‘२६ वटा देश घुमिसकें, नेपाल नै राम्रो लाग्छ’

Share
0Shares

डा. वेदप्रसाद काफ्ले जापानमा अत्याधुनिक सूचना तथा सञ्चार प्रविधिको अनुसन्धान, अध्यापन तथा विकासमा संलग्न छन्। १८ वर्षदेखि जापानमा बसोबास गरिरहेका उनी जापानमा सिकेको ज्ञान र विकास गरेका प्रविधिलाई नेपालमा पनि प्रयोगमा ल्याउनका लागि विभिन्न संस्थाहरूसँग सहकार्यमा सक्रिय छन्।

जापानको राजधानी टोकियोस्थित नेशनल इन्स्टिच्युट अफ इन्फर्मेशन एण्ड कम्युनिकेशन टेक्नोलोजीमा रिसर्च म्यानेजरका रुपमा कार्यरत् छन्।

तेह्रथुमको श्रीजुङ पुर्ख्यौली थलो भएका काफ्लेको हाल घर सुनसरी सदरमुकाम इनरुवामा छ। अचेल उनी श्रीमती, दुई छोरी र एक छोराका साथ जापानमा छन्।

नयाँ नयाँ प्रविधि र विकासका बारे अनुसन्धानमा रुचि भएका काफ्लेसँग यसपटक हामीले अन्तरङ्ग कुराकानी गरेका छौं।

तपाईंको रुचिका विषय के के हुन्?

विज्ञान, प्रविधि, इतिहास, भूगोल, विकास अर्थशास्त्र र राजनीतिशास्त्र जस्ता विषयमा मेरो रुचि छ। बढी सक्रिय अचेल नयाँ प्रविधि र विज्ञानमा छ। त्यसैसँग सम्बन्धित क्षेत्रमा काम गरिरहेको छु। मैले गरेका अनुसन्धानलगायत कामका बारे यो साइटमा गएर विस्तृत जानकारी लिन सकिन्छ।

नेपालमा कहाँ अध्ययन गर्नुभयो?

एसएलसीसम्म इनरुवा, सुनसरीको भगवती माध्यमिक विद्यालय र आईएस्सी विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढेपछि उच्च शिक्षा आर्जन गर्नका लागि विदेश गएको थिएँ। ब्याचलर अफ इन्जिनियरिङ (इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन्स) अनर्स डिग्री भारतको चण्डीगढमा अवस्थित पञ्जाब इन्जिनियरिङ कलेजबाट प्राप्त गरेको छु।

त्यसपछि दक्षिण कोरियाको राजधानी सउलमा अवस्थित सउल नेशनल युनिभर्सिटीबाट कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङमा मास्टर्स डिग्री र जापानको द ग्राजुएट युनिभर्सिटी फर एड्भान्स्ड स्टडिजबाट पीएचडी हासिल गरेको छु।

नेपालमा के गर्नुहुन्थ्यो?

भारतबाट इन्जिनियरिङ पढेर फर्किएपछि त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा र नेपाल इन्जिनियरिङ कलेजमा केही समय अध्यापन गरें। त्यसपछि कम्प्युटर इन्जिनियर पदमा चार–पाँच वर्ष काम गरेको अनुभव छ।

जापान आएको कति भयो?

यता आएको १८ वर्ष भयो।

के गर्दै हुनुुहुन्छ?

म अहिले अत्याधुनिक सूचना तथा सञ्चार प्रविधिको अध्यापन, अनुसन्धान, विकास तथा स्तरीकरण गर्ने काममा संलग्न छु। टोकियो अवस्थित नेशनल इन्स्टिच्युट अफ इन्फर्मेशन एण्ड कम्युनिकेशन टेक्नोलोजीमा रिसर्च म्यानेजर पदमा कार्यरत छु। अनुसन्धान प्रतिष्ठानमा नयाँ नयाँ प्रविधिको अनुसन्धान तथा विकासको क्रममा प्राप्त ज्ञानलाई विद्यार्थीहरूमा हस्तान्तरण गर्ने उद्देश्यले म टोकियोअवस्थित युनिभर्सिटी अफ एलेक्ट्रो कम्युनिकेशनमा आगन्तुक सहप्राध्यापक पदमा पनि कार्यरत छु।

स्नातकोत्तर तथा विद्यावारिधि तहका विद्यार्थीहरू पढाउने तथा उनीहरूको अनुसन्धानलाई दिशानिर्देश गर्ने काम गर्दछु। त्यस्तै गरी नयाँ प्रविधिलाई संसारभरि प्रयोग गर्न सकिने बनाउनका लागि स्विजरल्याण्डको जेनेभामा अवस्थित इन्टर्नेशनल टेलिकम्युनिकेशन युनियनमा ग्लोबल स्टाण्डर्ड बनाउने कार्यमा जापानको प्रतिनिधित्व गर्दै रापोर्टरको भूमिकामा संलग्न छु।

नेपाल छोडेर जापान आउन के के कुराले प्रेरित गर्यो?

सूचना तथा सञ्चार प्रविधि विषयमा पीएचडीसम्मको उच्च शिक्षा हासिल गर्ने उदेश्यले जापान आउन प्रेरित गरेको थियो।

विदेश आउने निर्णय गरेर ठीक गरिएछ कि बेठिक गरिएछ भन्ने लाग्छ?

शिक्षा पुरा गरेर स्वदेश फर्किने योजना बनाएको थिएँ। तर अनुकूल भएन। केही समय जापानमा नै जागिर खाने भनी यता बसेको हुँ। विदेश आएर उच्च शिक्षा प्राप्त गरी सोही अनुसारको अत्याधुनिक प्रविधिको अनुसन्धानमा संलग्न हुन पाएकोमा विदेश आउने निर्णय गरेर पछुतो चाहिँ लागेको छैन।

जापानमा म कार्यरत अनुसन्धान संस्थाले आविष्कार गरेका केही प्रविधिहरू नेपालमा हस्तान्तरण गर्ने प्रक्रियामा संलग्न छु।

उदाहरणका लागि नर्भनेट नामक कम खर्चमा सेटअप गर्न र सरल व्यवस्थापन गर्न सकिने उच्चस्तरीय इन्ट्रानेट सञ्चार प्रविधिलाई नेपालका ग्रामीण भेगमा बिस्तार गरी सस्तो तर भरपर्दो स्थानीय इन्टरनेट सेवा उपलब्ध गराउनका लागि नेपालका अनुसन्धान प्रतिष्ठानहरूसँग सहकार्य गर्दैछु।

त्यस्तै, इन्टरनेट अफ थिङ्समा धेरै प्रकारका सेन्सरहरू (जस्तै पानीका मिटर, यातायात व्यवस्थापन उपकरण तथा स्वास्थ्य उपकरण) को सुरक्षित व्यवस्थापन गर्नका लागि आवश्यक डिरेक्टरी सर्भिस प्रणाली पनि नेपालमा प्रयोग गर्नका लागि सहकार्य हुँदै आएको छ। कम्प्युटर तथा आर्टिफिशिअल इन्टेलिजन्सको प्रयोगबाट नेपालका स्कूलहरूमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने अभियानमा पनि संलग्न छु।

जापानमा सिकेको ज्ञान तथा प्रविधिका बारेमा नेपालका पत्रपत्रिकाहरूमा प्रकाशन गर्ने गर्दछु।नेपालका विश्वविद्यालयहरूसँग सहकार्य गर्ने तथा नेपालबाट प्रकाशन हुने विज्ञान प्रविधि सम्बन्धित जर्नल सम्पादन समितिहरूमा पनि काम गर्दैछु।

धेरै नेपाली विदेशमा छन्, विदेशिनु बाध्यता हो कि अरु केही?

बाध्यता र रहर दुवै हो जस्तो लाग्छ। नेपालका विश्वविद्यालयमा चरम राजनीतिकरणका कारण शिक्षाको गुणस्तर अत्यन्त खस्किएको निम्छरो छ। उच्च शिक्षाका लागि आवश्यक पर्ने न सुविधासम्पन्न प्रयोगशाला र उपकरणहरू छन्, न त अनुभवले खारिएका पर्याप्त प्राध्यापक नै छन्।

नियमित रूपमा हुने तालाबन्दी र प्राध्यापक छनौट तथा वृत्ति विकासमा गरिने अनैतिक राजनीतिक हस्तक्षेपका कारण धेरै विद्यार्थीले स्वदेशमा गुणस्तरीय उच्च शिक्षा पाउँदैनन् र विदेशिन बाध्य भएका छन्।

युवा पुस्ताले देशभित्रै प्रशस्त रोजगारीका अवसर नपाउनु, रोजगारी पाइहाले पनि पोस्टिङ, सरुवा, बढुवाका लागि चाकरी गर्नुपर्ने, राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई भेदभाव गरिने चलनले गर्दा युवा पुस्ताले देशभित्र आफ्नो भविष्य देख्दैनन् र विदेशिनु एक मात्र विकल्पका रूपमा हेर्दछन्।

अब ढुक्कै जापान बसाइ हुन्छ या नेपाल फर्कने?

 

अहिले जागिरको सिलसिलामा जापानमा केही समय बसे पनि ढिलो चाँडो नेपाल नै फर्किने हो।

 

भरखरै आएका वा आउन चाहनेले जापानमा कसरी सफलता हासिल गर्ने?

 

शुरुका एक दुई वर्षमा मन लगाएर जापानी भाषाको अध्ययन गरी विशिष्ट श्रेणीको भाषा योग्यता बनाएर मात्र व्यावसायिक जीवनमा प्रवेश गरियो भने जापानमा सफल हुन गाह्रो छैन। साथै आफूलाई मन परेको जागिर तथा व्यापारका बारेमा सम्बन्धित क्षेत्रका अनुभवी सिनियरहरूसँग नियमित सल्लाह लिदा राम्रो हुन्छ। सफल हुनका लागि इमानदार र मेहनती हुनुपर्छ।

 

नेपाल राम्रो कि जापान?

 

आफू जन्मेर हुर्किएको ठाउँ नेपाल नै राम्रो लाग्छ।

 

नेपालको बढी के के ‘मिस’ हुन्छ?

 

गाउँघर, परिवार, आफन्तहरू, साथीहरू, चाडपर्व, रीतिरिवाज र परिचित ठाउँहरू।

खासगरी कुन बेला बढी सम्झना आउँछ?

प्रायः सधैँ नै आउँछ। चाडपर्व, रीतिरिवाज, धार्मिक, सामाजिक कार्य (जस्तै आफन्तको विवाह, व्रतबन्ध) मा सहभागी हुन नसक्दा बढी सम्झना आउने गर्छ।

गइहालौं जस्तो पनि लाग्छ कहिलेकाहिँ?

लागिरहन्छ नि!

नेपालमा आफन्त, साथीसंगीसँग कत्तिको सम्पर्क हुन्छ?

नियमित सम्पर्क हुन्छ। मनमा उब्जिएका भावनालाई सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको छु। ती पोस्टमार्फत आफ्नो हालखबर आफन्त, साथीसंगीलाई जानकारी गराउने र कमेन्टबाट उताको हालखबर पनि बुझ्ने क्रम निरन्तर चलिरहेको छ। कुनै काम नपरीकन हालखबर बुझ्नका लागि मात्र भए पनि आफन्त, साथीभाइलाई बेला बखतमा मेसेज पठाउने गर्दछु। फुर्सदको समयमा भिडियो कलमा पनि बाक्लै कुराकानी गर्ने गरेको छु।

भान्सामा बढी के पाक्छ, नेपाली खानाका परिकारको कत्तिको याद आउँछ?

भान्सामा नेपाली र जापानी दुवै परिकार पाक्ने गर्छन्। नेपालका चाडपर्वहरूमा पकाइने विशेष परिकारहरू ती समयमा यहाँ पनि पकाइन्छ। मम, सेलरोटी, रसभरी जस्ता परिकार बारम्बार पाक्ने हुनाले नेपाली परिकारलाई याद गरेर बस्नु पर्ने बाध्यात्मक अवस्था आएको छैन।

एनआरएनएमा आवद्ध हुनुहुन्छ कि छैन, अरु नेपाली संघ संस्थामा?

एनआरएनएको कार्यसमितिमा प्रत्यक्ष आवद्ध भएको छैन तर कैयौँ पटक एनआरएनएको निर्वाचन समितिमा तथा सल्लाहकार समितिमा बसेर काम गरेको अनुभव छ। एनआरएनए जापानका राष्ट्रिय समन्वय समितिको निर्वाचन इन्टरनेटमार्फत् गराउनका लागि अनलाइन भोटिङ सफ्टवेयर आफ्नो नेतृत्वमा निर्माण गरेर भोट गराएको अनुभव छ। एनआरएनएका अतिरिक्त जापानवासी नेपाली इन्जिनियरहरूको संस्था नेपलिज इन्जिनियर्स एशोसिएशन, जापानमा र अन्य तीनवटा सामाजिक संस्थाहरूमा पनि आवद्ध छु।

जापानका नेपाली संघ संस्थाप्रति तपाईंको कस्तो धारणा छ?

जापानमा नेपाली संघ संस्थाहरू धेरै नै छन्। राजनीतिक पार्टीका भ्रातृ सङ्गठनदेखि लिएर भौगोलिक क्षेत्रीय, जातीय आदि संघसंस्था छन्। सबैले केही न केही सामाजिक कार्य पनि गरिरहेका हुनाले ती संघ संस्थाहरूले समग्रमा प्रवासी नेपालीको दुःख सुखमा सहयोग गर्दै आएका छन् जस्तो लाग्छ।

चाडपर्वमा सामूहिक सहभागिता कतिको हुन्छ?

कोभिड–१९ का कारणले चाडपर्वमा गत दुई वर्ष सहभागिता न्यून रह्यो। तर यो वर्षको शुरूदेखि चाडपर्व तथा पारिवारिक, सामाजिक उत्सवहरूमा सामूहिक सहभागी बाक्लै हुन थालेको छ।

घरमा नेपाली कि अँग्रेजीमा बढी कुरा हुन्छ?

घरमा हामी नेपाली नै बोल्छौं। छोराछोरीहरूले उनीहरू बीचमा कुनै कुनै बेलामा जापानी पनि प्रयोग गर्ने गर्छन्। जापानको बसाइ हुनाले अंग्रेजी चाहिँ अध्ययनका लागि मात्र प्रयोग गरिन्छ।

नेपाली समाचार कतिको चासो लाग्छ, कसरी अपडेट हुनुहुन्छ?

निकै नै चासो राखिन्छ र अनलाइन मिडियामार्फत अपडेट भइन्छ। राजनीतिक, आर्थिक तथा सामाजिक गतिविधि समेटिएका समाचारहरू पढिन्छ, तर नेताको बोली वा भाषणमा आधारित समाचारलाई भने वास्ता गरिँदैन।

कतिको घुम्नुहुन्छ, नेपालका कुन कुन ठाउँ घुम्न मन छ?

धेरै नै घुम्ने गर्दछु। कामको सिलसिलामा जापानका प्रायः जसो सबै ठूला सहरहरू घुमेको छु। एसिया, अमेरिका, युरोप, तथा अफ्रिकाका २६ देशको भ्रमण गरेको छु। नेपालका पोखरा, मुस्ताङ, दोलखा आदि ठाउँहरू खुब मन पर्छ। यी ठाउँहरू लगायत इलाम, चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी, रारा ताल, नाम्चेबजार आदि ठाउँहरू घुम्न मन छ।

फुर्सदमा के कस्ता सामग्री अध्ययन गर्नु हुन्छ, नेपाली किताब नपढेको कति भयो?

फुर्सदमा विद्वान् व्यक्तित्वहरूको आत्मवृतान्त (अटोबायोग्राफी) र इतिहाससम्बन्धी सामग्री अध्ययन गर्ने गर्छु। हरेक वर्ष नेपाल गएको बेलामा धेरै नेपाली पुस्तक पनि किनेर ल्याई बारम्बार पढ्ने गरेको छु।

कस्ता गीत सुन्नुहुन्छ? मनपर्ने नेपाली गीत कुन कुन हुन्?

म पुराना गीत सुन्न खुब मन पराउँछु र बारम्बार सुन्छु। नारायण गोपाल, तारा देवी, बच्चू कैलाश, प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, अरुणा लामा आदिका गीतको डिजिटल कपी संकलन गरेर राखेको छु। पुराना हिन्दी चलचित्रका गीतको पनि त्यतिकै पारखी हुँ।

पछिल्लो पटक हेरेको नेपाली फिल्म कुन हो?

छक्का पन्जा।

मनपर्ने नेपाली फिल्म र मनपर्ने नेपाली अभिनेता अभिनेत्री?

मेरो बाल्यकालमा निस्किएका सबै नेपाली सिनेमाहरूजस्तै कान्छी, परालको आगो, कुमारी, कुसुमे रुमाल, लाहुरे, चिनो हेरेको छु। भुवन केसी, राजेश हमाल, करिश्मा मानन्धर मनपर्ने अभिनेता, अभिनेत्री हुन्।

घरमा नानीबाबुले पनि नेपालीमा लेखपढ गर्छन्?

गर्छन्। हामीले स्मार्टफोनमा लेखेर मेसेज आदानप्रदान गर्दा नेपालीमा नै गर्छौ।

नानीबाबुहरु नेपालीपनबारे कति जानकार छन्?

जानकार छन्। नेपाली चाडपर्व, रहनसहन, संस्कार, संस्कृतिका बारेमा जानकार छन्। हरेक वर्षनेपाल आउने जाने गरिरहन्छन्।

जापान बस्दा नेपालको र नेपाल जाँदा जापानको साह्रै मिस हुने कुरा के के हुन्?

जापान बस्दा नेपालको सबैभन्दा धेरै मिस गर्ने भनेको गाउँघरका साथीभाइहरूसँगको रमाइलो भेटघाट र गफगाफ हो। नेपाल जाँदा जापानको साह्रै मिस हुने कुरा यहाँको भरपर्दो सार्वजनिक यातायात, सुशासन, भेदभावरहितको सरकारी सेवा, सबैलाई आदर गर्ने संस्कार हुन्।

नेपालबारे जापानीहरु कतिको जान्दछन्? ‘नेपालबाट आएको’ भन्दा उनीहरुको प्रतिक्रिया कस्तो हुन्छ?

निकै नै जानकार छन्। नेपाललाई हिमालयको देश भनेर चिनेका छन्। तर धेरै जापानीलाई नेपालमा समथर तराई भूभाग पनि छ भन्ने थाहा छैन। नेपालबाट आएको भन्दा हामीलाई अग्ला अग्ला हिमाल चढ्न बानी परेको होला भन्ने ठान्छन्। जापानको सबैभन्दा अग्लो पर्वत माउण्ट फुजीको उचाइ ३,७७६ मिटर छ। जाडो महिनाभरि हिउँले ढाकिएको हुन्छ भने गर्मी लागेपछि हिउँ पग्लिएर रूखो माटाको थुम्को जस्तो मात्र देखिन्छ। बाह्रैमास हिउँले नढाकिने पर्वतलाई नेपालीले माउन्टेन भन्दैनन् है भनी ठट्टा पनि गर्छन्।

सरकार र सरोकारवालाले जापानबाट के सिकुन् भन्ने लाग्छ? अनि, नेपालबाट जापानले सिक्नुपर्ने कुरा केही छन्?

जापानबाट हामी नेपालीले धेरै कुरा सिक्न सकिन्छ। यहाँको शान्ति सुरक्षा, सामाजिक सद्भाव, उच्च गुणस्तरीय प्रशासनिक सेवा, भरपर्दो सार्वजनिक यातायात व्यवस्थापन, भ्रष्टाचार नगर्ने जिम्मेवार सरकार र कर्मचारीतन्त्रका बारेमा नेपालका सरोकारवालाले सिकुन् जस्तो लाग्छ। त्यस्तैगरी नेपालबाट चाहिँ जापानीले नेपालीको कमलो भावना, खुला स्वभाव, आत्मीयता सिकुन् जस्तो लाग्छ।

 

Share
0Shares
Advertisment