भारतका ‘बिग बुल’ राकेश झुनझुनवालाको सफलताको कथा

Share
15Shares

राकेश झुनझुनवाला भारतका सबैभन्दा सफल लगानीकर्ता हुन्। केबल पाँच हजार रुपैयाँमा शेयर बजार प्रवेश गरेका राकेश झुनझुनवाला आज देशका शीर्ष धनी व्यक्तिको सूचीमा परेका छन्। उनको सफलता काल्पनिक कथा जस्तै छ।

झुनझुनवालाले आफ्नै एयरलाइन आकाश एयर सुरु गर्न लागेका छन्। चाखलाग्दो कुरा के छ भने टाटा समूहको एक शेयरले राकेश झुनझुनवालाको भाग्य बदलेको थियो र आज उनी त्यही टाटा समूहसँग आकासा एयरमार्फत प्रतिस्पर्धा गर्न लागेका छन्। टाटा समूहले भर्खरै एयर इन्डिया किनेको छ। यसअघि पनि कम्पनीसँग एयर एसिया र विस्ताराका दुई एयरलाइन्स छन्। आकासा एयरको आगमनसँगै राकेश झुनझुनवालाले टाटा समूहसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछन्।

बुबाले पैसा दिन मानेका थिएनन्

राकेश झुनझुनवालाको जन्म ५ जुलाई १९६० मा मुम्बईमा भएको थियो। उनका बुबा आयकर विभागमा अफिसर थिए र धेरथोर शेयर बजारमा लगानी गरेका थिए। त्यहीँबाट राकेश झुनझुनवालालाई शेयर बजारमा पैसा लगानी गर्ने झुकाव भयो। वाणिज्यमा स्नातक गरेपछि राकेश झुनझुनवालाले सन् १९८५ मा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट सीए कोर्स गरे। त्यसपछि उनले शेयर बजारमा लगानी गर्ने इच्छा व्यक्त गरे तर बुबाले पैसा दिन मानेनन्। उनका बुबाले उनलाई पहिला आफै पैसा कमाउन र त्यसपछि मात्र शेयर बजारमा लगानी गर्न भनेका थिए।

शेयर बजारमा पहिलो पाइला

राकेश झुनझुनवाला पहिलो पटक सन् १९८५ मा शेयर बजारमा प्रवेश गरेका थिए। उनले ५ हजार लगानी गरेर सन् १९८६ मा पहिलो नाफा कमाएका थिए। उनले टाटा टीको शेयर ४३ रुपैयाँमा किनेका थिए र तीन महिनापछि प्रतिशेयर १४३ रुपियाँमा बेचेका थिए। त्यसपछि उनले पछाडि फर्केर हेरेनन्। सन् १९८६ देखि १९८९ सम्म उनले २ देखि २.५ करोड रुपियाँ नाफा कमाए। यसपछि उनले सेसा स्टारलिटको एक करोड रुपियाँमा चार लाख कित्ता शेयर किने र यो लगानीमा ठूलो नाफा कमाएको थियो।

टाइटनले बनायो बिग बुल

सन् २००३ मा राकेश झुनझुनवालाले टाटा समूहको अर्को कम्पनी टाइटन कम्पनीमा लगानी गरे। यो एक शेयरले उनको भाग्य बदल्यो। उनले तीन रुपियाँमा ६ करोड शेयर किनेका थिए। आज यसको एक शेयरको मूल्य १ हजार ९६१ रुपियाँ छ। यो स्टक अझै पनि उनको मनपर्ने स्टक हो।

आज उनको पोर्टफोलियोमा धेरै कम्पनीहरुको शेयर समावेश छ। जसमा सेल, टाटा मोटर्स, टाटा कम्युनिकेशन्स, ल्यूपिन, टिभि १८, डीबी रियल्टी, इन्डियन होटल्स, इन्डियाबुल्स हाउसिङ फाइनान्स, फेडरल बैंक, करूर वैश्य बैंक, एस्कर्ट्स लिमिटेड, टाइटन कम्पनी जस्ता कम्पनीहरू पर्छन्।

टाटालाई टक्कर

राकेश झुनझुनवाला अब हवाई क्षेत्रमा पनि प्रवेश गर्न लागेका छन्। उनको लगानी रहेको एयरलाइन्स कम्पनी आकासा एयरले केही दिनमै ट्रायल सुरु गर्ने भएको छ। भर्खरै, यसको चालक दलका लागि यूनिफर्म लन्च गरिएको छ। आकासा एयरले सस्तोमा उड्डयन सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। राकेश झुनझुनवालाले यस कम्पनीमा करिब ५ करोड डलरको ठूलो लगानी गरेका छन्। अर्थात् टाटा समूहका कम्पनीबाट पैसा कमाउने झुनझुनवाला अहिले टाटासँग आकाशमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । टाटा समूहले भर्खरै एयर इन्डिया किनेको छ। यसबाहेक यसमा एयर एशिया र विस्तारा जस्ता एयरलाइन्स पनि छन्।

मुम्बई मा १४ तले घर

राकेश झुनझुनवालाले मुम्बईको सबैभन्दा महँगो क्षेत्रमा १४ तले आलिशान घर बनाइरहेका छन्। हाल उनी अपार्टमेन्ट ब्लकको दुईतले घरमा बस्छन्। तर चाँडै उनको नयाँ बास मालाबार हिलमा हुनेछ। धेरै उद्योगपति र कर्पोरेट जगतका प्रतिष्ठित व्यक्तित्वहरू यस क्षेत्रमा बस्छन्। यो घर बनाउन झुनझुनवालाले ३७१ करोडमा जग्गा किनेका थिए। मालाबार हिललाई मुम्बईको सबैभन्दा महँगो क्षेत्र मानिन्छ। यहाँ एक वर्ग फुटको लागत एक लाख रुपियाँभन्दा बढी छ। सज्जन जिन्दल, आदि गोदरेज र बिरला परिवार पनि मालाबार हिलमा बस्छन्।

खानाको शौकिन

धेरै कमलाई थाहा होला कि झुनझुनवालाले बलिउडका तीन फिल्म पनि बनाएका छन्। जसमा इङ्लिस विङ्लिस, शमिताभ र ‘की एन्ड का’ समावेश छन्। उनी खान र पिउन निकै मन पराउँछन्। उनलाई स्ट्रिट फुड, डोसा र चाइनिज खाना मनपर्छ। मुम्बईको पाव भाजी उनको कमजोरी हो। फुर्सदको समयमा उनी खानाका कार्यक्रम हेर्न रुचाउँछन्। गत जुलाईमा उनले ५० करोड रुपैयाँ चन्दा दिएका थिए।

(नवभारत टाइम्सबाट अनुवादित)

Share
15Shares
Advertisment