्तरगत र आयात गर्ने प्रयोजनको लागि एलसी वा टिटीबाहेक अन्य कुनै किसिमबाट पनि विदेशी मुद्राको सटही गर्न पाइँदैन ।
नेपालबाट विदेशतर्फ विदेशी मुद्रा पठाउन नपाएपछि विदेशमा किन्नुपर्ने क्रिप्टो कसरी किन्न सकिएला भन्ने अनुमान लगाउने गरिन्छ । तर अवस्था भयावह छ । नेपालबाट हुण्डी कारोबारमार्फत विदेश पैसा पठाउने वा विदेशमा काम गर्ने नेपालीहरुको पैसा उतै भुक्तानी गर्न लगाएर (यो पनि हुण्डीकै प्रकार हो) क्रिप्टो करेन्सी खरिद हुने गरेको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि गहिँरिदै गएको तरलता संकटको दोस्रो प्रमुख कारण (आयातपछि) क्रिप्टोमा गरिएको अन्धाधुन्द लगानी हो भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।
यस क्षेत्रमा अनुसन्धान गरिरहेका केही पवुद्ध व्यक्तिहरुको अनुमानलाई आधार मान्ने हो भने अहिले करिब १५० अर्ब अर्थात् डेढ खर्ब रुपैयाँ बराबरको लगानी नेपालीहरुले क्रिप्टो करेन्सीमा गरेका छन् ।
डिजिटल्ली पैसा पनि कमाएका छन् भन्ने मान्दा पनि त्यो पुँजीले कुनै मूल्य सिर्जना गरेको हुँदैन, राष्ट्रिय उत्पादनका कुनै योगदान गरेको हुँदैन न रोजगार सिर्जना गरेको हुन्छ, न त राजस्वमा नै योगदान गरेको होस् । यस्तो पुंजीलाई क्यापिटल इप्लोएड फर अनप्रोडक्टीभ प्रपोज अर्थात अनुत्पादक क्षेत्रमा प्रयोग भएको पुंजी भनिन्छ ।
नेपाल जस्तो विदेशी मुद्रा आर्जनका सीमित साधन स्रोत भएको देशमा यस्तो कारोबारको नियन्त्रण अझै कडा हुनुपर्छ भन्ने कुरामा कुनै दुईमत रहने छैन ।
किन र कसरी नियन्त्रण गर्ने ?
माथि नै उल्लेख गरिएको छ कि क्रिप्टो करेन्सीले कोरा भर्चुअल मुनाफाबाहेक अर्थतन्त्रमा कुनै योगदान पुर्याएको हँुदैन । एकातिर जुन लगानीले रोजगारी सिर्जना गर्दैन, राष्ट्रिय उत्पादकत्वमा योगदान गर्दैन त्यस्तो लगानी सामान्यतया निरुत्साहित नै गरिनु पर्दछ । अर्कोतिर जुन लगानीमा लगानीकर्ताको सुरक्षामा कानूनले भूमिका खेल्न सक्दैन, त्यस्तो लगानी कालान्तरमा राज्यको लागि घातक नै हुन्छ ।
एउटा उदाहरणको लागि गत वैशाख महिनामा यदि कुनै नेपालीले एक युनिट बिटक्वाइन किनेको रहेछ भने उसले करिब ७८ लाख ४० हजार रुपैयाँ विदेश पठाएको हुनुपर्छ । र आज उक्त बिटक्वाइन बेच्न चाह्यो भने केबल ४६ लाख पचास हजारमा बेच्नु पर्छ । यहाँनेर जुन ३१ लाख ९० हजार बराबरको नोक्सान भयो त्यो सबै विदेशी मुद्रा बाहिरिएको हो । किनकि यसबीचमा उक्त बिटब्वाइनबाट कुनै लाभांश प्राप्त भएको हुँदैन । के नेपालको अर्थतन्त्र यो स्तरको जोखिम मोल्न तयार छ ? अवश्य छैन ।
नेपालमा विभिन्न समयमा नेटवर्किङ व्यवसाय होस् वा मल्टी लेयर मार्केटिङ, विभिन्न नामबाट आमसर्वसाधारण ठगिएका उदाहरण प्रशस्त छन् । ती व्यवसायहरुलाई नियन्त्रण गर्न जसरी कानून ल्याइयो र देशभित्र मात्र गर्न पाउने र पचास प्रतिशत नेपाली सामान बेच्नुपर्ने व्यवस्था गरियो, त्यसरी पनि क्रिप्टोलाई स्वीकार गर्न सकिने अवस्था छैन ।
किनकि यो कारोबार नै भर्चुअल रुपमा हुने हुँदा स्वाभाविक रुपमा यसको नियन्त्रण कानूनको पहुँच बाहिर हुन्छ । मूल्य अस्थिरता र अपराधिक गतिविधिमा हुनसक्ने प्रयोगलाई समेत मध्यनजर गरी राज्यले तत्काल ठोस कदम चाल्नुपर्ने देखिन्छ । मल्टी लेयर मार्केटिङ कम्पनी गोल्डक्वेस्ट, नेपाली नेटवर्किङ व्यवसाय युनिटी जस्ता ज्वलन्त उदाहरण हेर्ने हो भने पनि यसबाट आमनेपाली जनतालाई जोगाउन राज्यले तत्काल अभिभावकत्व लिनुपर्ने हुन्छ ।
अहिले करिब १५० अर्ब अर्थात डेढ खर्ब रुपैयाँ बराबरको लगानी नेपालीहरुले क्रिप्टो करेन्सीमा गरेका छन् ।
(अर्थ राजनीति र वित्तीय व्यवस्थापनका जानकार पौडेल नेपाल वायुसेवा निगमका महाप्रबन्धक हुन् ।)
Share



