पर्सा — वीरगन्ज मूर्लीस्थित भरपेट भोजनालयको अघिल्तिर बुधबार बिहान ९ बजे नै झन्डै दर्जन वटा साइकल पार्किङ भइसकेका थिए । ती साइकल भोजनालयमा खाना खान आएकाहरूको थियो । तीमध्ये एक थिए वीरगन्ज भिस्वाका ४७ वर्षीय जगदीश पासवान । पेसाले रिक्सा चालक उनी भोजनालयका नियमित ग्राहक हुन् ।शनिबारबाहेक हरेक दिन उनी दुवै छाक खाना खान यहाँ आउँछन् । शनिबार भोजनालय बन्द हुन्छ । ‘भोजनालय खुलेदेखि नियमित ग्राहक हुँ,’ पासवान भन्छन्, ‘५० रुपैयाँमा पेटभरि खाना अचेल कहाँ पाइन्छ र ? घरमा खानुभन्दा मलाई यहीं सस्तो पर्छ ।’
भोजनालय सञ्चालक संस्था सानो पाइलाका कार्यक्रम तथा सेवा प्रमुख रौनक राज सर्राफका अनुसार भोजनालयमा खाना खान आउने अधिकांश रिक्सा चालक र निर्माण मजदुर हुन्छन् । ‘भोजनालयमा खाना खाने केवल श्रमिक मात्र हुँदैनन्,’ उनले भने, ‘काम विशेषले वीरगन्ज आउने व्यक्तिदेखि सरकारी तथा निजी कार्यालयमा कार्यरत कर्मचारी, सर्वसाधारण पनि भोजनालयका नियमित ग्राहक हुन् ।’

वीरगन्जका अन्य साधारण होटलमा १ प्लेट खानाको १ सय २० देखि १ सय ५० रुपैयाँसम्म तिर्नुपर्छ । यहाँ भने पेटभरि खाँदा ५० रुपैयाँ मात्रै लाग्छ । खानामा भात, दाल, साग, २ थरी तरकारी र अचार हुन्छ । सुपथ मूल्यमा पौष्टिक खाना खुवाउने उद्देश्यले संस्थाले गत साउन २९ देखि भोजनालय सञ्चालनमा ल्याएको हो । त्यसयता हरेक बिहान–बेलुका खाना खान आउनेको थामिनसक्नुको भीड हुने गरेको सर्राफले बताए ।
बिहान ९ देखि दिउँसो १ र साँझ ६ देखि राति ८ बजेसम्म भोजनालयमा खाना खुवाइन्छ । वीरगन्ज महानगरभित्र दैनिक श्रम गरेर खाने कामदार वर्गलाई लक्षित गरेर सुपथ मूल्यमा पौष्टिक खाना खुवाउने परिकल्पना संस्थाले गरेको र त्यसमा सफलता पनि मिलेको उनको भनाइ छ ।स्वस्थ, सन्तुष्ट र सक्षम समुदाय निर्माणमा सघाउ पुर्याउने उद्देश्यले संस्थाले कोरोनाको पहिलो लहरयता ‘फिडिङ नेपाल क्याम्पियन’ मार्फत वीरगन्जलगायत विभिन्न सहरमा गरी १ लाख ५० हजार जनालाई निःशुल्क खाना खुवाएको उनको दाबी छ ।
Share



