प्रेस चौतारीका ६ पुरस्कारः उद्देश्य र चर्चा

Share
0Shares

प्रेस चौतारी नेपाल ०५५ सालमा स्थापना भएको हो । ७ मंसिर ०५५ मा वरिष्ठ पत्रकार विजय चालिसेको संयोजकत्वमा गठित संगठनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरी प्रमाणपत्र प्राप्त गरेको दिन २२ माघलाई चौतारीले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । स्थापना दिवसकै अवसर पारेर चौतारीले आफूले स्थापना गरेको पुरस्कार घोषणा गर्ने र वितरण गर्नेगर्छ । प्रेस चौतारीले हालसम्म स्थापना गरेका विभिन्न पुरस्कार र स्थापना गर्नुको उद्देश्यबारे यहाँ संक्षिप्त चर्चा गरिएको छ ।

१) हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार
नेपाली साहित्याकाशमा थोरै समय बाँचेर धेरै सफल हुने व्यक्ति हुनुहुन्थ्यो, हृदयचन्द्रसिंह प्रधान । १९७२ साल माघ १२ गते काठमाडौँमा जन्मनुभएका प्रधानको सक्कली नाउँचाहिँ चन्द्रप्रसाद प्रधान थियो । करिब दुई दर्जनजति पुस्तकहरू नेपाली माटोमा समर्पण गरेर उनी २०१६ साल माघ १० गते दिवङ्गत हुनुभयो ।
प्रधानले विविध विषयमा कलम चलाउनुभयो । उहाँले कविता, कथा, उपन्यास, निबन्ध, समालोचना, एकाङ्की, व्याकरणमा कलम चलाउनुभयो । प्रगतिवादी सिद्धान्तअन्तर्गत समाजका विकृतिहरूलाई अघि सारेर लेख्ने उहाँको शैली थियो ।
प्रधानले ’साहित्यस्रोत’, ‘जागरण’ र ‘जनचेतना’ लगायतका पत्रिकाको पनि सम्पादन गर्नुभयो । रोग, भोक र शोकमा डुबेर उहाँले पत्रकारिताको संस्थागत विकासका लागि उल्ल्ेखनीय योगदान गर्नुभयो । २००७ सालको क्रान्तिमा सञ्चालित जनक्रान्तिमा उहाँ खुबै सक्रिय हुनुहुन्थ्यो । त्यस काण्डमा समातिएपछि उहाँ साढे दुई महिना जेलमा नै बस्नुभयो ।
प्रधानले स्कूल वा कलेजमा पढ्ने अवसर पाउनुभएन । तापनि १८ वर्षको उमेरमा अक्षर चिन्नुभयो । लगनशील भइ स्वअध्ययन गर्न थाल्नुभयो र साहित्यमा पनि कलम चलाउन थाल्नुभयो । साहित्यकार बन्ने धुनमा त्यति बेलाका चर्चित कवि लेखनाथ पौड्याललाई कविता लेख्न सिकाइदिन अनुरोध गर्नुभयो । तर लेखनाथले नपढेको मान्छे, शुद्ध बोल्न पनि नसक्ने नेवारको छोरो भएकाले कविता लेख्न सम्भव छैन भनी फर्काएको तीतो अनुभव गरेका हृदयचन्द्रसिंले कडा मेहनतका साथ अध्ययन र लेखन गर्न लागिपरेको यथार्थ छ ।
आफ्नो जीवनवृत्तिका लागि २३ वर्षको उमेरदेखि उहाँले नोकरी गर्न थाल्नुभयो । त्यही क्रममा दरबार हाइस्कुलमा समेत अध्यापन गर्नुभयो र नेपाली भाषानुवाद परिषदमा ग्रन्थकारको पदमा नियुक्ति भइ कार्य गर्नुभयो ।
उनै पत्रकार एवम् साहित्यकार प्रधानको स्मृतिमा प्रेस चौतारी नेपालले हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार स्थापना गरेको हो । यो पुरस्कार हरेक वर्ष वितरण गर्ने गरिन्छ ।
प्रैस चौतारी नेपालको २४ औँ स्थापना दिवसका अवसरमा यो पुरस्कार यसप्रकार वितरण गरिएको छ ।
राजेन्द्र अर्याल (पूर्व अध्यक्ष) –२०७७
गगन विष्ट (पूर्व अध्यक्ष)–२०७८

२) अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार
पत्रकारिता, साहित्य र स्तम्भ लेखनमा संलग्न अग्निशिखा प्रगतिवादी नेपाली साहित्य तथा पत्रकारितामा सुपरिचित नाम हो । उहाँ ०३४–३५ सालदेखि नाटक र कविताको माध्यमबाट लेखनमा लाग्नुभएको थियो । उहाँका रक्तविज, इज्जत, ऊ फेरि आउनेछ, सहिदकी आमा, देश तपाईंहरूको जिम्मामा जस्ता नाटक, कविता, गीतिनाटक र गीतसंग्रह प्रकाशित छन् । छलफल, दृष्टि, प्रतिपक्ष र सम्बोधन साप्ताहिकमा उहाँ संलग्न हुनुहुन्थ्यो । यसैगरी, लहर साहित्यिक पत्रिका, एक्काइसौं शताब्दी, प्राची र नवयुग पनि उहाँले सम्पादन गर्नुभएको थियो।
तत्कालीन अवस्थामा साफ्माका उपाध्यक्षसमेत रहनुभएका अग्निशिखा अन्तर्राष्ट्रिय मामिलाको विश्लेषणमा कलम चलाउनुहुन्थ्यो । साहित्य, राजनीति, दर्शनको क्षेत्रमा विश्वभर ख्याति कमाएका विद्वानका जीवनीपरक पुस्तकसहित थुप्रै अन्तर्राष्ट्रिय व्यक्तित्वलगायत जानकारीमूलक र विचारमूलक पुस्तक उहाँले लेख्नुभएको छ । अलअमेरियाको चिहान, सलाम मुक्तियोद्धा, बधशालाविरुद्ध, भोल्गाले बिर्सनेछैन जोया, आस्थापुञ्ज र रोजाहरूले रोजेको जीवन उहाँका चर्चित पुस्तक हुन् । ०६४ को हृदयचन्द्रसिंह पत्रकारिता पुरस्कार तथा छलफल सिर्जनशील पत्रकारिता पुरस्कारबाट उहाँ सम्मानित भईसक्नभएको थियो । रेडियो नेपाल र गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यका रूपमा पनि उहाँले काम गर्नुभएको थियो । अग्निशिखाले अन्तर्राष्ट्रिय मामिलाको विश्लेषणमा पनि कलम चलाउनुहुन्थ्यो ।
साहित्य र पत्रकारितामा अग्निशिखाका नामले सुपरिचित सुकदेव नेपालको जन्म ०१२ असार १८ गते काठमाडौंमा भएको थियो । उहाँको खास नाम शुकदेव नेपाल हो । प्रगतिशिल साहित्य र पत्रकारितामा उहाँको कलम चल्ने गथ्र्यो । ७ असोज २०६५ मा उहाँको ह्दयघातका कारण निधन भएको थियो । प्रेस चौतारीको स्थापनामा उहाँको उल्लेखनीय योगदान छ । सरकारले छैटौ पत्रकारिता दिवस २०७८ को अवसरमा स्वर्गीय अग्नि शिखालाई मरणोपरान्त वरिष्ठ पत्रकार सम्मान २०७६ प्रदान गरेको थियो ।
सहयोगी, प्रेरक र आफ्नो विचार तथा सिद्धान्तलाई जीवनदर्शनमा ढाल्न अति नै प्रतिबद्ध अग्नि शिखाको सम्मानमा चौतारीले अग्निशिखा स्मृति पत्रकारिता पुरस्कारको स्थापना गरेको हो ।
प्रैस चौतारी नेपालको २४ औँ स्थापना दिवसका अवसरमा यो पुरस्कार यसप्रकार वितरण गरिएको छ ।
कृष्णविनोद लम्साल (सुनसरी) –२०७७
झलक सुवेदी (लेखक तथा राजनीतिक विश्लेषक)–२०७८

३) वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार
पत्रकार वीरेन्द्रकुमार साह बारा जिल्लाका क्रियाशिल पत्रकार हुनुहुन्थ्यो । तत्कालीन माओवादीले १८ असोज २०६४ मा बारा इनर्वासिरा–८ बस्ने ३४ बर्षका पत्रकार बिरेन्द्र साहको अपहरण गरी हत्या गरेको थियो ।
तत्कालीन उम्जन गाविस पिप्रा बसतपुरबाट अपहरणमा परेका शाहको शव २२ कात्तिकमा साविकको डुमरवाना–७ स्थित जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो । शवसँगै गाडिएको डटपेन र डायरी अहिले पनि नेपाल पत्रकार महासंघमा सुरक्षित छ ।
साह त्यतिखेर बारा जिल्लाबाट एभिन्यूज टेलिभिजन, दृष्टि साप्ताहिक र नेपाल एफएममा खबर पठाउनुहुन्थ्यो । उहाँ तत्कालीन अवस्थामा हाम्रो संगठन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो । उनै पत्रकार वीरेन्द्रकुमार साहको सम्झनामा प्रेस चौतारी नेपालले वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार स्थापना गरी वितरण गर्दै आएको हो ।
प्रैस चौतारी नेपालको २४ औँ स्थापना दिवसका अवसरमा यो पुरस्कार यसप्रकार वितरण गरिएको छ ।
केपी गौतम (गोरखापत्र)–२०७७
अनुप तिवारी (पर्सा)–२०७८

४) डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार
डेकेन्द्र थापा नेपालका युवा पत्रकार हुनुहुन्थ्यो । दैलेख जिल्ला कार्यक्षेत्र बनाएका उहाँलाई द्वन्द्वकालमा माओवादीले अपहरण गरी हत्या गरेको थियो । माओवादी मिलिसियाको
नियन्त्रणमा राखिएका डेकेन्द्रको ०६१ साउन २७ गते द्वारी–१ स्थित नेरा निमाविको कक्षाकोठामा लगि हत्या गरिएको थियो । ०६१ मा माओवादीद्वारा अपहरित डेकेन्द्र चार वर्षपछि जंगलमा गाडिएको अवस्थामा भेटिनुभयो । गाउँले, पत्रकार महासङ्घ, मानवअधिकारवादी संघसंस्थाको पहल चार वर्षपछि डेकेन्द्रको अस्थिपञ्जर भेटिएको थियो–दैलेखको द्वारी गाउँमा । भीरको खोंचमा गाडिएको अवस्थामा मानव अधिकारकर्मी र सुरक्षाकर्मीले खाल्डो खनेर एकएक अस्थिपञ्जर सङ्कलन गरेका थिए । उनै पत्रकार डेकेन्द्र थापाको स्मृतिमा डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।
प्रैस चौतारी नेपालको २४ औँ स्थापना दिवसका अवसरमा यो पुरस्कार यसप्रकार वितरण गरिएको छ ।
सागर पण्डित (सम्पादक, राजधानी दैनिक)–२०७७
हिरा परियार (रुकुम पश्चिम)–२०७८

५) प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार
स्वर्गीय पद्मलक्ष्मी बस्नेत र स्वर्गीय सावित्री वस्नेतको स्मृतिमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले यो पुरस्कार स्थापना गनुभएको हो । अध्यक्ष बस्नेत १८ महिनाको हुँदा उहाँकी आमा सावित्रीको निधन भएको थियो । तत्पश्चात हजुरआमा पद्यमलक्ष्मीले नै बस्नेतको लालनपोषण गर्दै आउनुभयो । दोलखा जिल्ला गौरीशंकर गाउँपालिका ५ सुरी निवासी आफूलाई जन्म दिने आमा र कर्म दिने हजुरआमाको सम्मानमा चौतारीका वर्तमान अध्यक्ष गणेश बस्नेतले यो पुरस्कार हरेक वर्ष प्रैस चौतारीमार्फत श्रमजीवि पत्रकारलाई अर्पण गर्दै आउनुभएको छ ।
प्रैस चौतारी नेपालको २४ औँ स्थापना दिवसका अवसरमा यो पुरस्कार यसप्रकार वितरण गरिएको छ ।
अब्दुल्लाह मियाँ (काठमाडौं)–२०७७
शिवराज भट्ट (कैलाली)–२०७८

६) चन्द्र न्यौपाने— शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार
प्रेस चौतारी नेपालले यस वर्षदेखि चन्द्र न्यौपाने र शान्तिराम कार्कीको स्मृतिमा चन्द्र न्यौपाने— शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।
रेडियो सञ्चालकहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल(बान) का अध्यक्ष चन्द्र न्यौपानेको कोरोना संक्रमणका कारण २०७८ जेठ १४ गते मृत्यु भएको थियो । कोरोना सङ्क्रमणका कारण श्वासप्रश्वासमा समस्या भएपछि विराट मेडिकल कलेजमा वैैशाख २८ गते उहाँलाई भर्ना गरिएका थियो । न्यौपाने सप्तकोसी एफएमका स्टेशन म्यानेजर समेत हुनुहुन्थ्यो ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको पनि कोभिड सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै मृत्यु भएको थियो । २०७८ वैशाख १९ गते संक्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारत कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा जेठ १ गते मृत्यु भएको हो । झापा निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौँमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । उहाँले जनता टाइम्स डटकममा सम्पादक र सौर्य दैनिकमा सहसम्पादकको जिम्मेवारी बहन गर्नुभएको थियो ।
प्रैस चौतारी नेपालको २४ औँ स्थापना दिवसका अवसरमा यो पुरस्कार यसप्रकार वितरण गरिएको छ ।
शान्ति गुरुङ (कास्की) –२०७८

Share
0Shares
Advertisment