कर्णबहादुर गुरुङ : चितवनका कान्छा ‘हेडसर’

Share
0Shares

काठमाडौं । कर्णबहादुर गुरुङ २५ वर्षका भए। उनी धादिङ्को बेनीघाट रोराङ गाउँपालिका-१० मा २०५५ साल माघ ५ गते जन्मिएका हुन्। हाल उनी चितवनको भरतपुर महानगरपालिका-२९ कमलपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

उनलाई जिल्लामा कान्छो प्रधानाध्यापक भनेर पनि चिन्छन्। आफैँ पनि स्नातक तहमा अध्ययन गरिरहेका गुरुङ विद्यालयलाई सफलतापूर्वक हाँकिरहेका छन्। उनी शिक्षक सेवा आयोगबाट नाम निकालेर चैत्रमा उक्त विद्यालयमा पोस्टिङ भएका हुन्।

पहिलो पोस्टिङमै गुरुङ विद्यालयको नेतृत्व हाँकिरहेका छन्। उनी शिक्षण पेसामा आवद्ध भएको भने पाँच वर्ष भयो। उनी यसभन्दा पहिले इच्छाकामना गाउँपालिकाको एउटा विद्यालयमा अध्यापनरत थिए।

गुरुङ सामान्य परिवारका व्यक्ति हुन्। उनको परिवार कृषिमा निर्भर छ। बुवाआमाले दु:खसुख गर्दै आफ्ना सन्तानलाई पढाए। गुरुङ घरको जेठो छोरो हुन्। उनी पछि एक बहिनी र भाइ छन्। बहिनी अध्ययनकै शिलशीलामा बाहिरी मुलुकमा छिन्।

घरको जेठो सन्तान भएकाले उनमा थुप्रै जिम्मेवारी थियो। उनी पढ्दै पढाउँदै आफ्नो खर्च धानिरहेका थिए। त्यसले घरपरिवारमा थोरै भए पनि आर्थिक भार कम गरिदिएको थियो।

कर्णबहादुर त्यत्तिमै सन्तुष्ट थिएनन्। उनी जीवनमा जसरी पनि सफल बन्नु थियो। त्यसैले उनी पढ्दै पढाउँदै शिक्षक सेवाको तयारी पनि गरिरहेका थिए।

पढाइमा अब्बल कर्णबहादुरले शिक्षक सेवामा नाम पनि निकाले। चितवनको राष्ट्रिय आधारभूत विद्यालयमा पोस्टिङ पनि भए। र, छोटो समयमै त्यहाँ प्रधानाध्यापकका रूपमा नेतृत्व सम्हाल्न पनि सफल भए।

उक्त विद्यलयमा दुई वटा दरबन्दी थियो। दुवै शिक्षक सँगै उक्त विद्यालयमा पोस्टिङ भए। दुई जनाबाट एक जनाले प्रधानाध्यापकको जिम्मेवारी लिनुपर्ने थियो। उनका अर्का सहकर्मीले मिलेर काम गरौं भन्दै कर्णबहादुरलाई प्रधानाध्यापक हुनुपर्‍यो भनेर सहमति जनाए। उनले पनि सहकर्मीको बचन काटेनन्। यसरी उनी कम उमेरमै विद्यालयको नेतृत्व लिन सफल भएका हुन्।

उनीसँग केही समय अध्यापन गराएको अनुभव थियो। तर, अन्य धेरै अनुभव थिएन। उनले सहकर्मीलाई पनि जानेको कुरा सिकाउन भने, विद्यालय व्यवस्थापन समिति र स्थानीयवासीलाई पनि साथ दिन भने। सबैको सहमति जुटाइसकेपछि उनी नेतृत्व लिन तयार भए। र, पाँच जना कर्मचारीले २७ जना विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेका छन्।

उनीसामू प्रधानाध्यापकका रूपमा अनुभव बटुल्दै विद्यार्थी सङ्ख्या बढाउनेगरि काम गर्नुपर्ने चुनौती छ। उक्त चुनौतीलाई चिर्न कर्णबहादुरले अभिभावकहरूसँगको समन्वय बढाएका छन्। विद्यालय व्यवस्थापन समितिसँगको सम्पर्क बढाएका छन्। विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी राखेका छैनन्।

‘यहाँ रोजगारीको अवस्था खासै छैन। मानिसहरू रोजगारीका लागि सहर जानेक्रम बढ्दो छ। आफू सहर जाँदा उनीहरूले बच्चाहरूलाई पनि उतै लग्छन्। र, उतै पढाउँछन्। सानो ठाउँमा समस्याका बीच हामीले काम गरिरहेका छौं। त्यसैले विद्यार्थीसँग बढाउन गाह्रो छ। तर, पनि हामीले पुरै प्रयास गरिरहेका छौं,’ नले भने।

गाउँबाट बोर्डिङ स्कुलमै पढाउने भनेर बजार लैजाने क्रम पनि बढ्दो रहेको र आफूहरूले पनि गुणस्तरीय शिक्षामा कुनै कसुर बाँकी नराख्ने भनेर अभिभावकहरूसँग समन्वय गरिरहेको कर्णबहादुरले बताए।

‘यहाँ चेपाङ वस्ती छ। कतिपय बच्चाहरू बिहान खाना पनि नखाएर आउनुहुन्छ। हामी उहाँहरूलाई खाना पनि खुवाउँछौं। जाडोमा न्यानो लुगा दिएर स्कुल आउने वातावरण तयार गरिरहेका छौं। यहाँ भएका विद्यार्थीलाई राम्रो शिक्षा र सु्विधा दिएर हामी रोक्ने प्रयास गरिरहेका छौं,’ उनले भने। शुक्रबार विद्यालयले अतिरिक्त ज्ञान प्रदान गर्दै आएको उनी बताउँछन्।

भौतिक संरचना र स्रोत साधनको अभाव भए पनि आफूसँग भएको स्रोतसाधनको भरपूर प्रयोग गरेर शिक्षा प्रदान गरिरहेको उनको भनाइ छ। ‘हाम्रा शिक्षक पनि कम योग्य छैनन्। हामीले सकेको पुरै मेहेनत गरेर शिक्षा प्रदान गरिरहेका छौं’, उनी भन्छन्।

उनी सरकारले बेला-बेला निरिक्षण गर्दै अपुग कुराको ख्याल गर्ने, तालिम प्रदान गर्ने कार्य गरेमा आफूहरूको क्षेमता वृद्धिमा थप टेवा पुग्ने उनको भनाइ छ।

‘हामी पास भएपछि पढाउन जानुहोस् भनेर सरकारले पठाइदिन्छ। बेला-बेला तालिम दिनुपर्ने। त्यो हुनसकेको छैन’, उनले भने।

बालविकासका शिक्षकको तलब निकै कम रहेको, परिचरको तलव पनि निकै कम रहेको प्रति पनि कर्णबहादुरको चित्त दुखाइ छ। सरकारले अन्य शिक्षकलाई पनि निजामति सेवा सरह सेवा सुविधा दिन नसकेको उनको भनाइ छ।

सबै क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षकलाई खुसी राखेर काम गराए शिक्षामा थप गुणस्तर थप्न सकिनेमा उनी विश्वस्त छन्।

‘यहाँ विद्यार्थीलाई नियमित विद्यालय पठाउन पनि अभिभावकहरू आनाकानी गरिरहनु भएको हुन्छ। हामीले समन्वय गरेर अभिभावकलाई विद्यालयप्रति अपनत्वको भावना जागृत गराइरहेका छौं,’ उनले भने। उनले आफू सधैँ विद्यार्थीहरूलाई दत्तचित्त भएर ज्ञान प्रदान गर्न प्रतिवद्ध रहेको बताएका छन्।

Share
0Shares
Advertisment