प्रतिष्ठित मेरी क्युरी फेलोसिप पाउने डा‍‍. शोभा पौडेल

Share
0Shares

जलवायु परिवर्तन र खाद्य सुरक्षाका क्षेत्रमा लामो समयदेखि अनुसन्धानरत डा. शोभा पौडेल प्रतिष्ठित मेरी क्युरी (म्याडम क्युरी) रिसर्च फेलोसिपका लागि छनोट हुनुभएको छ । दक्षिण एसियामा भइरहेको जलवायुमैत्री खेती प्रविधिको सामाजिक आर्थिक सान्दर्भिकताबारे अनुसन्धान गर्न उहाँलाई यो फेलोसिप प्रदान गरिएको हाे । पौडेलले अहिले इटालीको मिलन सहरमा रहेर अनुसन्धान गरिरहनुभएको छ ।

यो फेलोसिप युरोपियन युनियनले उत्कृष्ट अनुसन्धानकर्तालाई बर्सेनि प्रदान गर्ने गर्दछ ।

बदलिँदो जलवायु परिवर्तनसँग अनुकूलन गर्न संसारभरि जलवायुमैत्री खेतीलाई प्राथमिकतामा राखिए पनि त्यसले किसानको खाद्य सुरक्षा, आर्थिक स्तरोन्नति र उत्थानशीलतामा पारेको प्रभावबारे यथेष्ट अनुसन्धान नभएकोले जलवायुमैत्री खेती गर्दा कुन प्रविधि अवलम्बन गर्ने भन्नेमा किसान अन्योलमा रहेकोले त्यसैमा अनुसन्धान गर्न प्रस्ताव गरेको पौडेलले बताउनुभयो । फेलोसिपअन्तर्गत नेपाल, भारत र श्रीलङ्काका किसान जलवायुमैत्री खेती प्रविधिबाट कत्ति लाभान्वित भएका छन् र यसका सामाजिक र वातावरणीय प्रभाव के कस्ता छन् भनेर अनुसन्धान गर्ने उहाँले सीआईएनसँग बताउनुभयो ।

“युएनलगायतका अन्तर सरकारी, सरकारी तथा गैरसरकारी संस्थाले जलवायु परिर्वतनमैत्र कृषिको कार्यक्रम त ल्याएका छन्, तर यसरी ल्याइएका नीति तथा कार्यक्रम किसानका लागि कत्तिको उपयोगी र दिगो हुन्छन्, किसान कतिको लाभान्वित हुन्छन् नीति तथा कार्यक्रम ल्याउँदैमा किसान लाभान्वित हुन्छन् कि हुँदैनन् भनेर अनुसन्धान गर्नु अति आवश्यक छ। जसले किसानलाई आफ्नो खेतीपातीको लागत लाभको विश्लेषण गरेर कुन प्रविधिको अवलम्बन गर्ने भनेर तथ्यमा आधारित भएर निर्णय गर्न तथा सरकार र नीति निर्मातालाई दीर्घकालमा जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलनका साथै कृषि क्षेत्रको उत्पादकत्व बढाउने प्रविधिको लागि नीति निर्माण गर्न सहयोग गर्दछ।ˮ

उहाँ यसअघि पनि कृषि क्षेत्रका विभिन्न अनुसन्धानमा संलग्न रहँदै आउनुभएको छ ।

कृषि क्षेत्रमा अनुसन्धान गर्ने रुचीबारे डा‍‍. पौडेलले भन्नुभयो–“किसान परिवारमा जन्मे हुर्केकोले पनि होला मलाई खेतीपाती, माटो, अन्न र किसान प्रति छुट्टै सम्मान र लगाव छ। किसानप्रति हृदयदेखि नै अहोभाव जागेर आउँछ जसको मिहिनेत र पसिनाले संसार भरका मानिसको पेट भरिएको छ । ओडब्लुएसडीको अर्लि करियर वीमिन साइन्टिस्ट फेलोसिप  पाएर नवलपरासीको जलवायुमैत्री गाउँमा अध्ययन-अनुसन्धान गरेँ। किसानको जीवनस्तर, जलवायु परिवर्तनबारे बुझ्ने र सोच्ने तरिका, सामाजिक आर्थिक, र वातावरणीय परिवेशमा निकै परिवर्तन आएको देखेँ। त्यसपछि दक्षिण एसियाको अरू देशमा के कस्तो होला भनेर जान्ने हुटहुटी थियो। अहिले म नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्कामा भइरेहको जलवायुमैत्री खेती प्रविधिको सामाजिक, आर्थिक र वातावरणीय प्रभावको बारेमा अनुसन्धान गरिरहेको छु ।ˮ

सन २०१७ मा विद्यावारिधि पूरा गरेर स्वदेश फर्किएकी डा. पौडेलले अहिलेसम्म तीन वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नुभएको छ । उहाँले सन् २०१८ मा नेपालको गण्डकी जलाधार क्षेत्रमा जलवायुमैत्री खेती प्रविधिको अध्ययन अनुसन्धान गर्न युनेस्को अन्तर्गतको अर्गनाइजेसन फर वीमिन इन साइन्स फर द डेभलपिङ् वर्ल्ड (ओडब्लूएसडी) ले प्रदान गर्ने अर्लि करियर वीमिन साइन्टिस्टस फेलोसिप प्राप्त गर्नुभयो । सन् २०२१ मा गंगा ब्रम्हपुत्र जलाधार क्षेत्रमा जलवायुमैत्री खेतीको लागत लाभको अनुसन्धान गर्न एसिया प्यासिफिक नेटवर्क फर ग्लोबल चेन्ज रिसर्च (एपीएन) ले उहाँलाई रिसर्च ग्रान्ट प्रदान गरेको थियो। जसबाट उहाँले नेपाल भारत र बंगलदेशका विश्वविद्यालय र अनुसन्धान संस्थाहरूसँगको समन्वय र सहकार्यमा अनुसन्धान गरिरहनुभएको छ।

चितवनको गीतानगरबाट बीबीएससम्म र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट एमबीएसको अध्ययन पूरा गरेपछि डा‍ पौडेलले जापानको क्योटो विश्वविद्यालयबाट वातावरण व्यवस्थापनमा विद्यावारिधि गर्नुभएको हो । विद्यावारिधिका लागि उहाँले जापान सरकारको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयले उत्कृष्ट विदेशी विद्यार्थीलाई प्रदान गर्ने मोनबुकागाकुसो (मेक्स्ट स्कलरसीप) प्राप्त गर्नुभयो । यस्तै उहाँले अनुसन्धानका लागि प्रतिस्पर्धात्मक क्योटो विश्वविद्यालयको जीएसएस फेलोसिप पनि प्राप्त गर्नुभएको थियो । डा. पौडेलका अनुसन्धानात्मक लेखहरु नेचरलगायतका अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । पौडेलले जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी निकाय (आईपीसीसी) ले सन् २०२३ प्रकाशित गरेको जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदनमा दक्षिण एसियामा भइरहेको जलवायु परिवर्तन र खाद्य सुरक्षामा पारेको प्रभावका बारेमा सह लेखन पनि गर्नुभएको छ ।

निकै प्रतिस्पर्धी र प्रतिष्ठित भएकोले मेरी क्युरी रिसर्च फेलोसिप प्राप्त गर्ने सम्भावना अत्यन्त कम (८-१० प्रतिशत) मात्र हुने बताइन्छ । तर मेहनत गरेर अहिले भइरहेका  अध्ययन अनुसन्धान भन्दा केही नयाँ र फरक खालको अनुसन्धान प्रस्ताव लेख्न सकियो भने छनौट हुने सकिने उहाँको अनुभव छ। “मैले सन् २०२० मा पनि मेरी क्युरी फेलोसिपका लागि अनुसन्धान प्रस्ताव पेस गरेकी थिएँ । तर त्यति बेला मेरो प्रस्ताव उत्कृष्ट प्रस्तावमा छनौट भएर ‘लेटर अफ एक्सेलेन्सी’ प्रदान गरे तर फण्डिङ् चाहिँ मिलेन । ७५ प्रतिशतभन्दा धेरै स्कोर प्राप्त गर्ने प्रस्ताव फन्डिङको लागि योग्य हुने गरेकोमा त्यतिबेला आफ्नो अनुसन्धान प्रस्तावले ९२ प्रतिशत स्कोर प्राप्त गर्दा पनि फन्ड नपाएको उहाँले बताउनुभयो ।

तर अर्को वर्ष ईटालीबाट फेरि फेलोसिप खुलेको जानकारीसहितको इमेल आएपछि दोधारका बिच आवेदन गरेकोमा ९२ दशमलव ४ प्रतिशत स्कोर प्राप्त गरी र फन्डिङ  हुने भएपछि आफू इटाली जाने निर्णयमा पुगेको उहाँ बताउनुहुन्छ । मेरी क्युरी फेलोसिपको अन्तर्राष्ट्रिय बौद्धिक जगत् र अनुसन्धानको क्षेत्रको प्रतिष्ठाका कारण दोस्रो पटक अनुसन्धान प्रस्ताव पेस गरेको उहाँले जानकारी दिनुभयो ।

तर नेपालमै सन्तोषजनक काम गरिरहेका बेला यो फेलोसिपमा छनोट भएपछि अनुसन्धानका लागि जाने कि नजाने भन्ने निर्णय गर्न आफूलाई धेरै कठिन भएको उहाँको भनाइ छ । करिब १ वर्षको अवधिमा परिवारसँगको छलफल पछि इटाली जाने निर्णयमा पुगेको र त्यो आफ्नो जीवनकै सबैभन्दा कठिन निर्णय गरेको उहाँले बताउनुभयो ।
पछिल्लो समय युएसएआईडी बायोडाइभर्सिटीमा जलवायु उत्थानशील प्रमुखका रूपमा कार्यरत रहेकी पाैडेलले नीति अनुसन्धान प्रतिष्नमा अनुसन्धानकर्ता र साइन्स हब नेपालमा प्रबन्ध निर्देशकको रुपमा काम गर्नुभएको छ।

Source: CINKHABAR

Share
0Shares
Advertisment