निजामती सेवा मेरो लागि वरदान: रुद्रादेवी शर्मा, प्रमुख जिल्ला अधिकारी, भक्तपुर

Share
0Shares

जिल्लाको प्रशासन हाँक्ने प्रमुख जिल्ला अधिकारी (प्रजिअ- सीडीयो) ले २४ सै घण्टा सचेत र संवेदनशील काम गर्न पर्छ। सीडीयोको पारिवारिक र व्यक्तिगत जीवन हुँदैन भन्दा पनि हुन्छ। त्यस्तोमा पनि भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उपलब्ध भएको सीमित समयलाई कत्ति पनि खेर नफाली  वृत्तिविकास, पारिवारिक जिम्मेवारी र पेशाप्रतिको उत्तरदायित्व सँगसँगै लैजानुभएको छ।

बाग्लुङ जन्मेर गाउँकै स्कूलबाट  एसएलसी पास गरी डाक्टर बन्ने सपनामा पोखरा आएर आइएससी पढ्दै गर्दा शर्मालाई समयले निजामती प्रशासनतिर डोर्‍यायो। सेवामा छिर्नुअघि १० वर्षसम्म  विभिन्न गैरसरकारी संस्थामा काम गर्नुभएकी शर्माले शिक्षाशास्त्र र कानूनमा स्नातक तथा ग्रामीण विकासमा स्नातकोत्तरको अध्ययन पनि पूरा गर्नुभएको छ। पढाइको सिलसिलामा काठमाडौँतिर मोडिनु भएकी शर्माको कार्यक्षेत्र भने यहीँबाट झाँगिदै विभिन्न जिल्लासम्म पुगेको छ। २०६६ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएकी शर्माले सेवा प्रवेशको १२ वर्षमै निजामतीको फस्ट क्लासको तहसम्मको यात्रा पार गरिसक्नुभएको छ।

‘पहिला निजामती सेवामा आई उच्च तहमा पुगिन्छ भन्ने लक्ष्य थिएन। अर्कोतिर पढ्ने र जागिर खाने काम सँगसँगै लैजानु चुनौतिपूर्ण पनि थियो,’ उहाँ भन्नुहुन्छ , “तर समयको समुचित व्यवस्थापन गर्दै आफ्नो व्यक्तित्व विकासमा सचेत र पेशाप्रतिको दायित्वमा संवेदनशील भएको कारण अहिले यो ठाउँमा पुगेँ ।” यस अवधिमा उहाँले विभिन्न मन्त्रालय तथा रामेछाप र गुल्मी जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ। २०७८ देखि भक्तपुरमा कार्यरत प्रजिअ शर्माले जनताको घरदैलोमा पुगेर अशक्त अपाङ्ग र वृद्धलाई नागरिकता र विपद्का घटनामा घरदैलोमा नै राहत वितरण गर्दै  उनीहरूको सुखदुःखको साक्षी बन्दै जनतालाई सरकारको उपस्थिति बोध गराइ दिनुभएको छ भने ग्रामीण सेवाग्राही माझ पनि छुट्टै पहिचान स्थापित गर्नुभएको छ। जनताको प्रत्यक्ष सरोकार रहने क्षेत्रमा आफ्नो कार्यअवधिको अधिक समय बिताउनुभएकी शर्माले निजामती सेवामा चुनौती भन्दा अवसर ठानेर आफ्नो करिअर र कार्यक्षेत्रमा समेटेका भोगाइलाई यसरी सुनाउनुहुन्छ।

इच्छा थियो डाक्टर बन्ने समयले बनायो प्रशासक

मैले एसएलसी सम्मको पढाइ बागलुङको गाउँबाट र आइएससी पोखराबाट गरे। एसएलसी फस्ट डिभिजन भएकोले शिक्षकहरूले पनि कि इन्जिनियर बन्नु पर्छ भन्ने सल्लाह दिने गरेको भए तापनि डाक्टर नै बन्छु भनेर आइएससी पढेकी थिएँ। पढ्दा पढ्दै बिहे भयो। तर विवाह घर परिवारको करले गरेको त होइन। विवाह पछि श्रीमानसँग काठमाडौँ आएर पिके क्याम्पसमा पढ्न थालेँ। यस क्षेत्रमा आउनुभन्दा पहिला गैरसरकारी क्षेत्रमा ८–१० वर्ष काम गरे। मैले खास गरी जेन्डर र विकास, महिला सशक्तिकरणको  क्षेत्रमा काम गर्ने तालिम दिने काम गर्थे।  जेन्डर मास्टर प्रशिक्षक पनि भए। यही समयमा निजामती सेवाको नीति निर्माणमा महिला सहभागिताको बढाउनुपर्ने विषय पनि उठ्थ्यो। आफैले महिला सहभागिता र सशक्तिकरणको क्षेत्रमा काम गर्ने भएकोले पनि मलाई आफू  नीति निर्माणको तहसम्म पुग्नैपर्छ भन्ने लाग्न थाल्यो। श्रीमान् तथा अभिभावकले पढ्नको  लागि  हौसला र  प्रेरणा  दिनुभयो। हरेक पारिवारिक काममा सहयोग गर्नुभयो। पढाई निर्वाध रूपले अघि बढाउन पाएँ। लोकसेवा आयोगले विज्ञापन गरेपछि मैले पनि एनजिओको जागिर छोडेर शाखा अधिकृतको  तयारी थालेँ। निजामती सेवामा २०६६ सालमा अधिकृत तहबाट प्रवेश गरेँ। राष्ट्रिय योजना आयोगमा मेरो पहिलो पोस्टिङ थियो। त्यहाँ ६ वर्ष काम गरेँ।

खुला प्रतिस्पर्धाबाट उपसचिव  सहसचिव

कार्यालयको कामप्रति म जति  प्रतिवद्ध र उत्तरदायी थिएँ आफ्नो व्यक्तित्व विकासमा पनि उत्तिकै सचेत थिएँ।  मैलै काम गर्दा गर्दै नै माथिल्लो पदको लागि लोक सेवा तयारी जारी राखेकी हुन्थेँ। तर पढ्नकै लागि भनेर कहिल्यै बिदामा बसिन। बर्षमा पाउने भैपरी बिदा पनि उपभोग नगरेको अवस्था थियो। पेशागत जिम्मेवारी पूरा गर्दै बाँकी समय बच्चा हुर्काउने, पढाउने, पारिवारिक, सामाजिक, जिम्मेवारी गरेरै आफ्नो पढाइ पनि निरन्तर अघि बढाएकी थिएँ। कार्यालयमा काम गर्दा लोकसेवा आयोगको पाठ्यक्रमसँग मिल्दोजुल्दो व्यवहारिक ज्ञान प्राप्त हुन्थ्यो।  लोकसेवाको तयारी गर्दा  पढेका सैद्धान्तिक ज्ञान र काम गर्दा बटुलेका व्यवहारिक ज्ञानको सही संयोजन गरेर पढ्नुपर्छ। मैलेपनि यसै गरेँ। फलस्वरुप २०७२ सालमा खुला प्रतियोगिताबाट उपसचिव पास गरेँ। त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मेरो पदस्थापन भयो। आफ्नो पदअनुसारको जिम्मेवारी निर्वाह र लोकसेवाको तयारी निरन्तर जारी नै थियो। यही क्रममा फेरि खुला प्रतिस्पर्धाबाट २०७५ सालमा सहसचिव भए। कामको प्राथमिकीकरण गर्दै समयको भरपुर उपयोग हुने गरी कार्यालयको काम र घरको काम व्यवस्थापन गरेर बाँकी भएको समयलाई यता तिरको अध्ययनमा खर्च गरेरै म अहिले यो स्थानमा पुगेकी छु।  त्यसपछि बागमती प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा ७ महिना सचिवको रूपमा काम गरेँ।  केन्द्रमा सहसचिवको पद भएपनि प्रदेशमा त्यो पद सचिव सरहको पद हुन्थ्यो।  त्यसपछि फेरि १३ महिना महिला मन्त्रालयमा काम गरेँ। अनि २०७६ सालमा रामेछापमा प्रमुख जिल्ला अधिकारीको रुपमा मेरो पहिलो पोस्टिङ भयो।  त्यहाँ मैले ११ महिना काम गरे। २०७७ पुसमा प्रमुख जिल्ला अधिकारीकै रुपमा गुल्मी सरुवा भयो।

राम्रो काम गर्दै जाँदा आफै आउने अवसर

अहिलेसम्मको कार्यअवधिमा भोगेका अनुभव मध्ये सबैभन्दा आनन्द र सन्तुष्टि दिने अनुभवचाहिँ प्रमुख जिल्ला अधिकारी पदमा रहँदा मिलेको छ। जिल्लामा रहेर काम गर्दा नागरिकका समस्या नजिकबाट बुझ्न पाइयो। गुल्मीमा पहिलो महिला प्रजिअ भएर आएको म नै थिएँ। लामो समयसम्म पुरुष साथीहरूले जिल्लामा नेतृत्व गरि रहँदा एकै पटक महिला सीडीयो देख्दा सेवाग्राहीमा पनि मैले निकै उत्साह देखेकी थिएँ। जिल्लावासीहरूले महिला प्रजिअ भएर आएपछि हाम्रा छोरी बुहारीलाई पनि प्रेरणा मिल्छ भन्नुभयो। कतिपय सहकर्मीबाट आफ्नो अपेक्षा अनुसारको व्यवहार देखिन्थेन्। जुन स्वभाविकै हो। किनभने मैले सानोतिनो कुरालाई म महिला हुँ त्यसैले मलाई यस्तो व्यवहार भयो कि भनेर कहिल्यै सोचिन्। आफ्नो काममा लगनशील र इमानदार भएर लागेकै कारण कसैले पनि  प्रश्न उठाउने वा मेरो क्षमतामा अविश्वास गर्ने मौकै पाएनन्।   हरेक कुराहरू परिवर्तन भइसकेपछि त्यसको प्रभाव  त देखिन्छ नै। पुरुषले गरिरहेको काम महिलाले कसरी गर्छ भन्ने देखि हरेक कुराको चासो राखिएको हुन्छ। कतिपय कुराहरू बाहिर आएका हुन्छन् भने कतिपय आएका  हुँदैनन्। तर हामीले त्यतातिर ध्यान नदिई आफ्नो कर्मक्षेत्रमा संवेदनशील भएर लागिरहनुपर्छ। अवसरहरू सीमित छन्।  प्रतिस्पर्धी धेरै छन्। जसले गर्दा इमानदार कर्मचारीहरू सबैले योग्य हुँदाहुँदै पनि समान रुपमा अवसर नपाएका पनि हुन्छन्। निजामती सेवा त मेरिटमा आधारित भएकोले हरेक कुरामा योग्य व्यक्तिले नै सेवामा प्रवेश पाउँछ।  महिलाले पनि आफूलाई निर्णायक तहमा उभ्याउन र टिकाउन पहिले त आफ्नो क्षमतामा निखार ल्याउनु पर्छ।  आफूले राम्रो काम गर्दै जाने हो भने ढिलै भएपनि प्रगतिका बाटाहरू खुल्दै जाने छन्।

जनतालाई नजिकबाट चिन्ने मौका

मैले अहिलेसम्म काम गरेका ठाउँमध्ये धेरै चुनौति त प्रजिअ भएपछि नै आएका छन्। तर ह्यान्डिल नै गर्न नसक्ने चुनौति भने छैनन्। सरकारी सेवामा प्रवेश गरेपछि कर्मचारीको  सबै समय सरकारको अधीनमा रहन्छ। जहाँ जतिबेला जे परे पनि उपस्थित हुनुपर्छ। अझै प्रजिअ को दायित्व त  १० देखि ५ मात्र खटेर मात्र पूरा  हुँदैन। आफ्नो सबै समय सेवाग्राही र राज्यको लागि  दिनुपर्ने हुन्छ। यस क्षेत्रमा कहिले आलोचना हुन्छ कहिले प्रशंसा। हामीले काम गर्दा लगनशीलता र इमान्दारितापूर्वक गर्नु पर्दछ। सबै पक्षलाई सन्तुलित रुपमा सहकार्य गर्दै अगाडि बढ्नु पर्ने हुन्छ। महिला र पुरुष भएका कारणले कुनै पनि काममा  पछि हट्नु हुँदैन। संघ, प्रदेश र स्थानीय तहका निकायहरू राजनैतिक दल, निजी क्षेत्र, नागरिक समाज र सेवाग्राहीसँग  प्रत्यक्ष रुपमा जोडिएर काम गर्नुपर्ने भएकोले सबैको विश्वास जित्नु पनि उत्तिकै आवश्यक छ।  आफूले रोजेको क्षेत्रमा लगनशील र इमानदार भई निरन्तरता दिँदै आत्मविश्वासका साथ मेहनत गर्दै जानुपर्छ। यस क्रममा  अरुले सहयोग गरेनन् भने पनि सहयोग पाउने वातावरण मिलाउनुपर्छ। जुनसुकै कार्यका लागि भित्रैदेखिको आत्मविश्वास हुनु एकदमै जरुरी हुन्छ। प्रजिअको पद बहुआयमिक र  संवेदनशील भएकोले आफ्नो पदको अहमता नराखी सबैसँग मिलेर समन्वय र सहकार्य गर्नुपर्छ। हरेक विषयवस्तुलाई सन्तुलनमा राखेर निष्पक्ष भएर काम गर्नुपर्ने हुन्छ। यसरी हरेक चुनौतीमा आफ्नो दह्रो उपस्थिति भएकै कारण मैले यो पदमा रहँदा गरेका कामको सधैँ गर्व हुने गर्छ। मैले प्रजिअ पदमा हुँदा जति काम गरे सायद त्यति  काम अन्य कार्यालयमा भएन होला।  धेरैलाई सेवा दिने ठाउँ र आफूलाई चिन्ने ठाउँ जिल्ला नै हो। साथै जनतालाई नजिकबाट चिन्ने र सरकारको उपस्थिति बोध गराउन पनि सीडीओको भूमिकाले ठूलो अर्थ राख्छ।

प्रशासकमा सरकारको छवि

सेवाग्राहीले प्रशासक प्रति धेरै आशा भरोसा र विश्वास राखेको हुन्छ। मैले तीन वटै जिल्लामा काम गर्दा जनताको घरमै पुगेर सेवा पनि दिइयो। महिला प्रजिअ देख्दा महिला दिदीबहीनी तथा आमाहरूले आफूभित्रका पीडा निर्धक्कका साथ राख्नुहुन्थ्यो। महिलासँग खुलेर बोल्न महिलालाई सहज हुने हुँदा पनि मैले महिलाका समस्याको पहिचान गरी आवश्यक सेवा दिन पाएँ। प्रशासकले कानून बमोजिम काम गर्ने हो। प्रशासकले सबैलाई न्याय र सेवा दिने हो। विभिन्न जिल्लामा महिला र किशोरी बढी पीडित भएको हुदाँ महिला प्रमुख हुँदा धेरैले खुलेर आफ्नो कुरा राख्न सक्ने देखियो। कर्मचारीले आफूले गर्ने पर्ने काम गर्दा पनि सेवाग्राहीले निकै जस दिँदा रहेछन्। हामीले सरकारको प्रतिनिधिको रुपमा काम गर्ने हो। हामीले गर्ने व्यवहार, शैली र सेवाको प्रभावकारिताले सेवाग्राहीले  सरकार आफूसँगै रहेको आभाष पाउँछन्। हाम्रो उपस्थिति नै सरकारको उपस्थिति हो। त्यसैले उनीहरूको समस्या बुझेर काम गरि दिँदा त सेवाग्राहीले प्रशासकलाई भगवान् नै मान्छन्। त्यसैले सेवाग्राहीलाई मात्र सेवा प्रदायक समक्ष आउने नभई समय समयमा सेवा प्रदायक पनि सेवाग्राहीसम्म पुग्ने प्रणालीको विकास गर्नुपर्ने हुन्छ। प्रशासकले कानून मिचेर कुनै काम गर्नु त भएन तर कतिपय अवस्थामा सेवाग्राहीको मर्का बुझेर स्वविवेक प्रयोग गरी  सेवा दिनुपर्छ। मैले पनि आफ्नो क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य निर्वाह गरिरहेकी छु। यसो गर्दा सेवाग्राहीको अनुहारमा देखिएको खुशी नै मेरो सबैभन्दा ठूलो उपलब्धि हो। त्यतिबेला गरेका काम सम्झेर अहिले पनि मलाई विभिन्न जिल्लाबाट सेवाग्राहीको फोन आउँछ।  मलाई यसरी सेवाग्राहीको सेवा गर्ने मौका मिल्यो त्यसैले निजामती सेवा मेरो लागि समेत वरदान सिद्ध भएको छ। मेरो कामले कसैको मुहारमा मुस्कान ल्यायो त्यो नै मेरो खुशी र सन्तुष्टिको कारण हो।

Share
0Shares
Advertisment