बहुप्रतिभाका धनी आनन्ददेव भट्ट

Share
0Shares

आनन्ददेव भट्ट नेपालको बौद्धिक जगत्मा प्रख्यात नाम हो । उहाँ एक साहित्यकार, वामपन्थी चिन्तक, राजनीतिज्ञ तथा समाजसेवी हुनुहुन्छ । नातामा उहाँ मेरो सहोदर जेठो दाजु हुनुहुन्छ । उहाँको जन्म वि. सं  १९९३ असोज २५ गते माता हिरादेबी भट्टका तथा पिता जयदेव भटको कोखबाट भएको हो ।  विद्वान् पिताका पुत्र आनन्द देवले पिताको सोचबमोजिम आफ्नो परिचय विद्वान्कै रुपमा गराउन सफल हुनुभयो । आनन्ददेव भट्टले पटना विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नाकोत्तर गर्नु भएको छ । यसका साथै लन्डनको लिड्स् विश्वविद्यालयबाट एमएडको डिग्री समेत हासिल गर्नुभएको छ ।

दाजु आनन्ददेव ४–५ वर्षको उमेरदेखि नै एउटा छेस्को भेटे पनि आँगनमा अक्षर कोरेर बस्नु हुन्थ्यो भनेर आमाले सुनाउनु हुन्थ्यो । अहिलेको समयजस्तो लेखपढका लागी बालबालिकाले चाहेबमोजिमको कलम कापी पाउने अवस्था मध्यम वर्गीय परिवारमा कहाँ थियो र त्यो समयमा ? आनन्द दाजु लेखपढको जोहका लागि चुरोटको खोल, खाली कागज, अक्षर लेखिएका कागजका टुक्रा बडो जतनका साथ राख्नुहुन्थो रे । ‘अक्षर लेखिएका कागजका टुक्रा देख्यो कि सुरुदेखि अत्यसम्म पढ्न मन लाग्थ्यो मलाइ’ भनी आनन्द दाजु बताउनुहुन्थो ।

मेरो सहोदर आनन्द दाजुलाई मैले २०२३ सालमा मात्र देख्न पाएकी थिएँ ।  हाम्रा पिता जयदेव भट्ट न्याय सेवामा हुनुहुन्थ्यो । भाइ डा. कृष्णदेव भट्ट र म बुवा खटिनु भएको जिल्लामा हुन्थ्यौँ । दाजुहरु काठमाडौंमा बस्ने हुँदा हाम्रो भेट नभएको हो । त्यसताका बाटोघाटो तथा सवारी साधनको सुविधा नहुँदा आउनजान कठिन थियो । त्यसबाहेक यात्रा गर्दा खर्चपर्चको पनि ख्याल राख्नै पर्ने ।

दाजु आनन्ददेव भट्ट साहित्यलाई प्रगतिमुखी जीवनको कलात्मक अभिव्यक्ति भन्न रुचाउनु हुन्छ । उहाँका ९ वटा काव्यकृति प्रकाशित छन् । अब हिमाल बोल्छ २०१५, गुराँस २०१५, आमा बोलाउँछिन् २०१७, ओमर खैयामलाई जवाफ २०१६, जोवनकै थुम्कोबाट २०१६, तिमीलाई देख्दा २०१७, साहिली मैयाँ २०१८, युरी एलेक्सबीच गागरिन २०१९, हेनरिक इब्सेनको नाटक जनताको शत्रु अनुवाद २०२० रहेका छन् ।  प्रगतिशील समालोचकको रुपमा परिचय बनाएका दाजुका समालोचनाको बाटोतिर २०१९, हाम्रा प्रतिभाहरु २०१९, प्रतिभा पहिचान २०४७, जनताको साहित्य २०४८, व्यावहारिक समालोचना २०४९ छन् ।

जगत्को सबै विषयमा दृष्टि र चिन्तन राख्दै आफ्नो अनुभूति  पोख्न रुचाउने उहाँका अन्य विविध विषयका कृति पनि प्रकाशित छन् ।  जगत्को सृष्टि र संचालन प्रक्रिया २०४६, स्वतन्त्रता र कम्युनिस्टहरु २०४८, दृष्टिबिन्दु २०४८, केही आत्मपरक निबन्धहरु २०४९, धरतीदेखि आकाशसम्म २०७४ प्रकाशित छन् ।

शिक्षण क्षेत्रमा दाजु आनन्ददेवले लगातार ३३ वर्ष सेवा गर्नुभयो ।  उहाँ एक कुशल शिक्षक भएकै कारण विगत तथा वर्तमानमा देशका उच्च ओहोदा सम्हालेका व्यक्तिहरुसमेत सल्लाह सुझावका लागि उहाँ समक्ष आउने गर्छन् । विसं २०२२ सालमा उहाँ भरतपुरको वीरेन्द्र कलेजमा प्रिन्सपल हुनुभयो । उहाँले नेपाली माटो र जनताका लागि धेरै पसिना बगाउनुभयो । भरतपुरमा कलेज तथा शिक्षा क्षेत्रको उन्नयनका साथै उहाँले प¥याउनु भएको योगदानका लागि चितवनवासीले २०७१ सालमा उहाँलाई रथारोहण गरी ठूलो सम्मान दिए ।

राजनीतिको क्षेत्रमा आनन्ददेव भट्ट स्वच्छ छवि भएका निर्भीक राजनीतिज्ञको रुपमा चिनिनु हुन्छ । उहाँका भाषण शासकलाई तीर हानेजस्ता हुन्थे । पंचायती राजविरुद्ध कडा शब्द बोलेकै कारण तत्कालीन सरकारले उहाँमाथि राजकाज अपराधको मुद्दा पनि लगायो । ‘भूलवश राजनीतिमा लागेछु । …आइन्दा कुनै पनि दलीय राजनीतिमा लागी राज्यविरुद्ध आवाज उठाउनेछैन । म देश जनताका लागि पंचायती व्यवस्थाको समर्थन गर्ने छु’ भनी लिखित निवेदन दिनु मुद्दा खारेज गर्ने व्यवस्था मिलाउनेछु भनी तत्कालीन उच्च ओहोदामा व्यक्तिले भन्दा ‘छातीमा गोली थाप्न तयार छु । अन्यायसामु झुक्ने छैन’ भन्ने अभिव्यक्तिका साथ उहाँ आफ्नो लक्ष्यमा हिँडिरहनु भयो । उहाँ आफ्नो सिद्धान्तमा कहिले झुक्नु भएन । यस्तै अडानका कारण उहाँ साढे चार महिना जेल पर्नु भयो । पछि साहिँला बुवा अधिवक्ता लवदेव भट्टको अग्रसरतामा उहाँ क्षेत्रीय अदालतको आदेशबाट थुना मुक्त हुनु भयो । तर, राज्यले उहाँलाई पटकपटक जेल लग्यो ।

विसं २०४६ सालको जनआन्दोलनमा निर्भयसाथ उहाँले बौद्धिक जगत्को अगुवाइ गर्नुभयो । उहाँको स्वभाव अत्यन्त मिलनसार र छिटो घुलमिल हुनसक्ने प्रकृतिको छ । उहाँको भूमिकाले प्रगतिशील विचार प्रत्यारोपण गर्न र संगठन निर्माण गर्न बलियो आधार पुग्यो । राजनीतिमा  लाग्नुको उद्देश्य उच्च ओहदा र आर्थिक लाभ गर्न हो भन्ने गतल सोच हाम्रो समाजमा छ । रातदिन सेवामा दौडी हिँड्ने यी दाजुको चाला देखेर आफन्तहरु  भन्ने गर्नुहुन्थ्यो – ‘खाई र पाई छालाको टोपी लाई । त्यसमा पनि वाम राजनीति गर्दै यो आनन्द किन हिँडेको होला ?’ तर जीवनलाई ज्ञान विवेक तथा मुक्तिसँग जोडेर हेर्ने दाजु आफ्नो यो यात्राको औचित्य सही भएको ठान्नुहुन्छ । आनन्द दाजुले कहिले पनि पदको लोभ देखाउनु भएन । त्यसैले होला उहाँ उच्च पदमा कहिले आसीन हुनु भएन । त्रिविमा सहप्राध्यापक हुनुभएका आनन्द दाजु पठनपाठनमै रम्नु हुन्छ । मदनमणि दीक्षित कुलपति हुँदा  आनन्द दाजुले नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य भई काम गर्ने  प्रस्ताव अस्वीकार गर्नु भएको थियो ।

विसं २०२३ सालमा भाइ र म दाजुभाउजुसँग बसी पढ्ने सिलसिलामा चितवन भरतपुर गयौँ ।  हामी त्यहाँ २ वर्ष बस्यौँ । दाजुको साथ बस्दा हामीले पढ्ने मात्र हैन आफ्नो प्रतिभा प्रस्फुरण गर्ने मौका पनि पायौँ । उहाँ हामीलाई नाटक खेल्न, कला साहित्यमा भाग लिन उप्रेरणा दिनु हुन्थ्यो ।

इष्र्या द्वेष मानवीय स्वभाव भए पनि आनन्ददेव भट्टमा यो कुरा देखिन्न । अरुको प्रगतिमा खुसी व्यक्त गर्ने, नातापाता नजिकका मानिसलाई हौसला दिने, अघि बढ्न मद्दत गर्ने उहाँको बानी थियो ।

आनन्ददेव भट्टको अनुशासित बानी तथा जाँगर देख्दा सबैजना लोभिन्छन् । बिहान सबैरै उठ्ने, १ घन्टा व्यायाम गर्ने, बिहान विभिन्न दैनिक पत्रिका पढ्ने, बिहान बेलुका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खबर सुन्ने, साहित्यिक तथा सामाजिक कार्यक्रमको निमन्त्रणमा सहभागी हुने, दर्शनका किताब पढ्ने उहाँका दैनिक क्रियाकलाप हुन् ।

विचारका धनी, मनका विशाल विवेकका धनी दाजु आनन्ददेव भट्ट भौतिक रुपमा हामी माझ हुनुहुन्न । गएको २०७८ भद्र १४ गते कृष्णअष्टमीका दिन उहाँले भौतिक रुपमा यो लोकछोडेर जानु भयो । तर, उहाँले समाज र देशका लागी लगाउनु भएको गुण सदा स्मरणीय रहने छ । आनन्द दाजुको वार्षिक पुण्यतिथिीमा हार्दिक श्रद्धान्जलि ।

अस्तु

Share
0Shares
Advertisment