कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

Share
0Shares

काठमाडौँ, १३ माघ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गर्नुभएको छ ।

विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका निर्मल पुर्जा ‘निम्स’ सहितका १० नेपाली आरोहीलाई आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित सम्मान तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आरोहणकै क्षेत्रमा असाधारण योगदान गर्नेका लागि विशेष सम्मानको व्यवस्था गरिने बताउनुभयो ।

“हामी (सरकार) आरोहीका लागि विशेष सम्मानको व्यवस्था गर्छौं, यद्यपि राष्ट्रिय तहमा विभिन्न प्रकारका मानपदवी रहेको छ, तर एक्सिपिडिसनकै निम्ति अहिलेसम्म छुट्टै सम्मान छैन । अबउप्रान्त ‘एक्सिपिडिसन अवार्ड’को व्यवस्था गर्छौं, त्यो ‘माउन्टेन टाइगर’ ‘माउन्टेन टप्स’ अथवा अरु प्रकारका मान पदवी हुनसक्छ । कति आरोहण गरेका कस्ता व्यक्तिलाई पुरस्कार दिने भन्नेबारे मापदण्ड बनाउछौँ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले कठिन परिस्थितिमा आवतजावतका लागि असहज भएको अवस्थामा पनि माउन्ट केटूको सफल अरोहण गर्नु सबैका निम्ति प्रेरणादायी भएको बताउनुभयो । र्जासहित १० नेपाली आरोही समूहले केटू आरोहणमा कीर्तिमान कायम गरेका हुन् । पाकिस्तान र चीनको सिमानामा अवस्थित आठ हजार ६११ मिटर अग्लो केटूको जाडो याममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन् । निर्मलसँगै मिग्माडेभिड शेर्पा, मिङ्मा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमाचिरी शेर्पा, दावाछिरी शेर्पा, किलु शेर्पा, मिङमा जी, दावातेन्जिङ शेर्पा र सोना शेर्पा टोलीले केटू हिमाल आरोहण गरेको हो । नेपाली आरोही समूह यही माघ ३ राति १ बजे केटूको शिखरमा पुगेको थियो । चुचुरामा नेपालको राष्ट्रिय गानका साथ नेपाली झण्डा फहराइएको थियो ।

Share
0Shares
Advertisment