रातको १८ सय डलर पर्ने ‘लक्जरी’ होटल सिन्तामणी मुस्ताङ सञ्चालनमा

Share
0Shares

काठमाडौं। नेपालकै सबैभन्दा ‘लक्जरियस’ होटल मानिएको ‘सिन्तामणी मुस्ताङ’ सञ्चालनमा आएको छ। नेपालमा रहेका होटल तथा रिसोर्टमध्ये सबैभन्दा महँगो होटलका रूपमा सिन्तामणी रहेको यसका सञ्चालकको दाबी छ।

सिन्तामणि विश्वबजारमा जंगलबीच महँगा होटल सञ्चालन गरेर ख्याति कमाएको अन्तर्राष्ट्रिय ‘ब्रान्ड’ हो। यती वर्ल्ड ग्रुपको सहायक कम्पनी शेर्पा हस्पिटालिटीमार्फत मुस्ताङ जोमसोममा १ अर्ब १० करोड रुपैयाँ लगानीमा निर्माण भई सञ्चालनमा रहेको उक्त होटल व्यवस्थापन सिन्तामणीले सुरु गरेको हो। यो ब्रान्डले खर्चालु पर्यटक लक्ष्य गरी निर्माण गरिएका होटल तथा रिसोर्ट व्यवस्थापन सम्हाल्दै आएको छ।

शेर्पा हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नाम्गेल शेर्पाले सिन्तामणी मुस्ताङले पर्यटकलाई प्रकृतिसँग नजिक राखेर बिदा मनाउने उत्कृष्ट गन्तव्यका रूपमा आभाष गराउने उद्देश्य राखिएको बताए।

संसारभरिका पर्यटकलाई थकाइ मार्ने मुख्य गन्तव्य जोमसोम बनाउने उद्देश्यले पाहुनाको यात्रालाई हिमालयमा सबैभन्दा उल्लेखनीय ३ सय ६० डिग्री, विलासी अनुभव प्रदान गर्ने थलोका रूपमा विस्तार गरिएको उनको भनाइ छ।

समुद्र सतहबाट २ हजार ८ सय मिटर उचाइ तथा कालिगण्डकी नदीछेउ जोमसोममा रहेको होटलमा २९ कोठा छन्। होटलका कोठा अमेरिकी आर्किटेक्ट कम्पनी बेन्सलेकै डिजाइनअनुसार पुनर्निर्माण गरिएको उनले बताए।

‘लक्जरीमात्र होइन, हाइब्रिड मोडेलमा सिन्तामणी सञ्चालनमा छ,’ सिइओ शेर्पाले क्यापिटल नेपालसँग भने, ‘बेन्सेलेले सिन्तामणी होटल ब्रान्ड सुरुवात गरेको कम्बोडियाको जंगल पर्यटनमा सफल भएको र नेपालमा पनि सफल हुने विश्वास छ।’

होटलले आतिथ्यतासाथै हर्स राइडिङ, साइक्लिङ, रक क्लाइम्बिङ, आर्चरी, हाइकिङ, ट्रेकिङ, योगालगायत सुविधा उपलब्ध गराउँदै आएको छ। होटलमा बस्ने पाहुनालाई पैसामात्र होइन, उनीहरूलाई कुनै पनि सुविधामा अपुग नहोस् भन्ने सोचसाथ प्रत्येक पर्यटकलाई एक÷एक गाइडसमेत उपलब्ध गराउने र पृथक महसुस दिलाउने लक्ष्य राखिएको शेर्पाले बताए।

कम्तीमा ५ दिनको बुकिङ अनिवार्य 

सञ्चालनमा आएको सिन्तामणीमा बस्न न्यूनतम ५ दिनको बुकिङ गर्नुपर्छ। नेपाली वा विदेशी जो भए पनि होटलमा बस्न चाहनेले अनिवार्य कम्तीमा ५ दिनको बुकिङ गर्नुपर्ने छ।

होटलमा बस्न प्रतिरात १ हजार ८ सय अमेरिकी डलर तिर्नुपर्छ। यो प्याकेज दुईजनाका लागि हुनेछ। यही रकममा कोठा, हवाई स्थानान्तरण, स्पा, खाना र पेयपदार्थ पाइने छ।

बढी पैसा खर्च गर्न गुणस्तरीय पर्यटक लक्ष्य गरी सञ्चालित सिन्तामणीमा ‘अफ सिजन’ मा भने नेपाली र भारतीय आकर्षित गराउन विषेश प्याकेज सार्वजनिक गर्ने तयारी होटलको छ। नेपालीलाई पनि होटलमा राख्न न्यूनतम मूल्यको प्याकेज बनाइरहेको होटलले जनाएको छ।

 

Share
0Shares
Advertisment