विदेशबाट फर्केर आरनमा रमाउँदै राजकुमार

Share
0Shares

भरतपुर, भदौ १-

नयाँपुस्ता आरन पेशाप्रति आकर्षित देखिँदैनन् । परम्परागत पेसा छाडेर युवा विदेशिनेक्रम बढ्दो क्रममा गल्छीका राजकुमार सुनार भने यही पेसामा रमाइरहनुभएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजारमा राजकुमार  दैनिकजसो फलामका सामग्री बनाएको अवस्थामा भेटिनुहुन्छ ।

पृथ्वीराजमार्गबाट करिब ५० मिटर माथि जस्तापाताले बार छाएको एउटा सानो छाप्रोमा ४१ वर्षीय उहाँले आफ्नो भविष्य यही पेसामा खोज्नुभएको हो । “आगोको रापमा बसेर काम गर्न सजिलो छैन । कमाई पनि त्यति राम्रो हुँदैन”, पसिना पुछ्दै राजकुमार थप्नुहुन्छ, “मासिक रु ४० हजारको हाराहारीमा कमाई हुन्छ ।”

उहाँ हँसिया, खुर्पा, कोदालो, खुकुरी, दाउलगायत बनाउने गर्नुहुन्छ । राजकुमारका ग्राहक चितवन, धादिङ, गोरखा तनहुँसम्मका छन् । नयाँ सामग्री बनाएर गाउँ लगेर बेच्नुहुने उहाँ  हँसिया अर्जापेको रु एकसय, कोदालीको रु ७०  लिनुहुन्छ । नयाँ हँसियालाई रु चार सय देखि रु पाँच सयसम्ममा बेच्ने गरेको राजकुमार सुनाउनुहुन्छ ।

मेहनतले उचित सम्मान र मूल्य नपाउँदा पनि यो पेसामा आकर्षण विस्तारै घट्दै गएको उहाँ बताउनुहुन्छ । “पुख्र्यौली पेसालाई आधुनिक ढङ्गले व्यावसायिकरूपमा अझै अघि बढेको देखिँदैन । आगोको तातो रापमा बस्न कठिन छ । धेरैले यो व्यवसाय गर्दैनन्”, उहाँ भन्नुहुन्छ, “कमाई पनि भनेजस्तो छैन राजकुमारलाई अहिले छोराले सहयोग गरिरहेका छन् ।”

कसरी लाग्नुभयो राजकुमार आरन पेसामा

राजकुमारले आरन व्यवसाय थालेको जम्मा पाँच वर्ष पुग्यो । आरन व्यवसाय सुरु गर्नुभन्दा पहिले उहाँले साउदीमा तीन वर्ष बिताउनुभयो । “साउदीमा राम्रै कमाई थियो । स्वदेशमै केही उद्देश्यका साथ फर्किए”, राजकुमार भन्नुहुन्छ, “चुनौतीकाबीच आरन पेसा अँगालेको छु ।”

उहाँले १० वर्ष काठमाडौँमा फलामका सामग्री बनाउने कम्पनीमा काम गर्नुभएको थियो । त्यहाँ राम्रो कमाई नभएपछि फिस्लिङ आएर आरन व्यवसाय गर्न थाल्नुभएको हो । “सानैदेखि मैले यो पेसा जानेको होइन । दस वर्ष काठमाडौँमा बस्दा सिकेँ । बढी काम गर्नुपर्ने, पैसा पनि धेरै भएन”, उहाँ भन्नुहुन्छ, “बरु आफ्नै व्यवसाय सुरु गर्छु भनेर यता लागेँ ।” यसबाट परिवार पाल्न सकेकामा सन्तुष्ट नै रहेको राजकुमार बताउनुहुन्छ ।

आरन पेसाको चुनौती

गाउँघरमा कोइला पाउन मुश्किल छ । बाहिरबाट ल्याउँदा कोइलाको मूल्य बढी लाग्ने उहाँ बताउनुहुन्छ । फलामको मूल्य बढ्दा पहिलेजस्तो घरेलु औजारको बिक्रीवितरण हुन छाडेको छ, खेती किसानी गर्ने मानिस पनि घट्दै गएकाले विगतमा जस्तो व्यापार नभएको राजकुमारको गुनासो छ । परम्परागत पेसालाई यहाँ युवापुस्ताले आधुनिकीकरण गरेको भेटिँदैन । यसका लागि ठूलो लगानी लाग्ने हुँदा राज्यले सहयोग गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । रासस

Share
0Shares
Advertisment