१८ वर्षमा कलम समातेका अमृत : राम्रा अक्षर लेख्न अब्बल

Share
0Shares

चितवन — भरतपुरको बालकुमारी माविले ५८ औं वार्षिकोत्सव अवसरमा साना बालबालिकालाई समावेश गरेर ‘हेण्ड राइटिङ’ प्रतियोगिता राख्यो । माघ १२ मा जसले यो प्रतियोगिता जित्यो ती उमेरले बालक थिएनन् । उमेर भए पनि स्कुल नगएका नारायणगढ आँपटारीका अमृत तामाङ निकै राम्रा अक्षर लेखेर विजेता भए । १८ वर्षसम्म उनले स्कुल टेक्न त परको कुरा कलम समाउन पनि पाएका थिएनन् ।

२०६३ साउन २५ मा अमृत जन्मने बित्तिकै जण्डिस देखिएपछि उनलाई तेस्रो दिनमै आईसीयुमा भर्ना गर्नुपर्‍यो । उनी नौ दिन बसेर अस्पतालबाट फर्केपछि अमृतमा शारिरीक विकास सोचे जस्तो भएन । वर्ष दिन भए पनि हिँड्ने संकेत नदेखाएपछि श्रीमान् लोकबहादुरसहित सीता छोरोलाई लिएर अस्पताल गइन् ।

डाक्टरले अमृतलाई मस्तिष्क पक्षघात भएको सुनाए । आमा सीता हेरचाहमा नै लागिन् । केही समयपछि अर्को छोरो पनि जन्मियो । अमृतको भाइ हुर्कियो, बढ्यो र स्कुल जान लाग्यो । तर अमृतलाई स्कुल पढाउने अवस्था थिएन ।

सीतालाई दुवै छोरा स्कुल जाउन भन्ने लागे पनि राम्रोसँग हिँड्न, बुझ्ने गरेर बोल्न र हातले राम्रोसँग समाउन नसक्ने भएका कारण अमृतलाई कस्ले भर्ना गर्ने ?

‘एकपटक यस्ता बालबालिकालाई पढाउने स्कुल छ भनेर म त्यहाँ पनि पुगे । दिसापिसाब आफै गर्न नसक्नेलाई भर्ना लिन सकिदैन भन्ने सुनेपछि म मन बाँधेर घरमै छोरो स्याहारेर बसे,’ सीताले सुनाइन् । आँपटारीमा ऐलानी जमिनमा ०४६ सालदेखि सानो छाप्रो बनाएर बस्दै आएका लोकबहादुर र सीतामायाले गएको भदौमा मात्र बसेको ठाउँको पुर्जा पाए । चिया खाजा बेच्ने सानो पसलबाटै उनीहरूको गुजरा चलेको छ ।

नारायणगढको बालकुमारी माविमा राष्ट्रिय बहिरा महासंघ, भरतपुर महानगरपालिका र विद्यालयसमेतको साँझेदारीमा गत वर्षदेखि ‘स्रोत कक्षा’ सञ्चालन भएको छ । जसमा जटिल प्रकारका ‘अपाङ्गता’ भएका बालबालिकालाई पढाउने–सिकाउने गरिन्छ । एकै व्यक्तिमा दुई वा दुईभन्दा बढी खालका ‘अपाङ्गता’ छन् भन्ने त्यस प्रकारका व्यक्तिलाई जटिल प्रकारका ‘अपाङ्गता’को श्रेणीमा राखिएको छ ।

राम्रोसँग बोल्न, हिँड्न र हातले समाउन नसक्ने अमृत यो स्रोत कक्षामा गएको असोज २६ गते भर्ना भए । ‘एकदमै लजालु छन् । आमाबाहेक अरुसँग नजिकै नपर्ने । सुरुमा त हामीलाई सिकाउन भन्दा पनि कसरी नजिक पर्ने उपाए लगाउनै गाह्रो भयो,’ स्रोत कक्षाका शिक्षक उषा नेपालले भनिन् ।

आफु पनि आमा जस्तै हो भनेर फकाउन थालेपछि अमृत शिक्षक उषासँग नजिक हुन थाले । उषाले हात समाएर धर्का तान्न सिकाइन् । विस्तारै धर्काहरू अक्षरको आकारमा बदलिन थाले । ‘हामीले बोलेको उनले राम्रोसँग सुने जस्तो लाग्छ । हात समाएर लेख्न सिकाउन थालेपछि एकदम चाँडै राम्रो प्रगति गरे,’ शिक्षक उषाले भनिन् ।

अक्षर लेख्न थालेको केही समयपछि नै शब्द लेख्न सुरु गरे । अहिले उनी आफ्नो नाम नेपाली र अंग्रेजीमा लेख्नुका साथै फलफुलहरू चिनेर नाम पनि लेख्न सक्ने भएका छन् । ‘स्कुलको वार्षिकोत्सवमा अनेक प्रतियोगिता आयोजना भएका थिए । माघ १० गते हेण्ड राइटिङ प्रतियोगिता हुने सुनेपछि हामीले अमृतलाई पनि सामेल गरायौं । ३० जना विद्यार्थीमा उनी पहिलो भए । उनले नसोचेको प्रगति गरेका छन्,’ स्रोत शिक्षक उषाले भनिन् ।

विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटा अमृतको कापी लगेर अरु विद्यार्थीलाई यस्तै राम्रा अक्षर लेख्नु पर्छ भनेर बताउँछन् । अमृतले बोलेका केही शब्द आमा सीताले बुझ्न सक्छिन् ।

‘मन परेको खाने कुरा माग्छ । अचेल दिसापिसाब आयो पनि भन्छ,’ सीताले भनिन् । योसँगै अमृतले बोल्ने अर्को कुरा हो ‘मलाई स्कुल जान बेर भयो ।’ यो सुन्दा सीता गद्गद् हुन्छिन् । विद्यालयमा राम्रो गरेको सुन्दा झनै खुसी हुन्छिन् । छोराले लेखेर पुरस्कार पायो भन्ने सुन्दा खुसीका आँसु थाम्न सकिनन् ।

‘छोराले मसँग बिस्तारै बिस्तारै कुरा गर्छ । लेखेको कुरा बोलेर भन्न नसके पनि मैले बुझेको छु भन्छ । लेख्न रहर गर्छ । पढाइ लेखाइमा यस्तै प्रगति गर्दै गए हामी भोलि नभए पनि यसको पीर मान्नु परेन । आफ्ना लागि आफै केही गर्ला कि भन्ने आशा छ,’ आमा सीताले भनिन् । स्रोत कक्षामा विशेष रेखदेख पाएर पढ्न लेख्न सिकेका अमृत अब कम्तीमा एक कक्षामा भर्ना भएर पढ्न सक्ने प्रधानध्यापक सापकोटा बताउँछन् ।

स्रोत शिक्षक उषाका अनुसार अमृत अहिलेनै औपचारिक कक्षातिरै जान खोज्छन् । ‘फर्मल क्लासमा उनका लागि बस्न मिल्ने डेक्स र कुर्ची छैन । उनका लागि विशेष रेखदेख गर्ने शिक्षक व्यवस्थापन गर्नुपर्ला । उनको रुचि भएका कारण हामी प्रयास गर्छौं,’ प्रधानाध्यापक सापकोटाले भने ।

बहिरा महासंघका तालिम अधिकृत उत्तम गुरुङका अनुसार संघले गरेको सर्वेक्षणमा भरतपुर महानगरपालिकामा विद्यालय जाने उमेर पुगेका ‘अपाङ्गता’ भएका बालबालिका २ सय ४० जना भेटिएका थिए । जसमध्ये ७० जना विद्यालय नै नगएको पाइएपछि स्रोतकक्षा चलाउने र स्रोत कक्षासम्म आउन नसक्नेका लागि पनि घरघरमै शैक्षिक सहायता दिने गरेको बताउँछन् ।

बालकुमारीको स्रोत केन्द्रमा १५ जना छन् । जसमा अमृत जस्ता जन्मजात मस्तिष्कघात भएका १० जना छन् । अरु अमृतभन्दा कम उमेरका छन् । तर समस्या अमृतको भन्दा गहिरो छ । ‘नौ वर्षको भए पनि पाँच ६ महिनाको जस्तो अवस्था भएका बालबालिका यहाँ छन् । उनीहरूलाई पढाउन सिकाउन झनै कठिन छ । स्रोत कक्षामा आएपछि उनीहरू पहिलाको भन्दा बढी सक्रियसम्म भएका छन् । अमृत जस्ता अक्षर चिनेर औपचारिक कक्षामा जान सम्भावना भएका एकाध छन्,’ स्रोत शिक्षक नेपालले भनिन् ।

source:Ekantipur

Share
0Shares
Advertisment