गुगलमा ‘सेलिब्रेटी’को अर्थ खोज्नसाथ एक लाइन भेटिन्छ,– सबैले चिन्ने अवस्थामा पुग्नु !
जब कोही मानिस सबैले चिन्ने अवस्थामा पुग्दछन्, स्वभाविक हो,– उसका धारणा, बुझाइ, जीवनशैलीले मानिसहरुको जीवनमा असर गर्न थाल्दछ । ‘प्रसिद्ध’ बनेका त्यही व्यक्तिलाई पछ्याएर मानिसहरु आफूलाई बदल्न चाहन्छन् । उनीहरुलाई ‘आइडल’ मानेर हिँड्न थाल्दछन् ।
तर, त्यही ‘आइडल’ व्यक्ति आम मानिसले अपेक्षा गरेअनुसार भइदिएन भने ? त्यहीँबाट दुःखको श्रंखला सुरु हुन्छ ।
प्रविधिले दुनियाँलाई साँघुरो बनाइदिएको यो समयमा अनेक हत्कण्डा मच्याएर ‘चर्चित’ बनेका मानिसहरु छ्यापछ्याप्ती भेटिन्छन् । आफूलाई ‘सेलिब्रेटी’ दाबी गरिरहेका भेटिन्छन् । जे गरेर होस्, संजालमा फलोअर्स बढेपछि सेलिब्रेटी भइगयो ।
आफू सेलिब्रेटी भएपछि जे गरे पनि भयो, जे बोले पनि भयो ।
तर, यस्ता च्याउसरी उम्रिएका सेलिब्रेटीले आममानिसको मानसिकतामा कस्तो उथलपुथल ल्याउला ? उनीहरुमा हुर्कंदै गरेको चेतनामा कस्तो घन ठोक्किएला ? सम्झिँदा मात्रै पनि आङ सिरिंग हुन्छ ।
जनयुद्धमा ग्रिनेड फालेर, समायोजनमा अयोग्य लडाकु बनेर पनि संसाभरका पहाड–खोँचहरुमा दौडेर आफूलाई चम्काएकी अल्ट्रा धाविका मिरा राईहरुभन्दा ‘थानकोटदेखि बानेश्वरसम्म केटाहरुको लाइन’ लगाएकी सिलु पोखरेलहरुको हाइहाइ छ । जीवनको अँध्यारो सुरुङबाट घस्रँदै उज्यालो मैदानमा आइपुगेर ‘जीवनलाई सृष्टिकै सुन्दर फूल’ भनिदिने झमक घिमिरेहरुभन्दा टिकटकमा लाइभ बसेर ‘ट्याप–ट्याप’ भनिहिँड्नेहरुको बोलवाला छ । चप्पल र हाफ पाइन्टमा हिँडेर आजीवन मानिसहरुको सेवामा लागिपरेका महावीर पुनहरुभन्दा ‘कथित’ समाजसेवी ज्ञानेन्द्र शाही, पूण्य गौतमहरुको चर्को बजार छ ।
यस्ता परिदृश्यले अन्ततः हाम्रो चेतनाको तहलाई पर्दाफास गरिदिइहाल्छ !
हाम्रो समाज कहाँ छ ? र समाजलाई डोर्याइरहेका मानिसहरु कस्ता छन् ? प्रष्टै छ । हामी कस्ता चिजहरुमा रमाइरहेका छौं ? कस्ता चिजहरुले हामीलाई प्रभावित पारिरहेका छन् ? स्पष्टै छ । १५ सेकेण्डको भिडियो हेरेर हामी खगेन्द्र संग्रौलाहरुप्रति धारणा बनाउँछौं । भिडियोको एउटा क्लिप्स् हेरेर कसैलाई गाली गर्न तम्सिन्छौं ।
जो-जो सेलिब्रेटी भनाउँदा छन्, उनीहरुको चेतना र विवेकमाथि प्रश्न गर्दैनौं । ‘भारतीय साथीहरुसँग कसरी कुरा गर्नु’ भनेर कुनै नायिकाले दिएको अभिव्यक्तिमा हाम्रो राष्ट्रवाद उम्लिन्छ । र धारे हात लगाउँदै त्यता कुद्छौं । तर, यता राजनीतिक नेतृत्वले हाम्रै आँखामा छारो हान्दै लिएको ‘राष्ट्रघाती’ निर्णयप्रति अनभिज्ञ बन्छौं ।
कोही सेलिब्रेटी भनिहिँड्नेले साविकको अन्चल, अहिलेका जिल्ला, प्रदेशको संख्या जस्ता प्राथमिक ज्ञानसम्म नलिइकन हिँड्दिन्छन् । आफूले ‘जान्दिनँ’ वा ‘थाहा छैन’ भन्न उनीहरुको ‘सेलिब्रेटी अहम्’ले दिँदैन । ठूलै कुरा गर्नुपर्छ । ज्ञानी, बुद्धिमान भएकै देखिनुपर्छ । त्यही मानसिकताले प्रस्तुत पनि हुन्छन् ।
आफ्ना सस्ता अभिव्यक्ति, प्रस्तुतिले आफूलाई फलो गर्ने मानिसमा कस्तो प्रकारको मनोवैज्ञानिक असर गरिररहेको हुन्छ, अलिकति पनि ख्याल गर्दैनन् । मनलाग्दी बोल्छन्, मनलाग्दी गर्छन् । घरि पत्रकारहरुसँग स्वीमिङ पुलमा खिचेको टिकटकमा भेटिन्छन्, घरि टिकटक लाइभमा आएर आफ्नो कुकुरलाई ‘चश्मा’ मागिरहेका भेटिन्छन् ।
सामान्य आवेगलाई आफ्नै काबुमा राख्न सक्दैनन् । सुरक्षाकर्मीले चेकजाँच गर्यो भनेर डण्डी मलद्वारबाट घुसारेर मुखमा निकालिदिने लज्जास्पद अभिव्यक्ति निर्धक्क दिइरहेका हुन्छन् ।
मानिसहरु त उनीहरुको प्रत्येक पाइला-पाइलालाई नियालिरहेका हुन्छन् । उनीहरुले चाल्ने प्रत्येक कदमले आफूलाई उत्प्रेरित गरिरहेका हुन्छन् । तर, उनीहरुबाट केका लागि उत्प्रेरित हुने ?
कसैलाई ‘महानायक’ हुने चटारो छ । कसैलाई ‘महानायिका’ हुने हतारो छ । कसैलाई ‘मेगास्टार’ पदवी चाहिएको छ । कसैलाई ‘स्टारडम’ देखाउनु छ । कोहीलाई ‘बडी गार्ड’ देखाउनु छ ।
यस्ता हर्कतहरुको न कुनै औचित्य देखिन्छ न अर्थ नै । तैपनि कुन प्रकारको चेतनाको असरले हो, लागिपरेकै छन् ।
आफ्नै ब्राण्ड भ्यालु बुझ्न नसकेका सेलिब्रिटीहरुको जमातमा केही अपवाद पनि छन् । जसमध्ये एक हुन् पूर्व मिस नेपाल श्रृंखला खतिवडा । एक साताअघि मात्रै युट्युबमा सार्वजनिक भएको उनको पोडकास्ट हेरें । झण्डै साढे तीन घण्टाको पोडकास्ट जति हेर्दै गएँ, उनले उत्ति तान्दै गइन् । उनका अभिव्यक्तिले छुँदै गए ।
हामीले अहिलेसम्म दुई दर्जन ज्यादा मिस नेपाल पाइसक्यौं । सबै मिस नेपालले कुनै न कुनै रुपमा फिल्म क्षेत्रलाई छोएरै गएका छन् । कति सफल भए, कति असफल भए, समीक्षाको पाटो रह्यो ।
ब्युटी कन्टेस्टमा प्रतिस्पर्धी सुन्दरीहरुलाई उत्तर घोकाउनेदेखि एक वर्षसम्म वस्तुलाई जसरी आयोजकले टसमस हुन नदिने अवस्था पनि देखिएकै हो । मिडियामा अन्तर्वार्तासम्मका लागि आयोजकको अपोइन्टमेन्ट लिनुपर्ने दुःखलाग्दो अवस्था ज्युँकात्युँ छ । चार्म रहेसम्म उसको सौन्दर्यलाई लिलाम गर्नेहरुसहरका गल्लीहरुमा भेटिइरहन्छन् । सम्भवतः भेटिइरहने नै छन् ।
नयाँ मिस नेपाल आएपछि अघिल्लो वर्षका मिस नेपालहरु करिब-करिब गुमनाम भइदिन्छन् । तर, खतिवडाले मिस वर्ल्डमा भिड्दा होस् या त्यसपछिका दिनहरुमा, आफूलाई छायामा राखिनन् । उनको यही छवि र उनले दिने गरेका अभिव्यक्तिले मलाई खिचिरहेकै थियो ।
हार्वर्ड विश्वविद्यालयमा सहरी विकास पढिरहेकी उनले दिएका विचारहरु हावादरी थिएनन् । एउटा सुन्दर सहर हुनका लागि आवश्यक योजना, नीति, पूर्वाधारमाथिका उनका बुझाइहरु हुन् या एउटा सहर विस्तार गर्दैगर्दा त्यहाँ पाँचौं पुस्तासम्म बस्दै आएका मानिसहरु, उनीहरुको संस्कृति, ऐतिहासिकता जोगाउने विषय हुन्, खतिवडाले खिचिरहिन् ।
पूर्वंप्रधानमन्त्री बाबुराम भट्टराईको सरकार हुँदा धुमधडका गरेर रिङ रोड विस्तार गरिएको थियो । त्यस समयमा एकातिर भट्टराईको प्रशंसा भइरहेको थियो भने एकातिर तीसौं वर्षदेखि बस्दै आएका मानिसहरु आन्दोलित भइरहेका थिए, उनीहरु सडकमा आइरहेका थिए ।
तर, काठमाडौंको जाम हटाउने सही उपाय त्यही थियो र ?
खतिवडाले भनेकी छन्, ‘रोड बढाउनुपर्छ भने कति बढाउने ? जति लेनको बनाए पनि जाम हुन्छ । सडक विस्तारले नै जाम हटाउँछ भन्ने ग्यारेन्टी छैन । सहर त धनी–गरीब दुवैका लागि बराबर हुनुपर्छ । कार चढ्ने र १० रुपैयाँमा गाडी चढ्नेका लागि बराबर हो सहर । १५ मिनेटबीचमा सार्वजनिक यातायत राम्रोसँग चलिरहने भयो भने कार निकालेर हिँड्ने झण्झट कसैले गर्दैन । कारले भन्दा पब्लिक गाडीले चाँडो पुर्याउँछ भने कसले चढ्छ र कार ?’
जाम हटाउने उपयुक्त उपाय रोड विस्तार नभएर व्यवस्थापनको पाटोमा उनको जोड छ ।
अहिले बाहिरी रिङ रोड पनि विस्तार गर्ने योजनामा छ सरकार । तर, रिङ रोड विस्तार गरेर मात्रै जाम समाधान होला र ? असनको गल्ली भत्काएर गाडी कुदाउने हो र ? रोड विस्तारका लागि पाँच पुस्ता बसेको घर भत्काउने हो र ? खतिवडाले अमेरिकाको सहर म्यानहटनको उदाहरण दिँदै यसलाई प्रष्ट पारेकी छन् ।
सामाजिक उत्तरदायित्व अन्तर्गत आन्दानीको थोरै प्रतिशत कर्पोरेट हाउसले खर्च गर्नुपर्छ । त्यस अनुसार उनीहरुले पार्क बनाउने भए भने कस्तो बनाउने ? पार्क हुनलाई के के चाहिन्छ ?
पार्कमा रुखहरु हुनुपर्यो, हरियो हुनुपर्यो । कस्तो खालको रुख रोप्ने, प्रावधान हुनुपर्यो । एकदमै पानी चाहिने, झारहरु उम्रिन नदिने, किराफटिंग्रा बाँच्नै नपाउने चाइनिज दुबो हालेर बनाउन जैविक हिसाबले मिल्दैन । सहर त चराचुरुंगीहरुको पनि हो, उनीहरुले पनि बास पाउनुपर्यो ।
पार्कमा ताल्चा केका लागि लगाउने ? घरविहीन मान्छेका लागि पनि हो सहर । घर भएकाहरु घरमा सुत्लान्, नभएकाहरु कहाँ सुत्ने ? अनि पार्कमा मान्छे सुतिदिन्छ भनेर ताल्चा लगाउने ? मान्छेले फोहोर गर्दा उनीहरुलाई नियन्त्रण गर्ने निति, नियम ल्याउन सकियो बरु ।
यस्तै अनेकन विषयमा आफ्नो विचार राखेकी छन् उनले । राजनीतिमाथि राखेकी छन्, समाजमाथि राखेकी छन्, विकासमाथि राखेकी छन् । आफूले पढिरहेको विषयभन्दा अन्य विषयमा पनि मस्त बोलेकी छन् ।
हुन त सहरी विकासमाथि खतिवडाभन्दा धेरै अनुभव र विज्ञता भएका विज्ञहरु छन् । उहाँहरुको विचार, अभिव्यक्ति हामीले सुनेर, पढेर पनि आएको हो । तर, खतिवडा जत्तिको व्यक्तित्वले गम्भीर विषयमा धारणा राखिँदिँदा त्यो धेरैभन्दा धेरै मानिसमा पुग्ने नै भयो । धेरैभन्दा धेरै मानिसले थाहा पाउने भए ।
सेलिब्रेटी अभिव्यक्तिको असर पनि यही त हो – आठ दिनमै १० लाख ज्यादाले हेरिसकेका छन् ।
काण्डहरुमा रमाउने, फलोअर्स देखेर मख्ख पर्ने हाम्रा सेलिब्रेटीहरु भने अफेयर-ब्रेकअपहरुमा अल्झिरहेका छन् । अनेक हत्कण्डा र फण्डा गरेर रमाइरहेका छन् । उनीहरुबाट न कुनै अपेक्षा छ, न कुनै भरोसा नै छ । तर, उनीहरुलाई सुन्न, हेर्न विवस छौं हामी ।
कुनै पनि समाज रुपान्तरणका लागि यस्ता ‘सेलिब्रेटी’हरु आवश्यक नहुन सक्छ, जति खतिवडाहरु आवश्यक भइदिन्छन् । कमसल सोच, चिन्तन, चेतना भएका सेलिब्रेटीहरु त हामीलाई किन चाहियो र ! त्यस्ता सेलिब्रेटीलाई ‘सेलिब्रेटी’ नामक त्यति ठूलो क्यानभास नै किन चाहियो र ! टिकटक लाइभमै रमाइरहे पनि कुनै क्षति हुँदैन समाजलाई ।
Share