‘भाइरल सर’ का कला

Share
0Shares

दाङ — ६ कक्षा पढ्दापढ्दै बुवाले छोडे, ८ कक्षा पुग्दा आमाले । दुई वर्षको अन्तरमा बुवा खिमबहादुर र आमा नोखीले संसार छोडेपछि सन्तोष परियार र उनका भाइबहिनी माउ हराएका बचेराझैं भए । घरघरमा कपडा सिलाएर जीविका चलाउँदै आएका बाआमा नरहेपछि १४ वर्षीय परियारलाई के खाउँ र के लाउँको अवस्था आइपर्‍यो ।

बुवाको इन्सेफ्लाइटिस भएर मृत्यु भयो भने आमाको पाठेघरको क्यान्सर भएर । आर्थिक अभावले भनेजस्तो उपचार गर्न नसक्दा अकालमै बाआमा गुमाउनु पर्‍यो । आफ्नो भन्ने जग्गा र घर थिएन । गाउँको ऐलानी जग्गामा उनको सानो घरबास थियो । अहिलेसम्म पनि उनको दर्ता जग्गा छैन । एक दिदी, एक बहिनी र एक भाइ पनि उनकै वरिपरि झुम्मिन थाले ।

असहाय बचेराझैं परियारले आफ्नै बलबुतामा उड्ने प्रयत्न गरे । सानैदेखि तिक्ष्ण बुद्धि, लगनशील र मिहिनेतका कारण परियार पढाइमा सधैं प्रथम हुन्थे । उनको पढाइको लगाव देखेर वनको अनुगमन गर्न गाउँ पुगेका जीविकोपार्जनका लागि वन नामक परियोजनामा कार्यरत रामगोविन्द महर्जनले परियारलाई मासिक १ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यसपछि परियारलाई पढाइ अघि बढाउन सहज भयो । उनले उक्त सहयोग १२ कक्षासम्म नियमित पाए ।

१० कक्षासम्म महर्जनले व्यक्तिगत रूपमा सहयोग गरे । गाउँकै सिद्ध पृथ्वी जनता मावि श्रीगाउँबाट २०६४ सालमा प्रथम डिभिजनमा एसएलसी उत्तीर्ण गरे । त्यसपछि उनी विज्ञान पढ्ने रहरले दंगीशरण गाउँपालिका–६ पर्सडुवास्थित घरबास छोडेर तुलसीपुर सहर पसे । तुलसी बोर्डिङमा विज्ञानका लागि तयारी कक्षाको पढाइ हुन्छ भन्ने थाहा पाएपछि उनी त्यहाँ पुगे । आर्थिक अभावका बीच परियारलाई तयारी कक्षा र त्यसपछिको पढाइ पूरा गर्न साह्रै कठिन थियो । उनको लगाव र समस्या देखेपछि स्कुलका प्रिन्सिपल भीष्मबहादुर केसीले उनलाई स्कुलमै पढाउने काम दिए । काम गर्दै विज्ञान संकायमा पढ्न कठिन हुने देखेपछि परियारले राप्ती बबई क्याम्पस तुलसीपुरमा शिक्षा संकाय पढ्ने निधो गरे । अंग्रेजी र गणित मुख्य विषय लिएर पढाइ सुरु गरे । बजारमा सिलाइ पेसा गरेर बसेका काका (सानी आमाका श्रीमान्) रुमलाल परियारले उनलाई आश्रय दिए । काकासँग बसेर पढ्दै, पढाउँदैको जीवन सुरु भयो ।

उनको समस्या र पढाइप्रतिको तीव्र इच्छा देखेर यसअघि पढाइमा सहयोग गर्दै आएका महजर्नले ११ र १२ कक्षामा संस्थाबाट सहयोग गर्ने वातावरण मिलाइदिए । त्यसपछि परियारले १२ कक्षा उत्तीर्ण गर्ने बित्तिकै शिक्षक सेवा आयोगमा आवेदन दिए । पहिलोपटक नै उनको निमावि तहको अंग्रेजी शिक्षकमा नाम निस्कियो ।

२०७१ सालदेखि उनले बबई गाउँपालिका–१ गंगटेस्थित सरस्वती जनता माविबाट शिक्षकको स्थायी जागिर सुरु गरे । १० कक्षा उत्तीर्ण भएदेखि नै पढाउन सुरु गरेका परियार शिक्षणमा जहिले पनि सिर्जनशील र रचनात्मक विधि अवलम्बन गर्थे । गीत, संगीत, चित्र, अभिनय र व्यावहारिक अभ्यासका अनेक उपाय गरेर उनले शिक्षण गर्ने भएकाले उनको शिक्षक र विद्यार्थीमाझ फरक पहिचान थियो ।

दुई वर्ष गंगटेमा पढाएपछि तुलसीपुर उपमहानगरपालिका–१३ रनियापुरस्थित जनज्योति माविमा पाँच वर्ष पढाए । उनी पछिल्लो चार वर्षदेखि तुलसीपुरकै बालमितेरी मावि भोजपुरमा कार्यरत छन् । उनले शिक्षण गरेका हरेक गतिविधि अहिले सामाजिक सञ्जालमा भाइरल छन् । उनका शिक्षण कलाका भिडियो लाखौंले हेरेका छन् । त्यत्तिकै मात्रामा सेयर भएका छन् । उनलाई अहिले सबैले ‘भाइरल सर’ भनेर चिन्छन् । कहिले गीत गाएर त कहिले अभिनय र चित्र बनाएर, उनको शिक्षण शैली निकै फरक र आकर्षक छ । ‘विद्यार्थीलाई कसरी पढाइमा रमाउने बनाउन सकिन्छ भनेर धेरै अध्ययन गर्छु । शिक्षण कलासम्बन्धी धेरै पुस्तक पढेको छु,’ परियारले भने, ‘त्यसपछि विद्यार्थीको चाहना अनुसार पढाइको विषयलाई गीत, चित्र र अभिनयमा ढालेर पढाउँछु ।’ उनी चित्रकलामा पनि निकै सिपालु छन् । हेरेर मानिसको अनुहार जस्ताको त्यस्तै चित्रमा उतार्न सक्छन् । यही कलाका कारण उनलाई अहिले विभिन्न विद्यालयका भित्ता र कक्षाकोठामा शिक्षणसम्बन्धी चित्र बनाउन माग आइरहेको छ । उनी कुनै पनि बिदाको दिन खाली बस्न पाउँदैनन् । चित्र कोर्नमै व्यस्त हुन्छन् । चित्रमात्रै बनाएर पछिल्लो एक वर्षमा १ लाख ५० हजार रुपैयाँभन्दा बढी कमाइसकेको उनले बताए ।

उनी अहिले पनि बिहानभर तुलसी स्कुलमा पढाउँछन् । अक्षर लेख्ने, चित्र बनाउने र पढाउने कलाका कारण सुरुमा शिक्षण गरेको स्कुलले अहिलेसम्म पनि उनलाई छोडेको छैन । अंग्रेजीमा बीएड उत्तीर्ण गरेर उनी अहिले शिक्षा योजना व्यवस्थापन विषयमा एमएड पढ्दैछन् । उनले शिक्षणलाई फरक शैलीमा प्रस्तुत गरेका कारण विभिन्न विद्यालयले ‘भाइरल सर’ भन्दै बोलाउँछन् र कक्षा दिन लगाउँछन् । ‘शिक्षक भनेको शिक्षण गर्नु मात्र होइन रहेछ, धेरै क्षमता हुनुपर्ने रैछ,’ उनले भने, ‘मैले यस्तो अनुभव गरेपछि विभिन्न सम्भावनाको खोजी गर्छु र कत्ति पनि तनाव नलिएर साथीजस्तै वातावरणमा सिकाउँछु ।’

उनले कहींकतैबाट चित्रकला सिकेका छैनन् । आफ्नै सीपले अहिलेसम्म व्यावसायिक चित्र बनाइरहेका छन् । चिनजानका विभिन्न व्यक्तिका फोटो बनाएर उपहार दिन्छन् । कतिले कलाको सम्मान गरेर पैसा पनि दिन्छन् । गीत, कविता, मुक्तकलगायतका साहित्यिक सिर्जनामा पनि उत्तिकै रुचि राख्छन् । विद्यार्थीलाई पढाउँदा उनले विभिन्न गीतका लयलाई पढाइका विषयमा जोडेर कक्षामा प्रस्तुत गर्छन् । हालै उनले ‘धोकेबाज हौ तिमी…’ बोलको गीतलाई विद्यार्थीको आनीबानीसँग जोडेर कक्षामा प्रस्तुत गरे । उक्त भिडियो पनि सामाजिक सञ्जालमा धेरै नै सेयर भैरहेको छ ।

कति कराउँछौं तिम्रो लागि

कति पढाउँछौं तिम्रो लागि

तर बुझ्दैनौ

घरमा पनि पढ्ने रैन्छौ

होमवर्क त झन् गर्ने रैन्छौ

तर भन्दैनौ

यति साह्रो नि अल्छी भयौ तिमी

झन् झन् कमजोर हुँदै गयौ तिमी

धोकेबाज हौ तिमी

धोकेबाज हौ तिमी ।

अंग्रेजी व्याकरणलाई समेत उनी गीतका माध्यमबाट पढाउँछन् । व्याकरणका सूत्रलाई गीतमा ढाल्दै उनी कक्षामा नाचीनाची पढाउँछन् । विद्यार्थी पनि उनीसँगै गाउँदै जान्छन् र केहीबेरमा व्याकरण कण्ठ पार्छन् । अक्षर लेख्ने कला पनि उनी नियमित सिकाउँछन् । उनी सामाजिक समस्यामा आधारित गीत र मुक्तक पनि लेख्ने गर्छन् । सडकपेटीमा फलफूल बेच्दै गरेका महिलालाई जबर्जस्ती हटाइएपछि उनले लेखेको मुक्तक चर्चामा आयो :

जानी बेच्दैछे या नजानी बेच्दैछे

पलपल आँखाको पानी बेच्दैछे

सडकमा बसेर फलफूल बेच्न नपाएपछि

भित्री गल्लीको अँध्यारो कोठामा जवानी बेच्दैछे… ।

अहिले उनी तुलसीपुर–५ रानीजरुवास्थित ऐलानी जग्गामा घर बनाएर बसेका छन् । साथमा भाइ किरण, श्रीमती हीरा, १० वर्षीय छोरा सौगात र ७ वर्षीया छोरी समीक्षा छन् । दिदी सुनिता र बहिनी आशाको विवाह भैसकेको छ । अहिलेसम्म पनि उनको नाममा दर्ता जग्गा छैन । गाउँको घरबास त्यत्तिकै छोडेर आएका थिए । ‘अहिले भत्किसकेको छ । जता गए पनि भूमिहीन, सुकुम्बासी जीवन नै हो,’ उनले भने, ‘अहिले पनि त्यही अवस्थामा छु । जतिसुकै पीडा र समस्या भए पनि विद्यार्थीलाई हँसाइहँसाइ पढाउन सकेको छु ।’

कमाएको पैसा भाइबहिनीको पढाइ, विवाह र घरखर्चमा ठिक्क भएपछि उनलाई धेरै रकम बचत गर्न समस्या भयो । अनेक समस्याका बीच पनि उनी कहिल्यै गलत बाटोमा लागेनन् । ‘आमाबुवा नहुँदैमा मान्छे बिग्रँदो रहेनछ,’ उनले भने, ‘इमानदर हुन चाहेमा केही कुराले असर गर्दो रहेनछ ।’ भाइले गणितमा एमएड गरेका छन् । हालै प्रकाशित प्रावि शिक्षकको लिखित परीक्षामा उनको नाम निस्किएको छ । यसले सन्तोषलाई थप हौसला दिएको छ । ‘अब त जीवनको संघर्ष उचाइमा पुग्यो कि जस्तो लाग्छ,’ उनले भने, ‘दुई भाइले जागिर गरेपछि जीवन चलाउन सहज होला, आफ्नै नामको जग्गा होला, घर होला भन्ने सपना देखेको छु ।’

Share
0Shares
Advertisment